पाल्पाका ३ स्थानीय तहमा बन्न लागेको अस्पतालको जग खन्ने काम समेत हुन सकेन

0 587

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
सरकारले देशभरका ३ सय ९६ स्थानीय तहहरुमा २०७७ मंसिर १५ गते एकै दिन अस्पतालहरुको शिलान्यास गरेको भएपनि पाल्पामा बन्ने भनिएका ३ वटै अस्पतालको अहिलेसम्म जग खन्ने काम समेत भएको छैन । देशका ३ सय ९६ स्थानीय तहहरुमा ५, १० र १५ शैयाका अस्पतालहरुको निर्माणको एकै शिलान्यास गरिएको थियो । पाल्पाको माथागढी गाउँपालिका, पुर्वखोला गाउँपालिका र निस्दी गाउँ पालिकामा मंसिर १५ गते नै १५,१५ शैयाका अस्पतालको शिलान्यास गरिएको थियो ।

तर यी ३ वटै अस्पतालको अहिलेसम्म जग खन्ने काम समेत भएको छैन । माथागढी गाउँपालिकाका इन्जिनियर धर्मेन्द्र यादवले अस्पताल निर्माणको टेन्डर आह्वान भई निर्माण ब्यवसायीसँग सम्झौता भएको ३ पुग्न लाग्दा पनि जग खन्ने काम समेत नभएको बताउनुभयो । यहाँको अस्पताल निर्माणका लागि दोस्रो पक्ष प्राकृतिक निर्माण सेवा भैरहवा र माथागढी गाउँपालिका बीच १० करोड ७८ लाख ७५ हजार ७ सय रुपैयाँमा २ बर्षभित्र काम सम्पन्न गर्ने गरि २०७८ जेठ २० गते सम्झौता भएको उहाँले बताउनुभयो । “२४ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ तर सम्झौता भएको ३ महिना हुन लाग्दा पनि कुनै पनि काम सुरु भएको छैन ।” उहाँले भन्नुभयो ।

निस्दी गाउँपालिकामा बन्ने भनिएको अस्पतालको पनि जग खन्ने काम समेत भएको छैन । प्राकृतिक रबिना ज्वाइन्ट भेन्चर कम्पनी भैरहवाले १६ करोड ६८ लाख ८४ हजार ९ सय २४ रुपैयाँमा निस्दीमा अस्पताल निर्माण गर्ने गरि २०७७ जेठ ६ गते निर्माण कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको थियो । २४ महिना अर्थात २०८० जेठ ६ गते भित्र सम्पन्न गर्नुपर्ने कामको अहिलेसम्म जग खन्ने काम समेत नभएको निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले बताउनुभयो ।

पुर्वखोला गाउँपालिका–१ बीरकोटमा मा बन्ने भनिएको अस्पतालको काम पनि खास अगाडि बढेको छैन । गाउँपालिका र निर्माण कम्पनी बिक्वाई दाबा कम्पनी काठ्माण्डौ बिच १२ करोड, ५१ लख ७४ हजार १ सय ८९ रुपैयाँमा १५ बेडको अस्पताल २०८० असार २८ गतेभित्र सम्पन्न गर्ने गरि २०७८ असार २३ गते सम्झौता भएको छ । तर अहिलेसम्म खास काम अगाडि नबढेको गाउँपालिकाका इन्जिनियर शिव शर्माले बताउनुभयो । निर्माण कम्पनीले काम गर्न तयारी अवस्थामा रहेको हामीलाई बताइरहेको छ तर भौगोलिक अवस्थाका कारण जमिन खार्न डोजर प्रयोग गर्नुपर्ने भएकोले नजिकको बस्ती समेत जोखिममा पर्ने डरले आफुहरुले नै एकछिनलाई काम होल्ड गराएको र पानी पर्न कम भएपछि केही दिन अघि जग्गा सम्याउने काम सुरु भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनी बिक्वाई दावा कम्पन्नीका प्रोप्राइटर पामा मेडुप लामाले पानी परिरहेको बेला डोजर चलाउँदा अस्पताल बन्ने स्थानबाट माथि डाँडामा रहेका बस्तीहरु प्नि जोखिममा पर्ने डरले आफुहरुले काम सुरु नगरेको र पानी पर्न कम भएपछि अव काम सुरु गरिएको बताउनुभयो ।

Comments
Loading...