तिनाउँ गाउँपालिकाको सय दिनको कार्यप्रगति सार्वजनिक, के छन् त लोकप्रिय कार्यक्रम ?

0 676

पाल्पा । तिनाउँ गाउँपालिकाले स्थानीय सरकारको सय दिनको कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच २०७९ बैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचन पश्चात कार्यभार सम्हालेपछिको सय दिनको कार्य प्रगति सार्वजनिक गरिएको हो ।

कार्य प्रगति सार्वजनिक कार्यक्रममा प्रगतिहरुको बिवरण प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले जनमैत्री र लोककल्याणकारी कार्यक्रमहरुलाई बिशेष महत्व दिई सम्पादन गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाले पालिका भित्र बसोवास भएका कुनै व्यक्तिआकस्मिक दुर्घटनामा परि घाइते भएमा र महिलाहरुलाई प्रसुतीका लागि पाल्पा र रुपन्देही जिल्लाका अस्पतालसम्म पु¥याउन गाउँपालिकाले अनुदान स्वरुप एम्बुलेन्स/गाडी भाडा राहत स्वरुप उपलब्ध गराएको बताउनुभयो ।

यो बीचको एउटा गाउँसभा र नौ वटा कार्यपालिका बैठकबाट बिभिन्न विकास समिति गठन गरि कार्य अगाडि बढाएको, गाउँपालिकाको पन्च वर्षीय आवधिक योजना निर्माण सम्पन्न भएको, राजश्व सुधार योजना निर्माण गरिएको र राजश्व व्यवस्थापनका लागि उपाध्यक्षको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्माण समिति गरि कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पालिका अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका क्षेत्रमा प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको, तिनाउँलाई बालमैत्री पालिका बनाउनका लागि पहल सुरु गरिएको र बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गा व्यवस्थापन गर्न राष्ट्रिय भुमि आयोग र तिनाउँ गाउँपालिका बीच सम्झौता भई विवरण प्रत्येक वडाबाट संकलन कार्य शुभारम्भ गरिएको, लिफ्टिङ खानेपानीको बिलमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएकाे लगायतका ३६ बुदे प्रगति बिवरण अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा भत्ता बैंकहरु सँग सहकार्य गरि सकेसम्म वडाहरुबाटै बितरण गर्ने गरि तयारी गरिएको समेत बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले तिनाउँ गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ८९.३८ प्रतिशत पुजीगत खर्च प्रगति गर्न सफल भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीहरुको असल सहकार्यबाट नै समृद्ध तिनाउँका लागि जनअपेक्षा अनुसार कामहरु हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले तिनाउँका अध्यक्ष रोम बहादुर बहादुर लम्तरी, नेपाली कांग्रेस तिनाउँका सभापति प्रेम पान्डे, नेकपा माओवादी केन्द्र तिनाउँका अध्यक्ष दिनेश जिसी,नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना लगायतले गाउँपालिकाले आगामी दिनमा गर्नुपर्ने महत्वपुर्ण योजनाहरुको बारेमा सुझाव सल्लाह दिनुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाको स्वागत, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठको संचालन र गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

 

Comments
Loading...