पाल्पामा दुरी कायम गरेर खानेपानी आयोजनाको काम सुरु

0 248

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउपालिका वडा नं २ फोक्सिङ्गकोटमा लिफ्टिङ्ग खानेपानी आयोजना पुनः सुचारु गरिएको छ ।

फोक्सिङ्गकोटको कोटथर गाउमा कयन–रानीबास–रानीबास कोटथर खानेपानी आयोजना पुनः सुचारु गरिएको हो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा आयोजनाको पाईप बिच्छाउने, पाईप पुर्ने, टंकी निर्माण गर्ने, वितरण प्रणालीको पाईप खन्ने जस्ता काम रोकिएको थियो । रम्भा गाउ‘पालिका २ नं वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय जनप्रतिनिधिको समन्वयमा बुटवलबाट पाईप तथा अन्य आवश्यक सामाग्री ल्याई निर्माण कार्य थालनी गरिएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र पाडे मगरले बताए । अहिले गाउँकै स्थानीय कामदारबाट भौतिक दुरी कायम गरि पानी संकलन गर्ने टंक निर्माण भई रहेको अध्यक्ष पाडे मगरले बताए ।

रम्भा गाउँपालिकाको एक घर एक धारा नीति अनुरुप रम्भा गाउँपालिकाले ९ लाख रुपिया रकम विनियोजन गरि कार्य अगाडि बढाएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । आयोजना सम्पन्न गर्न रकम अभाव भएमा गाउँपालिकाले वैकल्पिक उपायहरु अपनाएर भए पनि आयोजना पूरा गरिने उनले बताए । आयोजना सम्पन्न गर्न वडा कार्यलयबाट आवश्यक सहयोग र समन्वय गरिएको वडा अध्यक्ष उमानसिं सारुले बताए । आयोजना पुरा भएपछि फोक्सिङ्गकोट वडा कार्यालय तथा कोटथर गाउँका ५९ घरधुरीका ५०० बढी जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

फोक्सिङ्गकोटको अधिकांश बस्ती माथि र पानीको मुहान तल भएकोले लिफ्टिङ्ग गरि पानी फालिएको छ । कोटथर गाउँमा पानी लैजान रानीबासको लिफ्टििङ्ग पानीलाई ७२ मिटर उचाई र ७७० मिटर टाढा रहेको कोटथरको भूयारथान सम्म पानी फालिने योजना रहेको छ । २० हजार लिटर क्षमताको टंकी निर्माण भए पछि पानी वितरणमा सजिलो हुनेछ । टंकी निर्माण, पाईप लाईन विस्तार र वितरण लाईन विस्तार भई सकेको र मशिन ल्याउने तयारी गरेको स्थानीय नरबहादुर पाडेले बताउनु भयो । योजना सम्पन्न गर्न रकम अपुग भएकोले स्थानीय वासीले ४ लाख बढी रकम संकलन गरेका छन् ।

Comments
Loading...