पाल्पाको विकासका लागि प्रतिबद्ध छुः गैरे (अन्तरवार्ता)

0 1,960

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले उम्मेदवार भएका छन् । उम्मेदवार गैरेसँग गरिएको कुराकानी ।

निर्वाचन आउन अव धेरै दिन छैन । तयारी कस्तो छ ?
म राष्ट्रिय स्वाभिमान र जनजीविकासँग गासिएका आन्दोलन र भ्रष्टाचार बिरोधी सबैजसो आन्दोलनमा सहभागी भएर नेतृत्व गर्दै यहाँसम्म आईपुगेको व्यक्ति हो । अहिले म नेकपा (एमाले)को तर्फ बाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको छु । पटक पटक सोमप्रसाद पाण्डेयलाई नेकपा एमालेको तर्फबाट जिताएर पाल्पाली जनताले उहाँलाई संसद सम्म पुर्याउनु भयो । पाल्पाली जनताले के पाउनुभयो ? पाचौं पटक सम्म अवसर पाएर उहाँले पाल्पाली जनतालाई के दिनु भयो ? यो आम पाल्पाली जनतालाई जगजायर छ । मलाई लाग्छ उहाँले अब पाल्पाली जनतालाई दिनुपर्ने आश्वासन बाहेक केही छैन समय बदलीएको छ । पाल्पाली जनताले म मार्फत नयाँ संभावना खोजीरहेका छन्, मलाई काम गर्ने अवसर दिनुहुनेछ, म जित्नेछु, मेरो जित सुनिश्चित छ ।

पार्टीको माथिल्लो निकायमा रहँदा पनि काम गर्ने अवसर पाउनुभएको थियो नी । हैन र ?
हो । मैले पार्टी काममा मात्रै होइन, पार्टीको सार्वजनिक छवीलाई उजिल्याउन साझा मोर्चाहरुमा पनी उत्तिकै क्रियाशिल भएर काम गरेको छु । पार्टीको आन्तरिक मोर्चामा म सधै अग्रपंक्तिमा रहेर काम गरेको छु । अहिले संघिय संसदमा पार्टीले मलाई बिश्वास गरेर पाल्पाली जनताको भावनालाई मुखकृत गर्ने अवसर प्रदान गरेको छ, यसबाट म अत्यन्तै सन्तुष्ट छु । पाल्पाली जनताले यो कुरालाई अवसरको रुपमा लिनु भएको छ यो उहाँहरुको यो आशा र भरोसालाई उहाँहरु संगै भएर अग्रपंक्तिमा रहेर काम गर्ने छु । पार्टीको सार्वजनिक जीवनलाई उज्यालो पार्नका लागि आफैले ‘फोरम’ सृजना गरेर क्रियाशिल भएको थिएँ । अहिले संसदिय फाँटको मुलप्रवाहमा आउने अवसर पाएको छु त्यो अवसर समग्र पाल्पालीले मलाई नै प्रदान गर्नुहुनेछ भन्ने दृढ विश्वास छ ।

तपाईंको राजनीति कहाँ बाट सुरु भयो ? विद्यार्थी आन्दोलनमा सक्रिय हुँदा के के काम गर्नुभयो ?
जनआन्दोलनपछि म विद्यार्थी राजनीतिमा सक्रिय भएँ । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा ०४९ र ०५१ मा म लगातार दुई कार्यकाल स्ववियु सचिवमा भएँ । ०५५ सालमा तत्कालीन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा भएको राष्ट्रिय स्वाधीनताका पक्षमा गरिएको कालापानी मार्च होस् या रवीन्द्र अधिकारी अध्यक्ष भएपछि मातृभूमिको सन्देश कार्यक्रममा म सक्रियताका साथ लागें ।

