बगनासकालीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको बिदाई

0 398

पाल्पा । बिगत २५ महिनादेखि बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुन्दर प्रसाद श्रेष्ठको एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

श्रेष्ठको हालै तिनाउँ गाउँपालिका पाल्पामै सरुवा भएको हो । बगनासकाली गाउँपालिकाले बिहीवार एक कार्यक्रमका बीच अधिकृत श्रेष्ठलाई बिदाई गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी सहित बिभिन्न सरोकारवाला ब्यक्तिहरुको सहभागितामा गरिएको बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले श्रेष्ठको कार्यकालमा आफुहरु बिच कहिल्यै कुरा नमिलेर मनमुटाव नभएको र सौहार्द बातावरणमा काम हुँदै आएको बताए । “यो अवधिमा यो काम हाकिमले गरेनन् भनेर कुनै पनि गुनासो मेरो टेवुलमा आएन ।” उनले भने । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले श्रेष्ठको कार्यकालमा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधि बीच सौहार्द बातावरणमा दुई पक्षीय छलफलबाटै प्रशासकीय तथा बिकास योजनाका काम भएको बताइन् । गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी लगायतले बोल्दै कर्मचारीहरु आउने जाने एउटा सामान्य प्रक्रिया भएपनि श्रेष्ठको सफल कार्यकालका कारण आफुहरु प्रभावित भएको बताए ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफ्नो बगनासकाली बसाईको अवधिले आफुले सक्दो सरल रुपमा सेवाग्राहीको कार्य गर्दै आएको र बगनासकाली बसाई सधै स्मरणीय रहने बताए । सहयोगी जनप्रतिनिधि र मिलनसार कर्मचारीहरुको सही समन्वयमा रचनात्मक कामहरु हुन सकेको उनले बताए ।

श्रेष्ठले यसअघि सुनवल सहित अन्य स्थानीय तहमा समेत प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिसकेका छन् । अन्य पालिकाको सिकाईलाई बगनासकालीमा उनले उतारेका थिए । उनको कार्यकाल अवधिमा पुर्ण संस्थागत सुत्केरी पालिका सहित अन्य महत्वपुर्ण घोषणा भए । त्यस्तै पालिकालाई पुर्ण बालमैत्री घोषणा गर्नका लागि अन्तिम तयारी भएपनि कोभिडका कारण सम्भव भएन ।

पत्रकार समूहले पनि गर्यो बिदाई
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई बगनासकाली गाउँपालिकामा रहेको बगनासकाली समूहले पनि सम्मानपत्र सहित सम्मान तथा बिदाई गरेको छ । सो अवसरमा बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगानाले बगनासकाली पत्रकार समुहलाई संस्थागत गर्दै आमसञ्चारमैत्री पालिका बनाउने कार्यमा श्रेष्ठको भूमिका महत्वपुर्ण रहेको बताए ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी दर्लामी, प्रवक्ता लक्ष्मी अधिकारी, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमुर्ति तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बगनासकाली गाउँपालिकामा आफु रहँदा सञ्चार क्षेत्रबाट आएको सुझाव सल्लाह र सहयोग सधै स्मरणीय रहने बताए ।

Comments
Loading...