पाल्पामा कोरोना परीक्षण ल्याव कहिले चल्छ ?

0 413

पाल्पामा पनि ३ जनामा समुदाय स्तरमा कोरोना पोजिटिभ देखिएको छ । अहिलेकै अवस्थामा आत्तिइहाल्नुपर्ने अवस्था त छैन तर अव खतराको घण्टी बजेको चाहि पक्कै हो । तानसेन ४ की महिला, मदनपोखराकी महिला, दोभानकी महिला तिनै जना घरमा बस्दा आएका, सम्भावित जोखिम भएका ब्यक्तिहरुको सम्पर्कमा नगएका ब्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ । छिमेकी जिल्ला रुपन्देहीमा दैनिक ६० बढी मानिसहरुमा कोरोना देखिन थालेको छ । यी मध्ये धेरै समुदाय स्तरकै रहेका छन् ।

पाल्पामा भदौ ५ गतेदेखि पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । अघिल्ला लकडाउनको तुलनामा यस पटकको निषेधाज्ञामा अलि बढी कडाई देखिन्छ । यो निषेधाज्ञा भदौ १२ गतेसम्म जारी रहनेछ । तर अव यसरी कति दिन थुनिएर बस्ने, कतिसमयसम्म काम नगरी बाहिरै ननिस्की बस्ने भन्नेबारे पनि छलफल चल्न थालेको छ । अघिल्लो लकडाउनमा समय तोकिएर बैंक तथा बित्तिय क्षेत्र संचालन गरिएपनि यसपटक पुर्ण रुपमा बन्द छन् । जसका कारण आर्थिक कारोबार सुन्य प्राय नै छ । पाल्पामा समुदाय स्तरमा परीक्षणको दायरा एकदमै कम छ । जुन गतिमा कोरोना परीक्षण हुनुपर्ने हो त्यो हुनै सकेको छ ।

पाल्पामा संचालन गर्ने भनिएको कोरोना परीक्षण ल्याव निर्माण र सञ्चालनको प्रक्रिया निकै अल्छी गतिमा छ । सरकारले ल्याव संचालनका लागि केही दिन अघि १ करोड रुपैया“ बिनियोजन पनि गरेको छ । तर सरकारले निर्णय गरेको दुई महिना बितिसक्दा पनि अझैसम्म ल्याव संचालन हुन नसक्नु बिडम्बना हो । यदि पाल्पामै ल्याव संचालन गर्न सक्ने हो भने समुदाय स्तरमा पनि ठुलो संख्यामा कोरोना परीक्षण गर्न सक्ने अवस्था बन्थ्यो र बिस्तारै जनजीवन पहिले सरह बनाउने बातावरण मिल्न सक्थ्यो तर परीक्षण नहुँदा के छ के छ भनेर जनसमुदायमा त्रास पनि बढेको छ प्रशासनले पनि निषेधाज्ञा जारी गर्नुपरेको छ । यी समस्याहरुको समाधानका लागि पाल्पाको ल्याव छिटो भन्दा छिटो संचालनमा ल्याउनु आजको आवश्यकता हो । अहिले प्राप्त भएको रकमबाट मेसिन तथा अन्य सामाग्री खरिदका लागि प्रक्रियागत रुपमा जाने भने तिहारअघि पनि यो ल्याव संचालन हुने छाट देखिदैन । त्यसैले छोटो र छिटो प्रक्रियाबाट मेसिन ल्याउनेमा अवको छलफल हुनुपर्छ । नत्र त्यसै त्यसै दुई महिना बितिसकेको छ । अव प्रक्रियामै जादा अर्को दुई महिना स्वतः बित्छ । त्यसैले अव ल्यावलाई कसरी छिटो र सहज रुपमा संचालन गर्ने भन्नेबारे सरोकारवाला बीच छलफल हुनुपर्छ । यसर्थ अव यो वा त्यो बाहानमा समय टार्ने बेला होइन । तत्काल ल्याव संचालन गरि परीक्षण थालिनुपर्छ । यदि त्यसो गर्न सक्ने हो भने समुदाय स्तरको अवस्थाको मापन हुन सक्दछ ।

पाल्पा समाचारपत्र साप्ताहिकको बर्ष १० अंक १० को सम्पादकीय

 

 

Comments
Loading...