पाल्पामा जिल्ला समन्वय समिति एमालेकै बन्ने, को बन्ला प्रमुख उपप्रमुख ?

0 1,864

पाल्पा । पाल्पाको जिल्ला समन्वय समिति नेकपा एमालेकै बन्ने भएको छ । १० स्थानीय तह रहेको पाल्पामा यसअघि ९ स्थानीय तहको मतगणना हुँदासम्म अध्यक्ष र उपाध्यक्षको संख्या बराबरी अर्थात नौ, नौ थियो । हिजो राति मात्रै गणना सकिएको रम्भा गाउँपालिकामा पनि एमालेले नै अध्यक्ष उपाध्यक्ष जितेपछि समन्वय समिति एमालेकै पोल्टामा परेको हो ।

रम्भाको अन्तिम मतपरिणाम आएसँगै जिल्ला समन्वय समिति एमालेकै बन्ने एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो । यसअघिको परिणाम अनुसार एमालेको ९, गठबन्धनकातर्फबाट कांग्रेसको ७ र माओवादी केन्द्रको २ थियो । माओवादी केन्द्रको तीन हुनुपर्नेमा तानसेन नगरपालिकाकी उपप्रमुखमा रुख चिह्नबाट लिएर उठ्नुभएको थियो ।

नेकपा एमालेले निस्दी, पूर्वखोला, माथागढी, बगनासकालीमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । एमालेले तिनाउँमा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले रामपुर नगपालिका, तानसेन नगरपालिका , रैनादेवीमा अध्यक्ष, रिब्दीकोट र तिनाउँमा उपाध्यक्ष जितेको छ । पछिल्लो पटक मतगणना भएको रम्भामा एमालेले अध्यक्ष उपाध्यक्ष जितेको छ । यसरी हेर्दा एमालेको ११ र गठबन्धनको ९ मत भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले शपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरु बताइएको छ । अन्य पालिकामा सपथ भइसकेको छ भने रम्भामा बाँकी छ । जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख सहित ९ सदस्यीय हुनेछ ।

एमालेले जिसस प्रमुखमा रामपुर नगरपालिका–१०, गेझाका टंक खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा भने दुई जनाको नाम चर्चामा छ । तानसेन नगरपालिका–१४, अर्गलीकी बसन्ता ज्ञवाली र तानसेन नगरपालिका–९, की काशिका गैरेको नाम उपप्रमुखमा चर्चामा छ । एमाले नेताहरुले भने छलफल चलिरहेको र यसलाई बनाउने भन्ने बिषयमा कुनै निर्णय भइनसकेको जनाएका छन् ।

Comments
Loading...