पाल्पा सत्यवतीमा चिच्याएर बर माग्नेहरुको घुइचो

0 2,282

पाल्पा । पाल्पा सत्यवती मन्दिरमा चिच्याएर बर माग्ने मेला भव्य रुपमा चल्दै आएको छ । कात्तिक १८ गतेदेखि २२ गतेसम्म चल्नेछ । यहाँ पुग्ने दशनार्थीहरु उल्लेख्य रहेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पुजा गर्न आउनेको घुइचो लाग्दछ ।

खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेला परिचित छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन् भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ ।
किंवदन्ती अनुसार वर्षौ पहिले एक जना स्थानीय केटो सोही सत्यवती ताल वरपर खेल्दै रहेछ । बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भइछन् । एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटो डराएछ र अत्तालिएछ । पछि सत्यवती बज्यैले केटोलाई नआत्तनु भन्दै अगाडि भनिछिन् “म सत्यवती बज्यै हुँ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउँनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”

पछि सोही केटोले सत्यवती बज्यैसँगको भेटको कुरा घरमा पुगेर बेलीबिस्तार लगाएछ र लगत्तै उक्त केटोको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन सोही स्थानमा मेला लाग्दै आएको छ । खासगरि पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरुले खुशीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नयाँ बर माग्नेहरुले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ । तस्बिरः फाइल

Comments
Loading...