पाल्पामा निर्वाचन तयारी तीव्र, मतपत्र पनि आइसक्यो

0 258

पाल्पा । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा तयारी तीव्र रुपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागि २ लाख २० हजार मतपत्र बैशाख १९ गते मुख्य निर्वाचन कार्यालयमा आइपुगेको छ । भैरहवासम्म काठ्माण्डौबाट मतपत्र ल्याएको र भैरहवाबाट पाल्पा सम्म नेपाली सेनाले स्कटिङ गरि पाल्पा सम्म ल्याएको जिल्ला निर्वाचन अधिकारी रुकमागत अर्यालले बताउनुभयो ।

बैशाख २० गतेबाटै जिल्ला मतदान केन्द्रमा रहने मतदाता संख्याको आधारमा मतपत्र शिलबन्दी गर्ने काम जारी रहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई यही बैशाख २३ गते तालिमको आयोजना गरिएको र तालिम पश्चात दुरी टाढा हुनेहरुका लागि बैशाख २५ गते र नजिक रहनेहरुका लागि बैशाख २६ गते मतपत्र सहित मतदान सम्पन्न गर्नका लागि आवश्यक सामाग्रीहरु दिई पठाइने मुख्य निर्वाचन अधिकृत खड्क बहादुर केसीले बताउनुभयो ।

सबै टोली बैशाख २७ गते नै मतदान केन्द्रमा पुग्ने र २८ र २९ गते नयाँ मतदाता परिचय पत्र बितरण, निर्वाचनस्थलको बुथ निर्माण, स्थानीय सर्बदलीय समितिको बैठक लगायतका तयारीहरु गर्ने उहाँले बताउनुभयो ।  २ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पा जिल्लामा जम्मा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् । निर्वाचनका लागि पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र निर्धारण भएको छ । पाल्पाका १० स्थानीय तहमा ९६ हजार ९ सय ८० पुरुष र १ लाख ३ हजार १० जना महिला मतदाता रहेका छन् । जिल्लाका पालिकाहरु मध्ये सबै भन्दा धेरै मतदाता तानसेन नगरपालिकामा र सबै भन्दा थोरै पूर्वखोला गाउँपालिकामा रहेका छन् । तानसेन नगरपालिकामा ३३ हजार ७ सय ६९ मतदाता रहेका छन् । जसमा १६ हजार २८ पुरुष र १७ हजार ७ सय ४१ महिला मतदाता छन् । त्यस्तै पूर्वखोलामा १३ हजार ६ सय ९८ मतदाता कायम भएको छ । जसमा ६ हजार ५ सय २९ पुरुष र ७ हजार १ सय ६९ महिला रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।

तिनाउ गाउँपालिकामा १४ हजार ३ सय ८६ मतदाता रहेका छन् । जसमा ७ हजार २ सय ४५ पुरुष, ७ हजार १ सय ४१ महिला छन् । निस्दी गाउँपालिकामा १५ हजार ८५ मतदाता छन् । जसमा ७ हजार ४ सय ९६ पुरुष र ७ हजार ५ सय ८९ महिला छन् । बगनासकाली गाउँपालिकामा १९ हजार ८ सय ३९ कुल् मतदाता छन् । जसमा ९ हजार ५ सय ५ पुरुष र १० हजार ३ सय ३४ महिला छन् । माथागढी गाउँपालिकामा १९ हजार ३ सय ४७ मतदाता रहेका छन् । जसमा ९ हजार ४ सय ८० पुरुष र ९ हजार ८ सय ६७ महिला छन् । यस्तै रम्भा गाउँपालिकामा १७ हजार ६ सय ६३ मतदाता छन् । जसमा ८ हजार ४ सय ८७ पुरुष र ९ हजार १ सय ७६ महिला रहेका छन् । रिब्दीकोट गाउँपालिकामा १६ हजार ३ सय ९५ मतदादा छन् । जसमा ८ हजार ११ पुरुष र ८ हजार ३ सय ८४ महिला छन् । रैनादेवी छहरा गाउँपालिकामा १० हजार १ सय ३७ पुरुष र १० हजार ३ सय ४ महिला गरी २० हजार ४ सय ४१ जना मतदाता कायम भएको छ । उता रामपुर नगरपालिकामा २९ हजार ६७ जना मतदाता रहेका छन् । जसमा १३ हजार ७ सय ६२ पुरुष र १५ हजार ३ सय ५ महिला छन् ।

Comments
Loading...