नेवार समुदायको मौलिक पर्व गाईजात्रा

0 171

–के.बि.मसाल
हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं । हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरु विविध मौलिक सस्कृति बनेको छ । नेपालमा जात्राको सुरुवात मल्लकालिन राजाहरुका पाला देखि सुरु भएको हो । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठटयौली, चुटकिला र प्रहसन समेत गरिन्छ । मृत्यु भएका आफन्तको संझनामा गरिने जात्रामा गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने जन्म पछि मृत्यु अनिवार्य हो भन्ने कुरा दर्शाउछ ।

सभ्यतासँग जोडिएको नेवार जाती भाषा, कला, संस्कार, संस्कृति तथा चाड पर्वले भरीपूर्ण समुदाय हो । नेपालमा सबै भन्दा बढी चाड तथा पर्व मनाउने नेवार जाती हो । नेवार जाती गुठीमा आधारीत समुदाय हो । यो समुदायमा भित्रमा रहेका फरक फरक जातका फरक फरक संस्कार, सस्कृति र पर्व रहेका छन् । नेवार जातीमा मनाइने हरेक चाड तथा पर्वको आ–आफ्नै किसिमको महत्व र आस्था रहेको हुन्छ । हेरक पर्वको सुरुवात आफ्नै पहिचान, महत्व र किवंदन्ती रहेको हुन्छ । नेवारी समुदायमा गठेमंगलबाट सुरु भएर सितीनख पर्वमा पुगेपछि जात्रा तथा पर्व समाप्त हुन्छ । सुरु भएको चाडलाई क्यामचा नख छोराको चाड र अन्त भएको पर्वलाई भ्यामचा नख छोरीको चाडको रुपमा मनाउने गर्दछन् । चाड पर्वको रुपमा हेर्दा नेवारी समुदाय एक विशाल संग्रहालय हो । यति धेरै चाडपर्व रहेको नेवारी समुदायमा चाड पर्वले निरन्तरता पाइरहेको छ ।

नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसंग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य साँस्कृतिक उत्सवहरु देशकै निधि हुन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै नेवार समुदायको मुख्य बस्ती र शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँन्छ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । विशेष गरी गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ ।

गाई जात्रा क्रममा प्रहसन, राजनैतिक, सामाजिक विकृति प्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरु पनि गाईने चलन छ । पछिल्लो समय गाईजात्राका अवसर पारेर समाजमा विद्यमान विकृति र विसगति उजागर गर्न सार्वजनिक रुपमा मनोरजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिका, टि भी मा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्गय प्रकाशन, प्रसारण गर्ने चलन पनि बढेको छ । राजनैतिक घोच पेच गर्ने, सामाजिक बस्तु माथि तीखो प्रहार गर्न हास्यकर्मीलाई तँ गाईजात्रा दशै भन्दा कम हुदैन । ब्यङ्ग,प्रहसन गर्न सजिलो माध्यम पनि गाई जात्रा हुने गर्दछ । गाई जात्रा मनोरंजन गर्न छुट भएकाले अझ महत्वका साथ मनाउने गरिन्छ ।
गाई जात्रा नेवारजातीको मौलीक पर्व हो । तर आजभोली गाई जात्रा मात्र नभएर अन्य जात्रा र पर्वहरु पनि पर्यटनको लागि अध्यन, अनुसंन्धान र रोमाञ्चको विषय हुने गरेको छ । गाई जात्राको सुरुवात उपत्यकाका राजा प्रताप मल्लको पालाबाट सुरुवात भएको हो । विक्रम संवत् १६४१ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगका कारण विक्षिप्त बनेकी थिइन् । रानी छोरा बितेको लामो समय हुदा पनि पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गर्दथिइन । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजे तर रानीका आँखा ओभानो भएन । राजाले एउटा जुक्ति निकाले । राजा प्रताप मल्लले छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे ।

सुरुमा गाई जात्रा अहिलेको काठमाण्डौको बसन्तपुर दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरुको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मान सहितको सम्झना गरेको अनुभूति गरिन् । गाई जात्रा नेवार जातीको धर्म सस्कृति र घटना जोडिएको छ । लाखेजात्रा, रोपाईंजात्रा, इन्द्रजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, हाँडीगाउँको जात्रा, बोडेको जात्रा, गाईजात्रा, घोडेजात्रा, नालाको लोकेश्वरजात्रा, इन्द्रजात्रा लगायत उपत्यकामा अहिले पनि धेरै जात्राहरु हुने गर्दछ । उपत्यका बाहिर पनि धेरै जात्रा अर्थात मेलाहरुको सुरुवात भुरेटाकुरे राजाहरुको पालाबाट सुरुवात भएको पाइन्छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यका बाहेक नेवार समुदायको बसोबास रहेका बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम,धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा, पर्वत वाग्लुङ, पाल्पा, प्युठान, सल्यान, दाङ, सुर्खेत र डोटी सम्म मनाउने गरिन्छ । यी बाहेक बिभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायहरुले पनि यो जात्रा मनाउने गर्दछन । तर स्थानीय परिवेश अनुसारका गाई जात्रा फरक शैलीले प्रस्तुती हुदै आएका छन । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा नाचगान तथा मृतव्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरु पनि गाइन्छन । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरु विशेष दर्शनीय मानिन्छन । गाई जात्रा पछिल्लो समय नेपालीहरुलाई मात्र होइन वाह्य पर्यटकहरुका लागि पनि आकर्षक जात्राको रुपमा हुने गरेको छ ।

