पत्रकार महासंघद्धारा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण

0 228

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले कोरोना संक्रमण फैलिइरहेका बेला अग्रपंक्तिमा रही समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ । महासंघका अध्यक्ष रेखीराम रानाले रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाको सहयोगमा प्राप्त भएका स्वास्थ्य सुरक्षा सामाग्री फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरुका लागि बितरण गरिएको बताए । अध्यक्ष रानाले यो बीचमा जिल्लामा केही पत्रकारहरु संक्रमित हुनुभएको र महासंघका पदाधिकारीहरु होम आइसोलेसनमै पुगेर उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको बताए ।

स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्दै महासंघका उपाध्यक्ष भरत शर्माले महामारीको समयमा पाल्पाली संचारमाध्यमहरुले खेल्दै आएको भुमिका सराहनीय रहेको बताए । महासंघको तर्फबाट सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स, स्यानेटाइजर, थर्ममिटर, फेस शिल्ड प्रदान गरिएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएकोले पत्रकारहरु पनि जोखिममा रहेकोले यसरी स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताए । अहिलेसम्म जिल्लामा क्रियाशील १९ जना पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको र स्वास्थ्य सामग्री नपाएका अन्य क्रियाशील पत्रकारलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने सचिव तिमिल्सिनाले बताए ।

यसअघि पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो शाखा भवनमा ५ बेडको आइसोलेसन कक्ष निर्माण गरिसकेको छ ।

Comments
Loading...