पाल्पा अर्गलीका जनप्रतिनिधिको दुई महिनाको सेवा सुविधा राहत कोषमा

0 310

पाल्पा । तानसेन नगरपालिका वडा नं. १४ अर्गलीका जनप्रतिनिधिले आफुहरुको दुई महिनाको सेवा सुविधा राहत कोष स्थापना गरि सोही कोषमा राख्ने घोषणा गरेका छन् । जनप्रतिनिधिको रुपमा आफूहरूले पाउने सेवा सुविधा वापतको दुई महिनाको रकम राहत कोषमा जम्मा गर्ने वडाध्यक्ष शोभाखर भट्टराईले बताउनुभयो ।

वडा अध्यक्ष र अन्उ चार जना सदस्यले पाउने सेवा सुविधा वापतको दुई महिनाको सुविधा रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । राहत कोषबाट वडा भित्रका जनतालाई आइपर्ने विपतमा सहयोग गरिने उहाँले बताउनुभयो । आगलागी, बाढी, पहिरो, प्रारम्भिक उपचारमा समस्या भएका विपन्न परिवार, अपाङ्ग भएर पनि प्रक्रिया नपुगी सरकारबाट सेवा सुविधा नपाएका व्यक्तिलाई यो कोषबाट सहयोग गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

अहिले सानो रकम भएपनि क्रमशः यसलाई बृद्धि गर्दै लगिने उहाँले बताउनुभयो । आपतमा परेका यहाँका जनतालाई प्रारम्भिक सहयोग गर्ने सोच रहेको र मन भएका दाताहरूले सहयोग रकम उपलब्ध गराउन सक्ने उहाँले बताउनुभयो । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा यहाँ नेकपा एमालेले बिजयी हासिल गरेको थियो ।

Comments
Loading...