म अध्यक्ष भएको बेला गरिएको ‘सुस्ता बचाऊ अभियान’ले सबैको मन जितेको थियो । मेरो नेतृत्वमा पाँच हजार ६ सय विद्यार्थीसहित त्यतिवेला हामीले मार्च पास गरिएको थियो । पहिलो जनआन्दोलनमा पाल्पामा र दोस्रो जनआन्दोलनमा म काठमाडौंमा थिए । विद्यार्थी आन्दोलनबाट बिदा भएपछि पनि निरन्तर सक्रिय भएँ । मेरै नेतृत्वमा नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा अभियान सञ्चालन भयो । जनआन्दोलनका दमनकारी लोकमानसिंह कार्की बिरुद्धको अभियान, एनसेल कर छली प्रकरणका दोषीलाई कारबाही र कर असुलीका लागि राष्ट्रिय अभियान सञ्चालन गरेको थिएँ ।

भारतीय नाकाबन्दीविरुद्ध सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय, पुल्चोकसम्म बृहत् मानव हातेसाङ्लो कार्यक्रम सम्पन्न गरियो । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पहिचान आज नेकपा एमालेको नारा बन्दा त्यतिवेलाका थुप्रै अभियानले सार्थकता पाएकोमा धेरै गौरवको अनुभूति हुने गर्छ । आज एमालेले जुन उचाई र लोकप्रियता हासिल गरेको छ, त्यसको मुख्य कारण एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा चलाएको अभियान नै हो । यो अभियानमा सम्झेर पनि पाल्पालीले अहिले मलाई विश्वास गरेर मतदान गर्नेछन् ।

तपाईंले चुनाव जित्ने आधारहरु के के हुन् ?
म निरन्तर पाल्पासँग जोडिएको छु । म संग पाल्पाको समृद्धिको लागि स्पष्ट मार्गचित्र छ । पाल्पाको शिक्षा, स्वास्थ्य, पर्यटन, युवा, बालबालिका, महिला, दलित जनजाति, भौतिक पूर्वाधार, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रमा के के गर्ने भन्ने बारेमा मेरो स्पष्ट रोडम्याप छ । पाँच बर्षमा के के गर्ने भन्ने बारेमा मेरो एक बर्ष भित्रमा के के गर्न सकिन्छ, तीन बर्ष भित्रमा के गर्न सकिन्छ र पाँच बर्ष भित्रमा के के गर्ने भन्ने बारेमा अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन योजना बनेको छ । म संग बिषयगत बिज्ञहरुको समुह छ त्यो समुहले पाल्पामा बिषयगत क्षेत्रमा के के गर्ने भन्ने बारेमा बिस्कृत अध्ययन गरी रिपोर्ट तयार गरेको छ । यो बिकासको लागि अति महत्वपूर्ण छ । त्यही भएर मेरो जित सुनिश्चित छ । नाता, पद, पैसाको बलमा चुनाव जितेर जनताको लागि केही नगर्ने नेतालाई यसपाली पाल्पाली नेताले विदा गर्ने छन् । पैसाले मतदाता किन्ने, शक्तिले मतदाता प्रभावित गर्ने, अनि चुनाव जितेर माखो नमार्ने र जनताको पक्षमा केही काम नगर्ने प्रवृत्तिलाई अब सचेत पाल्पाली जनताले सधैंको लागि विदा गर्नेछ । म विकासको पक्षधर पाल्पालीहरुको साझा नेता हुँ । म एमालेको उम्मेदवार भएपनि पाल्पाको विकास र समृद्धिको पक्षमा रहेका सबै मतदाता मेरो पक्षमा हुनुहुन्छ । सबै दलसँग समन्वय गरेर पाल्पाको विकासमा म लाग्छु ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
मसँग पाल्पाको विकासको मार्गचित्र छ । पाल्पा बदल्ने संकल्प र साहस छ । उर्जा र उत्साह छ । म पाल्पाको विकासको लागि सबैसँग समन्वय गर्न सक्छु । विगतमा व्यवस्था परिवर्तनका लागि लडेको र यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने छु । यसपटक पाल्पालाई समृद्ध बनाउनको निम्ती पाल्पाली जनताले नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मत दिनुहुन्छ । आफ्नो प्रतिनिधि बदल्नुहुन्छ भन्नेमा पुर्ण विश्वस्त छु ।
हस् धन्यवाद ।
धन्यवाद

Comments
Loading...