पाल्पामा कोरोना संक्रमणदर बढ्न थाल्यो, पुनः २७ जना थपिए

0 630

पाल्पा । पाल्पामा पनि कोरोना संक्रमणदर बढ्न थालेको छ । छिमेकी देश भारतमा अहिले कोरोना महामारीकै रुपमा फैलिरहेको अवस्थामा नेपालमा पनि यसको प्रभाव पर्न थालेको हो । जसको प्रभाव पाल्पामा पनि परेको छ ।

आइतवार मात्रै पाल्पामा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार तानसेनका १२ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत चैत ३० गतेदेखि वैशाख ५ गतेसम्म गरिएको परीक्षणमा १७ जना पुरुष र १० जना महिला गरी २७ जनामा कोरोना पुष्टि भएको बताइएको छ । जम्मा १ सय ९ जनाको पिसिआर परीक्षण गरिएकोमा २७ जनामा संक्रमण देखिएको उनले बताए ।

कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका १२ जना, माथागढी गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका ३, रिब्दीकोट गाउँपालिकाका ३ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका ३ जना, बगनासकाली र तिनाउँका १,१ जना रहेको पन्थीले बताए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २ हजार ३६ पुगेको छ । जसमा ५ सय ९० जना महिला र १ हजार ४ सय ४६ जना पुरुष रहेका छन् । कोरोनाका कारण अहिलेसम्म पाल्पामा ३८ जनाको मृत्यु भएको छ ।

Comments
Loading...