पाल्पा पहिरो अपडेटः गर्भवती महिलाको ज्यान गयो, अझै ५ जना बेपत्ता

0 2,171

पाल्पा । पाल्पामा पहिरोले पुरिएर बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडाकी २७ वर्षीया मोतिसरा गाहाको शव फेला परेको छ ।

उनी गर्भवती समेत रहेकी थिइन् । प्रहरीका अनुसार सोही वडाको बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ । पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका छन् । यो समाचार तयार पार्दासम्म उनीहरुको खोजी कार्य जारी रहेको छ ।
बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन् । तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा उनीहरू पुरिएका हुन् ।

अहिले घटना स्थलमा सुरक्षाकर्मी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न र उद्धारमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । बाटो परै अवरुद्ध रहेकोले सुरक्षाकर्मीका गाडी समेत पुग्न सकेको छैन । बाटोमा डोजर परिचालन गरेर थप सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको भण्डारीले बताए ।

Comments
Loading...