पर्यटकको गन्तव्य शिवासन धाम र शिवालय मन्दिर

0 1,959

सुशिल बस्याल
महामृत्युञ्जय शिवासन धाम ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो धाम बगनासकाली गाउँपालिका ८ बराङदीको मेहल्टुप्पामा रहेको छ । यो धाम नेपालको राजधानी काठमाडौबाट ३ सय १५ किलोमिटर पश्चिम, गौतमबुद्दको जन्मस्थान लुम्बिनीबाट ७५ किलोमिटर र पाल्पाको तानसेनबाट ७ किलोमिटर उत्तर, रुरुक्षेत्रबाट पुर्व, पवित्रस्थल देवघाटबाट पश्चिम अनि मुक्तिनाथबाट दक्षिण ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक महत्व बोकेको उत्तर बाहिनी कालीगण्डकीको काँखमा छ ।

यो धाम धार्मिक हिसावले मात्र नभई दृश्यावलोकनका हिसावले पनि महत्वपुर्ण छ । हिमालय धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालहरुको परिदृश्य यहाँबाट प्रष्ट देख्न सकिन्छ । यो धाम बिश्वकै नवीन तीर्थ स्थलको रुपमा परिचित छ । महामृत्युञ्जय शिवासन धाम रहेको स्थानबाट देखिने प्राकृतिक मनोरम दृश्यले त्यसक्षेत्रको गरिमालाई थप उच्च बनाएको छ ।

बराङ्दी मेहलटुप्पामै जन्मिई कर्म क्षेत्र हाल बेलायत बनाउनुभएका भिम बस्यालले निरन्तर ७ बर्षसम्म महामृत्युञ्जय मन्त्र जप गर्दामन्त्रको प्रत्यक्ष प्रभावबाट आकर्षित भई यहाँ रहेको बिराट शिवजीको मुर्ति निर्माणको लागि सम्पूर्ण लगानी गर्नुभएको हो । धामका लागि बस्यालका पिता झिल्लुप्रसाद बस्याल एवम् उहाँको परिवारले जग्गादान गर्नुभएको हो । यस क्षेत्रको पर्वधनका लागि केही वर्ष अघि यस धाममा महायज्ञ समेत गरिएको थियो ।

बि.सं.२०७० साल फागुन ७ गतेका दिन स्वामी श्री १००८ बिबेकानन्द सरस्वती जी महाराजबाट एवम् १११ जना ब्रह्माण्डहरुद्रारा महामृत्युञ्जय मन्त्र जप गरी अनावरण एवम् प्राण प्रतिष्ठा गरिएको शिवजीको बिराट मुर्ति र स्थलमा अखण्ड दिप, अखण्ड धुनी लाग्नुका साथै नियमित नित्य पुजा अर्चना अहिलेसम्म पनि निरन्तर हुँदै आएको मन्दिरको मुल पुजारी लालप्रसाद पन्थीले बताउनुभयो । हाल मन्दिरमा नियमित पुजा अर्चना गर्ने पुजारीको व्यवस्था गरिएको छ । यसरी पुजारीको नियमितता हुँदा यहाँ पुग्ने धार्मिक पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ । यहाँ खासगरि शिवरात्रीको दिन बिशेष मेला लाग्छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

शिवासन धाममा प्रत्येक बर्ष स्वस्थानी ब्रत कथा सुनाउने गरिन्छ । व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । ब्रत कथामा शिवासन धाममा बाक्लो उपस्थिति रहन्छ । त्यस्तै कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । शिवासन धाममा कृष्णको पुजा आराधना संगै जन्माष्टमीका दिन अस्थायी कृष्ण मन्दिर बनाएर पूजा–आराधना, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्छन ।त्यसै दिन प्रत्येक बर्ष तीज गित कार्यक्रम राखी रमाईलो गर्ने चलन छ । प्रतियोगितामा सहभागी भै हर्षोल्लासका साथ कृष्ण जन्माष्टमी मनाउने गर्छन् ।

महामृत्युञ्जय शिवजीको स्वरुप मुर्ति कारिताको लागि विश्व बिख्यात पाटनको दक्ष कालीगढले १८ महिनाको परिश्रमबाट तयार पारेका हुन् । मुर्तिको पुर्ण अंग १२ फिट र ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तल रहेको छ । १८ फिट उचाई र ३३ सय किलो तौल रहेको छ ।
पाल्पा जिल्लाको मात्र नभई समग्र राष्ट्रको आर्थिक ,सामाजिक ,साँस्कृतिक ,पर्यटकीय एवं हिन्दु धार्मिक तीर्थस्थलको रुपमा बिकसित गराउने उद्देश्य सहित निर्माण गरिएको महामृत्युञ्जय शिवासन धामको बृहत् गुरुयोजना समेत बनेको छ ।

भगवान शिवको मुर्ति वरपर बन्ने धर्मशाला, बृद्दाश्रम, अनाथालय, अतिथिशाला, बैदिक पाठशाला, अखण्ड शान्ति दिप, अखण्ड शान्ति धुनी तथा नेपाल मण्डप शैलीमा निर्माण हुने संरचनाहरुले धामको थप सौन्दर्य बढ्ने बिश्वास गरिएको छ । यस थलोको छुट्टै पहिचान गराउने उद्देश्यले परिकल्पना गरिएको बिशाल महादेवको काल्पनिक स्वरुप मात्रै नभई पुजा पद्धति पनि विभिन्न महाशक्तिपिठहरुको अध्ययन पश्चात् आफ्नै शैली अवलम्ब नगरिएको छ । जसको आधा अंश शिवजीको आरतीको लागि बिश्वबिख्यात भारतको उज्जैन स्थित महाकैलेश्वर मन्दिरमा गरिने भष्मआरतीका केही अंश अनुसरण गरि त्यो भन्दा भिन्न पद्धतिको अबलम्बन गरिएको छ ।

संस्थाको प्रमुख उद्देश्य आन्तरिक व्यापारबाट रोजगारीको अवसर सिर्जना गर्ने, ,अध्यात्मवादको माध्यमबाट राष्ट्रिय आय बढाउने, मानवीय सोंच सकरात्मक बनाउने र दीगो शान्तिको स्थापना गर्नु हो । शिवासनको पुण्य भुमिमा राखिने डमरु, कमन्डलु, बसाहा, घण्ट, त्रिशुल पनि बिश्वकै ठुला हुने र यसै ठाँउमा एम्बुलेन्स सेवा समेत राखिने योजना समेत गुरुयोजना भित्र रहेको छ ।

महामृत्युञ्जय शिवासन मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष केशव रायमाझीले बताउनुभयो । “प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै गएको छ । सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास प्रचारप्रसारका लागि जुटेका छौं तर समुदायमा अझै पनि खुट्टा तान्ने प्रबृत्ति र सकरात्मक समाज निर्माण नहुदा यस क्षेत्रको विकास निर्माण ढिला भएको अनुभुति गरेका छौ तर निराश छैनौ काम गर्छौ ।” अध्यक्ष रायमाझीले भन्नुभयो ।
शिवरात्रीमा बिशेष मेला
शिवरात्रि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ । शिवरात्री पर्व शिवासन धाममा बिशेष महत्वका साथ मनाईन्छ । शिव भगवानलाई देवहरुको देव मानिने र शिवका धाममा पुजन गर्नेले ,जल खानाले रोग ब्याधी हराउने तथा दीर्घ जीवन हुने धार्मिक विश्वास रहेको पाईन्छ त्यसैले शिवरात्रीका दिन यहाँ भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ ।
शिवरात्रीको दिन शिवजीको बिराट मुर्तिमा गाईको शुद्ध दुधले भक्तजनहरुद्रारा महास्नान गराईन्छ । बिद्धान पण्डितहरुको सहभागितामा भष्म आरती समेत सोही दिन गरिन्छ । शिवरात्रीका दिन केही वर्षहरुमा हेलिकप्टरबाट पुष्प बृष्टि समेत गरिन्छ ।

पर्यटकको पर्खाईमा एतिहासिक शिवालय मन्दिर
शिवासन धाम नजिकै माथि पर्यटकीय डाँडामा ऐतिहासिक शिवालय मन्दिर छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण धार्मिक एवम पर्यटकीय स्थल शिवालय मन्दिर क्षेत्रले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई कुरिराखेको छ । यो मन्दिरको क्षेत्रको उचित प्रचार प्रसारको अभावमा मन्दिर ओझेलमा पर्न जाँदा उल्लेखनीय चहल–पहल हुन सकेको छैन । तर यो मन्दिर र यस क्षेत्रको ऐतिहासिक महत्व भने बेग्लै छ । बगनासकाली ८ बराङ्दी मिलनटोल स्थित रहेको शिवालय मन्दिरको प्राचीन र पुरातात्विक महत्व रहेको छ । उक्त मन्दिरमा उत्खननका क्रममा भेटिएको अबशेषहरुले पुरानो इतिहास झल्काएको छ । उत्खननको क्रममा १७१८ ताकाको चाँदीको सिक्का तथा हवन कुण्ड भेटिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनिराम बस्यालका अनुसार पहिले त्यस मन्दिर परिसरमा एक पोखरी र पिपलको रुख रहेको थियो । पिपलको रुखमा पुजा गरिदैँ आईरहेको करिव सय बर्ष पुरानो उक्त पिपलको रुख अत्यन्तै जिर्ण अवस्थामा पुगेको र अहिले मन्दिर मर्मत पश्चात् पुरानो पिपल सप्रिएर फेरि पलाएको र उक्त पिपलमा आध्यात्मिक शक्तिको प्रभाव परेको विश्वास रहेको बस्यालले बताउनुभयो ।

शिवलिङ्गकै आकारमा निर्माण भएको मन्दिर यस क्षेत्रकै नमुना मन्दिर हो । यसपखालको मन्दिर अत्यन्तै दुर्लभ मानिन्छ । मन्दिर भित्र रहेको शिव लिङ्ग पत्थरबाट कुदेर बनाईएको कलात्मकताले सबैलाई मोहित पार्दछ । यस स्थानबाट अन्नपूर्ण,माछापुच्छ्रे जस्ता हिमाल प्रष्ट देख्न सकिन्छ । श्रीनगर डाँडा चारैतिरको हरियाली वातावरणले त्यस क्षेत्रप्रतिको आकर्षण उच्च बनेको छ । उत्तरतिर हिलेको लेक, रुरु,रेसुङ्गा देख्न सकिन्छ दक्षिण तिर बगनासदेवी लगायतका रमणीय स्थानहरु देख्दा त्यहाँ पुग्दाको आनन्द छुट्टै रहेको छ ।

यहाँ पनि शिवरात्रीको दिन विशेष पुजा अर्चना हुने गर्छ । मन्दिरमा शिवरात्री विशेष पुजा हुने भएकोले पनि भक्तजन बाक्लो रुपमा आउने गर्छन् । यो मन्दिर पनि धार्मिक पर्यटकको पर्खाइमा रहेको छ । मन्दिरसम्म सडक यातायातको पहुँचभित्रै रहेको शिवालय मन्दिरको उचित विकास र व्यवस्थापन हुनसके आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुनेछ । बगनासकाली फिचर संग्रह

Comments
Loading...