पाल्पा आर्युवेद स्वास्थ्य केन्द्र प्रदेशकै दोस्रो, अझ राम्रो बनाउने प्रतिबद्धता

0 332

पाल्पा । आर्युवेद स्वास्थ्य केन्द्र र मातहतमा रहेका आर्युवेद औषधालयहरुको समन्वयात्मक समिक्षा गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।
समिक्षा गोष्ठीमा जिल्लामा रही केन्द्रले गत आर्थिक बर्षहरुमा सञ्चालन गरेका कार्यक्रम र उपलब्धीहरुको बारेमा केन्द्रका निमित्त प्रमुख माधव प्रसाद बस्यालले प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्लाभर गत आर्थिक बर्षमा ४१ हजार ९ सय ९३ जनाले आर्युवेद सेवा लिएको उहाँले जानकारी गराउनुभयो ।

हाल केन्द्रमा ल्याव सेवा पनि सञ्चालन गरिएको र एक बर्षको अवधिमा ३ सय १९ जनाले ल्याव सेवा लिएको, रम्भा गाउँपालिकामा स्थानीय सरकारकै साधनस्रोतबाट आर्युवेद सेवा प्रदान गरिएको, सबै औषधालय प्रमुखहरुको समवन्यात्मक बैठक नियमित रुपमा हुने गरेको, कोरोनाको समयमा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुलाई रोगप्रतिरोधी क्षमता र आर्युवेदिक औषधीहरुको बारेमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

जिल्लाका बिभिन्न माध्यमिक बिद्यालयका शिक्षकहरुलाई आर्युवेद सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइएको र शिक्षकहरुले बिद्यार्थीहरुलाई प्रशिक्षण दिई बिद्यार्थीहरु मार्फत आर्युवेद शिक्षालाई घर घरमा पुर्याइएको उहाँले बताउनुभयो । जिल्लाभरको सूचना ब्यवस्थापन प्रणाली अनलाइनमा राखिएको समेत बस्यालले बताउनुभयो । जिल्ला र आर्युवेद औषधालयहरु मार्फत दिइएको सेवा, समयमा भएको रिपोेटिङ लगायतको मुल्यांकनका आधारमा पाल्पा आर्युवेद स्वास्थ्य केन्द्र हालै लुम्बिनी सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेशकै उत्कृष्ट दोस्रो केन्द्रको रुपमा पुरस्कृत समेत भएको बस्यालले बताउनुभयो ।

कार्यक्रममा रिब्दीकोट आर्युवेद स्वास्थ्य केन्द्रका औषधालय प्रमुख डा.रोमहर्ष नेपाल, छहरा आर्युवेद औषधालयका प्रमुख पंकज रायमाझी, चिदीपानी आर्युवेद औषधालयका प्रमुख अमृत भण्डारी, रामपुर आर्युवेद औषधालयका प्रमुख चेमनप्रकाश पोखरेल, बीरकोट आर्युवेद औषधालयका प्रमुख दिनेशकुमार कहर, बरांगदी आर्युवेद औषधालयका प्रमुख सृजना केसीले औषधालय मार्फत भएका सेवा र प्रभावकारीताबारे बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतकर्ताहरुले यस बर्ष प्रदेशकै दोस्रो भएको केन्द्रलाई आगामी बर्षहरुमा अझ खटिएर सेवा प्रवाह गरि पाल्पालाई नमुना जिल्लाको रुपमा बिकास गराउने बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की र रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले आआफ्ना पालिकाहरुमा रहेका आर्युवेद औषधालयहरुका प्रगति प्रतिबेदन बारे जानकारी लिदै आर्युवेद सेवालाई अझ प्रभावकारी बनाई अगाडि बढाउन पालिकाको तर्फबाट पुर्ण सहयोग रहने बताउनुभयो । कार्यक्रममा केन्द्रका निमित्त प्रमुख जीवन बस्यालले केन्द्र र मातहतका औषधालयहरुमा सरकारले तोके बमोजिमका सेवा र औषधीहरु उपलब्ध रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले आर्युवेदप्रति मानिसहरुको आषर्कण बढिरहेको र अझ प्रचारप्रसारका अभियानहरु सहित आर्युवेदिक उपचार र फाइदाबारे सर्वसाधारणहरुलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पाल्पा आर्युवेद स्वास्थ्य केन्द्रका सञ्चालक समितिका अध्यक्ष दिवाकर अर्यालले आर्युवेद स्वास्थ्य केन्द्रलाई चिकित्सालयको रुपमा बिकास गरिनुपर्ने र त्यसो भयो भने मात्रै आर्युवेद क्षेत्रको हव बनाउन सकिने बताउनुभयो । उहाँले केन्द्र र औषधालयहरुमार्फत भएका सेवा प्रभावकारिता र भए गरेका समस्याहरुबारे सरोकारवालाहरुलाई समेत अवगत गराउने गरि यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । केन्द्रकी बैद्य निरीक्षक सरिता केसीको स्वागत र बैद्य निरीक्षक यज्ञप्रसाद गैरेको संचालनमा कार्यक्रम चलेको थियो ।

प्रदेशबाट केन्द्र दोस्रो भएकोमा सम्मान ग्रहण गर्दै केन्द्रका निमित्त प्रमुख माधव प्रसाद बस्याल र सम्मानपत्र

Comments
Loading...