पाल्पाका सबै बिद्यालय बन्द

0 339

पाल्पा । पाल्पाका सबै बिद्यालय मंगलबार बन्द भएका छन् । कोरोना महामारीको दोस्रो लहर फैलिएको र त्यसको प्रत्यक्ष प्रभाव बिद्यार्थी शिक्षकमा परेको भन्दै पाल्पाका सबै विद्यालय मंगलबारदेखि बन्द गर्ने निर्णय भएको हो ।

सिसिएमसिको बैठकपछि आइतवार साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकारले अर्को सूचना जारी नभएसम्मका लागि बिद्यालय बन्द गर्न र सबै परीक्षाहरु स्थगन गर्ने जनाएको थियो । सोमबार पुनः जिल्लाका सबै स्थानीय तहहरुले समेत बिज्ञप्ति जारी गर्दै बिद्यालय बन्द गरिएको जनाएका छन् । विद्यालय बन्द भएपछि वार्षिक परीक्षा स्थगित भएका छन् । सञ्चालन भइरहेका परीक्षासमेत रोकिएका छन् ।

पाल्पामा मात्रै ४९३ वटा विद्यालय छन् । जसमध्ये ४४९ सामुदायिक र ४४ वटा संस्थागत हुन् । विद्यालय बन्द भएसँगै कक्षा १२ सम्मका गरि ७१ हजार ३ सय २ जना विद्यार्थीको पढाइ तथा परीक्षा प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए ।

यहाँका १० वटै स्थानीय तहले विज्ञप्ति जारी गरी अनिश्चकालका लागि विद्यालय बन्द गर्ने जनाएका छन् । भौतिकरूपमा उपस्थित भइ गराइने पठनपाठन तथा परीक्षा सञ्चालन गर्न नपाइने भए पनि भर्चुअल तथा अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गर्न र गराउन सबै स्थानीय तहहरुले बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।

पाल्पामा दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएको छ । सोमबार मात्रै पनि २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको संख्या २ हजार १८६ पुगेको छ । जसमध्ये १६४ सक्रिय संक्रमित छन् । कोरोनाकै कारण पाल्पामा ३९ जनाको मृत्यु भइसकेको छ ।

Comments
Loading...