पाल्पा । साउन १ गते आइतवारबाट तानसेनमा तनावमुक्त जीवनका लागि राजयोग शिविर संचालन हुने भएको छ । ब्रह्माकुमारी इश्वरीय बिश्व बिद्यालय क्षेत्रीय कार्यालय तानसेनको आयोजनामा साउन १ गतदेखि साउन ५ गतेसम्म उक्त शिविर चल्नेछ ।
शिविरबारे तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । पत्रकार भेटघाट कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय बिश्व बिद्यालय क्षेत्रीय कार्यालय तानसेनका सचिव भानुप्रकाश पौडेलले यो शिविरबाट लाभ लिन तानसेनबासीलाई आग्रह गर्नुभयो । हरेक दिन बिहान ६.४५ देखि ८.४५ सम्म चल्ने शिविरमा म को हुँ र कहाँबाट आएको हुँ, परमात्मा शक्ति एवम् वरदानको प्राप्ति, जीवनमा कर्मको रहस्य, शान्ति एवम् सुखको अनुभुति, सम्बन्धमा सुमधुरता, तनाव एवम् क्रोध मुक्त जीवन, स्वास्थ्य अवधारणा लगायतको बिषयमा अन्तराष्टिय पुरस्कारले सम्मानित ब्यक्तित्व बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घलेले प्रशिक्षण दिने बताइएको छ ।
सो अवसरमा प्रशिक्षक घलेले यो शिविर पाल्पालीहरुका लागि मौका भएको पनि बताउनुभयो । उहाँले यो शिविरमा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभयो ।