पाल्पाको बोटे समुदायकी शिक्षित चेली रुपा, शैक्षिक जागरण फैलाउँदै

0 319

बिष्णु प्रसाद घिमिरे । पाल्पा

बगनासकाली गाउँपालिका–६ दर्पुककी २४ बर्षीया रुपा बोटे यो समुदायकी एक्ली शिक्षिका हुन् । रुपा बोटे गाउँमा यो समुदायबाट धेरै पढ्ने चेलीको समेत परिचय बनेको छ । झण्डै २ वर्ष अघिदेखि उनले आफैले अक्षराम्भ गरेको स्थानीय भगवती आधारभुत विद्यालयमा पढाउँदै आएकी छन् ।

स्थानीय सरकारको निर्वाचनपछि बगनासकाली गाउँपालिकाले पालिकालाई बालमैत्री बनाउने कार्यक्रम अन्र्तगत बोटे समुदायको शैक्षिक सुधारका लागि यही समुदायको शिक्षक प्रतिनिधित्व गराउने कार्यक्रम अन्र्तगत रुपालाई शिक्षिकाको रुपमा राखिएको थियो ।

आफ्नो समुदायमा अहिले पढाई लेखाईमा कम चासो रहेकोमा रुपा निकै दुखी छन् । हाम्रो समुदायमा कसैले पढ्न मान्दैनन्, पढेर के हुन्छ र भन्छन् । उनले भनिन्–“पढेपछि केही न केही त हुदो रहेछ नि म अहिले शिक्षिका बनेर बिद्यालय आउँदा जादा अरुमा पनि अब पढ्नुपर्दो रहेछ भन्ने सोचको बिकास भएको छ ।”

उनले अहिले सामान्य शिक्षिकाको मात्रै भुमिका निर्वाह गरेकी छैनन् । गाउँका बोटे समुदायका बालबालिकालाई घरघरमै पुगेर बिद्यालयसम्म ल्याउन उनी दैनिक खटिन्छिन् ।  यो क्षेत्रका बोटे वालवालिकाहरु अझैपनि विद्यालय जान मान्दैनन् । स्थानीय भगवती आधारभुत विद्यालयमा यो समुदायका मात्रै ८५ जना बिद्यार्थी छन् जसमध्ये २०, २५ जनालाई दिनदिनै फकाएरै बिद्यालय ल्याउनुपर्ने अवस्था छ ।

बगनासकाली गाउँपालिकाले बालमैत्री कार्यक्रम अन्र्तगत सबै वालवालिकाहरुलाई विद्यालय लैजाने र टिकाउने कार्यक्रम अन्र्तगत बोटे समुदायका नियमित विद्यालय नजाने वालवालिकाहरुलाई नियमित गराउने गरि रुपलाई हेरालु शिक्षकको रुपमा नियुक्त गरेको हो । वालवालिकाहरु विद्यालय भर्ना भएपनि विद्यालय नियमित नजाने भएका कारण उनीहरुलाई नियमित गराउन हेरालुको आवश्यकता ठानी यो प्रयास गरिएको पालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

अन्य शिक्षकको दैनिकी १० बजेपछि मात्रै सुरु हुन्छ । तर रुपाको दैनिकी बिहान ८ बजेबाटै सुरु हुन्छ । उनले घरघरमा पुगेर बालबालिकालाई फकायर विद्यालय लैजान्छिन् । दुःखगरी फकायर ल्यायो कतिपय त विद्यालय नै नपुग्दै बाटोबाटै भाग्छन् । रुपाले आफ्नो अनुभव सुनाइन् । अझै पनि बोटे समुदायमा छोराछोरीलाई विद्यालय पठाए घरको काम गर्ने, साना बच्चा हेर्ने मान्छे हुन्नन् भन्ने सोच कायम रहेको उनको भनाई छ । रुपा स्थानीय सार्वजनिक बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो बर्षकी विद्यार्थी समेत हुन् ।

रुपाको घरमा अहिले ११ जना छन् । आमा, बुवा र ९ छोराछोरी । ती मध्येकी साहिली रुपाले घरमा मात्र होइन, आफ्नो समुदायमै धेरै पढ्ने चेलीको परिचय बनाएकी छन् । अरुले पढेको देख्दा रहर लाग्थ्यो, हाम्रो गाउँमा बोटेहरुले पढ्दैनथे । तैपनि मैले जीवनमा पढेर केही गर्नुपर्छ भन्ने सोचेरै पढाईलाई अगाडि बढाएकी छु । यसै गरि समुदायमा राम्रो ब्यक्तिको परिचय बनाउने सोच रहेको उनले बताइन् ।

रुपाका ४ दाजुभाई र ५ दिदीवहिनी छन् । जेठो दाजुले ट्याक्टर चलाउछन् । माइलोले माछा मार्ने काम गर्छन् । २ वटा भाइहरुले ८ कक्षामा पढ्दैछन् । यो क्षेत्रका बोटे समुदायका सबैको घरको आर्थिक अवस्था कमजोर छ । माछा मार्ने र मेलापात गरेर जसोतसो गुजारा चलाउँदै आएका छन् । स्थानीय भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक जर्नाधन अधिकारीले आजकल आर्थिक उपार्जनका लागि यो समुदायबाट भारत सहित अन्य मुलुकमा जाने क्रम बढ्दै गएको छ । देशपरदेश गएकाहरु अन्तको आर्थिक, सामाजिक अवस्था बुझेकोले आजभोली कोही कोहीमा पढ्नुपर्दोरहेछ भन्ने चेतना बढ्न थालेको उनले बताए । रुपाको घरमा पनि उनले भन्दा अगाडि अरुले पढेनन् । २ दिदीहरु पनि १० कक्षा पढ्दापढ्दै विद्यालय छाडेर बसे । दाजुहरु पनि ८ कक्षा भन्दा माथी पढ्न सकेनन् । रुपाले भने कहिले विद्यालय छाडिनन् । उनले भनिन्–“विद्यालयका सरहरु र गाउँका अभिभावकहरुले दिनुभएको हौसलाले मलाई पढ्ने जाँगर चल्यो ।”

रुपाको घरको आर्थिक अवस्था पनि अरु बोटे समुदायकै जस्तो छ । जसोतसो गुजारा मात्र चल्ने । विद्यालय देखी क्याम्पस सम्मकै अध्ययनमा आर्थिक संघर्ष गर्नुपरेको रुपाले बताइन् । घरबाट नास्ताखान भनेर केही पैसा दिनुहुन्थ्यो, त्यो पनि कापी किताव किन्नमा खर्च गरे  । उनले भनिन् । शनिवार र अन्य विदाको समयमा रुपा मेलापातमा समेत जान्छिन् । त्यसबाट आएको पैसाले पनि पढाईमा सहयोग गरेको उनले बताइन् । पढ्न चाहनेहरुका लागि पैसा भएन पढ्न पाइएन भन्ने समस्या नहुने उनको अनुभव छ । उनलाई अहिले बिद्यालयबाट प्राप्त पारिश्रमिकबाट समेत धेरै सहयोग भएको छ ।

 

Comments
Loading...