नेवारी भाषामा गाईजात्रालाई सापारु भनिन्छ । सपारु अर्थात गाईजात्रा भनेर मनाउने यस पर्व नेवारहरुको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवगत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने बिश्वास गरिन्छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास पनि छ । दिवगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहि आएको छ ।

अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साकेतिक रुपमा व्याख्या गर्ने शुरुवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरुलाई समाजमा कलात्मक ढगंले चिरफार गर्ने चाड पनि हो । जुन समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङगात्मक ढगले जनताहरुले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यगको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यगप्रति रिसिबि र इख राख्न पाइदैन ।

गाई जात्राको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । शहर बजारमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ । वासा तथा तायमचा जहाँ बासको डोको,तायमचामा मृतक को तस्बिर बनाएर नगर परिक्रमा गर्दै दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन समेत गर्ने प्रचलन छ । बिभिन्न मुखिण्डो र रङगी चङगी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरु तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाई जात्रामा हास्यकलाकारहरु आ–आफ्ना प्रहसन, ब्यङय र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचरी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृती, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो गाईजात्रा । काठमाण्डौ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र जमघट रहन्छ ।

नेवारहरुको मूलथलो काठमाडौं उपत्यका हो । नेवार कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विषेश होईन । नेवार एउटा भाषिक समुदाय हो । नेवार भित्र कयौँ मूलजातिहरु छन । नेवार भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदाय हरु छन । शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि रहेका छन । नेवार भित्र ४ जात ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र र यस भित्र थुप्रै उप–जातहरु रहेका छन । जस अनुसार ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गथु, भा, द्यला रहेका छन । यसैगरी नेवार भित्र मूलतः ३ नस्ल आर्य, द्रविड, मंगोल रहेका छन । नेपालभाषा नेवारहरुको मातृभाषा हो । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपाल भाषालाई हाल आएर नेवारहरुले नेवाः भाय भन्छन भने नेपालीमा नेवारी भन्ने गरिन्छ । नेपाल भाषाको आफ्नै लिपि पनि छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको अनुमान छ ।

उपत्यकाबाट नेपालको पश्चिम क्षेत्रमा पुगेर बसोवास गर्ने नेवारहरुको मुलथलो भक्तपुर हो । ब्यापारको सिलशिलाममा काठमाण्डौ उपत्यकाबाट नुवाकोटको त्रिशुली,गोरखा, तनहूको वन्दीपुर, पोखरा वाग्लुङ, प्युठान, दाङ, सल्यान हुदै भक्तपुरे नेवारको वंश डोटी सम्म पुगेको पाइन्छ । तर धेरै ठाउमाका नेवार जातीहरुले आफ्नो मातृभाषा भने भुलेका छन । तर पनि उनिहरुको सास्कृतिक चाडपर्व, जात्रालाई भने मान्दै आएको पाइन्छ । नेवार समुदाय साँस्कृतिक रुपले निकै सम्पन्न जाति मानिन्छ । नेवार समुदायमा पेशाका आधारमा जात र थरहरु छुटयाईएका छन । ब्यापार तथा व्यवसायलाई सधैंभरी आफ्नो पेशा मान्दै आएकालाई तुलाधर, बनिया, तामाको काम गर्नेलाई ताम्राकार,काँस धातुको काम गर्नेलाई कंसाकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, अवा, माटाका साधन भाडाकुडाँहरु बनाउनेलाई कुमाले, प्रजापति, मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकर्मी, राजकर्णिकार, फूलबारीमा काम गर्नेलाई माली, मालाकार भनिन्छ ।
त्यसैगरी खेतिपातीको काम गर्नेलाई ज्यापु, महर्जन, डंगोल, सुवाल, तण्डुकार, बलामी, तोरीको तेल पेल्ने अर्थात तेलहनका व्यवसाय गर्नेलाई सायमी वा मानन्धर, फलामजन्य कार्य गर्नेलाई नकर्मी र कौले, कपाल अथवा केश काटनेलाई नापित, चित्र लेख्ने र कोठा रंगाउनेलाई पुँवा चित्रकार, लुगामा रङ्ग लगाउनेलाई छिपा वा रंजितकार, पालकी बोक्नेलाई दली, पतवार,बाजा बजाउने र लुगा सिउनेलाई कपाली, कुस्ले, जोगी, मासुका कारोबार गर्नेलाई खडगी,शाही, कसाईं, छाला संबन्धी काम गर्नेलाई कुलु, सर–सफाई गर्नेलाई सुवर्णकार, पोडे, च्यामे, द्योला, हालाहुलु, बौद्द पुरोहितलाई गुभाजु, बज्राचार्य, सुन चाँदिका गहना बनाउनेलाई बन्देजु, वरेजु वा शाक्य, हिन्दू वैदिक ब्राह्मणलाई राजोपाध्याय, ब्राह्मण, द्योउभाजु, हिन्दू तान्त्रिक पूजारीलाई कर्माचार्य, आचाजु, हिन्दू मन्दिर पुजारीलाई तिर्हुतबाजे, ज्योतिषी गर्नेलाई जोशी, सरकारी र प्रशासनिक र जमिनदारी व्यवसाय गर्नेलाई मल्ल, प्रधान, मास्के, अमात्य, राजभण्डारी, कायस्थ, वैद्य, श्रेष्ठ भन्ने गरिन्छ ।

Comments
Loading...