फोक्सिङ्गकोटमा राष्ट्रिय परिचय पत्र विवरण संकलन शुरु

0 188

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा राष्ट्रिय परिचय पत्र बनाउनको लागि विवरण संकलन शुरु भएको छ । वडा नं. २ वडा कार्यालयमा संचालन गरिएको विवरण संकलन शिविरमा ३ जना संकलक खटिएको विवरण संकलक सुजन सेनले बताए ।

विवरण संकलन कार्यमा अनिवार्य रुपमा नेपाली नागरिकता प्रमाणपत्रको सक्कली प्रतिका साथै विवाह दर्ता प्रमाण पत्र लगायतका पहिचान खुल्ने परिचय पत्र अनिवार्य चाहिने वडा सचिव धनकुमारी सारुले बताउनु भयो । राष्ट्रिय परिचय पत्रको लागि दिइने निवेदनमा राष्ट्रिय परिचय पत्र नम्बर, आवेदकको विवरण, ठेगाना, आमाबुबोका विवरण, हजुरबुबा हजुरआमाको विवरणका साथै पति वा पत्निको विवरण भर्नु पर्ने प्रावधान रहेको छ ।

आवेदकको औंठा छाप, आखाको नानी, दस्तखत जस्ता महत्वपूर्ण विवरण समेत संकलन गरिने भएकोले विवरण संकलन कार्य ढिलो हुने वडा अध्यक्ष उमानसिं सारुले बताउनु भयो । एक जना विवरण संकलकले एक दिनमा ४० जना सम्म सेवाग्राहीको विवरण संकलन गरि कम्प्युटरमा इन्ट्री गर्न सकिने संकलक सुजन सेनले बताए । फोक्सिङ्गकोटको वडा कार्यालय भवन, मंगलादेवी प्राथमिक विद्यालय तथा महेन्द्र आधारभुत विद्यालयमा संकलन शिविर संचालन गरिने कार्यक्रम तय गरिएको वडा सचिव धनकुमारी सारुले बताए । बिहीवार रानीबासका सेवाग्राहीको विवरण संकलन गरेपनि सेवाग्राहीको अत्यधिक चापको कारण संकलन कार्य सम्पन्न हुन सकेन ।

Comments
Loading...