पुष्पलालःजीवन र योगदान

0 494

गोपालप्रसाद वश्याल
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ रामेछापको भँगेरेमा आमा तुलसीमाया र बाबु भक्तलालका माहिला सन्तानका रुपमा १४ असार १९८१ मा जन्मनु भएको हो । उहाँको परीवार राजनैतिक चेतनाले भरिएको थियो । दाजु शहिद गंगालाल श्रेष्ठ नेपालमा चलिरहेको निरङ्कुस राणा शासनको अन्त्यका लागि लागेका हुनाले १५ कार्तिक १९९७ मा मारिनु भयो । दाजुले मृत्युदण्ड भोग्नु अघि “माहिला, हामीले बालेको प्रजातन्त्रको ज्वाला तिमीले सम्हाल्नु” भन्नुभएकोले पुष्पलाललाई राजनीतिमा अग्रसर हुन अझ बढी प्रेरणा प्राप्त भयो ।

राणाहरूको क्रुर निरङ्कुशतालाई नजिकबाट ब्यहोरेका पुष्पलाल नागरिकको मुक्तिका लागि सक्रिय हुनु भयो । उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर ब्यक्तित्व विश्वेश्वर प्रसाद कोइराला नेतृत्वको नेपाली राष्ट्रिय काँग्रेस पार्टीमा रहेर वनारसमा कार्यालय सचिवका रुपमा कार्यसमेत गर्नुभएको थियो । तर त्यसबाटोबाट नेपालीको सच्चा मुक्तिको सम्भावना नदेखेर कम्युनिष्ट पार्टीतिर आकर्षित हुनु भयो । पुष्पलालको १२ बैशाख २००६ मा प्रकाशित पहिलो पर्चामा भनिएको छ “राणा शासनको अन्त्यमात्र नेपाली जनताको वास्तविक मुक्ति सम्भव छैन । यसका लागि पूरै सामन्तवादी पद्धति जुन अमेरिकी साम्राज्यवादमा आधारित छ त्यसमाथि आक्रमण गर्नुपर्दछ ।” यसै बृहत चेतनाकासाथ २२ अप्रिल १९४९ (८ बैशाख २००६) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरियो । पुष्पलाल श्रेष्ठसहित निरञ्जन गोविन्द बैद्य, नर बहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठ र नारायण विलास जोसी संस्थापक सदस्य हुनुहुन्थ्यो ।

पुष्पलालमा साम्यवादी र प्रजातान्त्रिक दुवै धारको पूर्ण ज्ञान हुनुको साथै नेपाली राजनीतिको निकासको लागि सही मार्ग पहिल्याउनु भएको थियो । पुष्पलालले कम्युनिष्ट मेनिफेस्टोको नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्नुभयो जुन नेपाली भाषामा प्रकाशित पहिलो कम्युनिष्ट विचारमूलक दस्तावेज थियो । यसले पुष्पलाल अध्ययनशील हुनुहुन्थ्यो भन्ने पुष्टि गर्दछ । पार्टीको २००८ मा कलकत्तामा सम्पन्न पहिलो महाधिवेशनमा पुष्पलालले प्रस्तुत गर्नुभएको “प्रजातन्त्रका लागि नेपाली जनताको बाटो” नामक कार्यपत्र अहिले पनि सार्थक छ जसमा वास्तविक मुक्तिका लागि बाम–प्रजातान्त्रिक एकताको आवश्यकता औंल्याइएको छ । नेपालमा राणा शासनको अन्त्य भए पनि छिट्टै निर्दलीय पञ्चायती ब्यवस्थाको माध्यमबाट राजाको निरङ्कुशता लादियो । विडम्बना मान्नु पर्दछ कि कम्युनिष्ट पार्टीमा पनि केशरजंग रायमाझीजस्ता राजावादी महासचिव भए । यसले गर्दा कम्युनिष्ट पार्टी विभाजन हुन पुग्यो ।

खासगरी विदेशी र नेपालकै एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई र अर्को पार्टीलाई हेर्ने दृष्टिकोणमा हुने भिन्नताका कारण विभाजित हुन पुगे । त्यसैगरी विभाजन गर र शासन गरको रणनीति पनि हुनसक्छ दलहरू विभाजित हुन पुगे । पार्टीभित्रै र नेपाली काँग्रेससँगको दूरीका कारण पुष्पलालले चाहेको क्रान्ति र नेपाली जनताको मुक्ति हुन सकेन । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइरालाले भन्नुभएको रहेछ “यदि पुष्पलालले संसदीय ब्यवस्था स्वीकार गर्छन् भने मलाई उनको आर्थिक नीति स्वीकार गर्न कुनै समस्या छैन ।” यसरी नेपालमा नेपाली काँग्रेस र कम्युनिष्टहरू एकैठाउँमा हुन सकेका थिएनन् । तर नेपाली काँग्रेस र कम्युनिष्टहरूको संयुक्त बाम मोर्चाको संयुक्त आन्दोलनपछि मात्र वि. सं. २०४६ मा निर्दलीय पचायती ब्यवस्थाको अन्त्य भयो ।

देशमा राजासहितको बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसैगरी माओवादी आन्दोलनको विसर्जनसमेत वि. सं. २०६२ मा संसदीय दलहरू र जनयुद्धमा होमिएको नेकपा माओवादीको संयुक्त आन्दोलन र १२ बुँदै सहमतिबाट हुनपुग्यो । यसपटक निरङ्कुश राजतन्त्रकोसमेत अन्त्य गरियो । जननेता मदन भण्डारीले भनेजस्तै राजाले आँखा झिम्क्याए । राजाले बढी शक्ति लिन खोजे । संसदीय दलहरूसमेतलाई दमन गरे । फलस्वरूप संसदीय दलहरू र माओवादीविच सहमतिको बिन्दु फेला प¥यो । गणतन्त्रात्मक समाजवाद उन्मुख प्रजातान्त्रिक संसदीय संघीय शासन पद्धति नेपालमा स्थापित भयो । यी घटनाक्रमसँग पुष्पलालका विचारलाई तुलना गर्दा उहाँ दूरदृष्टिसहितको भिजिनरी नेता हुनुहुन्थ्यो भन्न सकिन्छ । पुष्पलालको अन्तराष्ट्रिय छवि थियो । भनिन्छ रिम गठनका सन्दर्भमा फ्रेञ्च नेताले पुष्पलाललाई भेटे ।

ती नेताले नेपाली काँग्रेस र राजालाई एउटै प्रकारको दुश्मन माने तर पुष्पलाल तयार हुनु भएन । उनले राजा स्वीकार गर्न सक्नु भएन । सायद राजतन्त्रलाई प्रमुख दुश्मन मानेकै कारण पुष्पलालको शवसमेत नेपाल ल्याउन दिइएन । गोविन्द बल्लभ पन्त अस्पताल, नयाँ दिल्लीमा साउन ७, २०३९ मा पुष्पलालको मृत्यु भयो । उहाँका धर्मपत्नी साहना प्रधानको संयोजकत्वमा २०४६ सालमा बाममोर्चा र नेपाली काँग्रेस मिलेर बहुदलीय ब्यवस्था आयो भने २०६२।०६३ को आन्दोलनपछि पनि यहाँको संसदीय दलहरू र माओवादी मिलेर गणतन्त्र स्थापना भयो । तर पुष्पलालले रोजेको समाजवादी अर्थतन्त्रको बहाली भने भैसकेको छैन । राजनैतिक अभ्याससँगै आर्थिक समृद्धिको यात्रा गर्न सकियो भने पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।

Comments
Loading...