तानसेन नगरपालिकाले बाड्न थाल्यो क्यु आर कोड सहितको फेमिली कार्ड

0 518

पाल्पा । तानसेन नगरपालिकाले घरपरिवारको लगत विवरण संकलन गरि क्यु आर सहितको फेमिली कार्ड वितरण गरेको छ । अहिले नगरपालिकाले टोल टोलमा गणकहरु परिचालन गरि नगरपालिका भित्रका सबै घरपरिवारहरुको विवरण संकलन गर्दै आएको नगरपालिकाका मेयर अशोककुमार शाहीले बताउनुभयो । सोमवार नगरपालिकाले वडा नं. ६ का केही नागरिकलाई प्रतिनिधिमुलक रुपमा फेमिलि कार्ड बितरण गरेको हो ।

सो अवसरमा मेयर शाहीले ताननसेन नगरपालिकाले तथ्यांकहरुलाई प्रविधिमैत्री बनाउन लागेको बताउनुभयो । उहाँले एक क्लिकमै तानसेन नगरपालिका र नगरपालिकाको अवस्था के छ भन्ने बारे जान्न सक्ने गरि काम भइरहेको समेत बताउनुभयो । उहाँले नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस साथै वडा कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवा सुबिधा लिनको लागि यस पारिवारिक लगत कार्डले सहज बनाउने बताउनुभयो ।

नगरपालिकाका आइटि अफिसर प्रकाश गैरेले फेमिली कार्र्ड, यसभित्र समावेश बिषयका तथ्यांकबारे जानकारी गराउनुभएको थियो । उहाँले घटना दर्ता देखि नागरिकले लिएका सेवाहरु समेत सर्भरमा अपडेट गरिने भएकोले यो कार्डले काममा छिटो छरितो र सूचना प्रविधिमैत्री गराउने बताउनुभयो ।कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटि अध्यक्ष गुराँस आत्रेयले नगरपालिकाको यो प्रयास सराहनीय रहेको बताउनुभयो । नेपाली कांग्रेस तानसेन नगर सभापति सुवर्णमुनी शाक्यले नगरपालिकाले आफ्नो पहिचान दिने गरि गरेको कामको प्रशंसा गर्नुभयो । माओवादी केन्द्रकी नगर अध्यक्ष प्रतिक्षा सिंजालीले प्रविधिको उच्चतम प्रयोगको नमुनाको रुपमा फेमिलि कार्ड रहेको बताउनुभयो । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले प्रविधिमैत्री सेवा हुनु तानसेनबासीका लागि गौरवको बिषय भएको बताउनुभयो ।

फेमिली कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लगात समावेश रहेका छन् । फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आईडी नम्बर समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो । कार्यक्रमको संचालन तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भरत आचार्यले गर्नुभएको थियो ।

तस्बिर साभारः माडी भ्यु

Comments
Loading...