पत्रकार महासंघको आइसोलेसनका लागि रिब्दीकोट र रम्भाको सहयोग

0 483

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले महासंघको भवन तानसेन मेहल्धारामा निर्माण गर्न लागेको आइसोलेसनका लागि रिब्दीकोट गाउँपालिकाले बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

महासंघको दोस्रो बैठकले कोरोना महामारी बढ्दै गएकोले महासंघको भवनमा ५ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरि काम अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, प्रवक्ता बिष्णु प्रसाद खनाल र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले महासंघका उपाध्यक्ष भरत शर्मालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पत्रकारिता क्षेत्रले सामाजिक सन्देश प्रवाहमा महत्वपुर्ण भुमिका निर्वाह आएको बताए । उनले पत्रकारिता क्षेत्रको संस्थागत बिकासका लागि स्थानीय सरकार सदैब तयार रहेको समेत औल्याए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले कोरोना भाइरसले महामारीको रुप लिइरहेकोले सबै जना सचेत हुनुपर्ने बेला आएको बताइन् । पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पत्रकार महासंघले आफ्नो शाखा भवनमा निर्माण गर्न लागेको आइसोलेसन कक्षबारे जानकारी गराउँदै यसप्रकारको सहयोगको लागि गाउँपालिकालाई धन्यवाद दिए । कार्यक्रममा महासंघका उपाध्यक्ष भरत शर्मा, सचिव यज्ञमूर्ति तिमिल्सिना, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, कार्यसमिति सदस्यहरु कृष्ण पोखरेल र अनिल लिगल सहित रिब्दीकोट गाउँपालिकाका बिभिन्न जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले कोरोना महामारी न्युनीकरण र संक्रमितहरुको उचित उपचार र सहजीकरणका लागि गाउँपालिका लागिपरेको बताए । गाउँपालिकाले महासंघका लागि सर्जिकल मास्क २ हजार ५ सय थान, ग्लोब्स २ हजार ५ सय थान, थर्मन गन १ थान, सेनेटाइजर २५ लिटर, अक्सिमिटर ३ थान, फेस शिल्ड ५० थान, डिजिटल थर्ममिटर ५० थान, वेट मेसिन २ थान र सेनेटाइजर डिस्पेन्सर १ थान उपलब्ध गराएको छ ।

त्यस्तै महासंघले निर्माण गर्न लागेको आइसोलेसनका लागि रम्भा गाउँपालिकाले पनि बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्य शाखा संयोजक शिवप्रसाद अर्यालले महासंघका कोषाध्यक्ष मुक्ति न्यौपानेलाई उक्त सामाग्री हस्तान्तरण गरे ।
रम्भा गाउँपालिकाले मास्क १ हजार थान, सेनेटाइजनर ५ लिटर, फेस शिल्ड १० थान, ग्लोब्स २ प्याकेट, थर्ममिटर १० थान र अक्सिमिटर १ थान उपलब्ध गराएको कोषाध्यक्ष न्यौपानेले बताए ।

महासंघको शाखा भवनमा आइसोलेसन निर्माणका लागि तयारी अगाडि बढेको महासंघका अध्यक्ष रेखीराम रानाले जानकारी दिए । उनले कोरोना जोखिम बढ्दै गएकोले स्वास्थ्य सुरक्षा अपनाई समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।

Comments
Loading...