बगनासकालीका सबै करार कर्मचारीको ३ महिनाका लागि म्याद थप

0 426

पाल्पा । जिल्लाका केही पालिकाहरुले करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेका बेला बगनासकाली गाउँपालिकाले भने गाउँपालिका अन्र्तगत रहेका सबै करार कर्मचारीहरुको असोज मसान्त सम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यपालिका बैठकले पालिका, वडा, कृषि, पशुशाखा, स्वास्थ्य, आयुर्वेद लगायतको करार कर्मचारीलाई २०७९ असोज मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले बताउनुभयो । बगनासकाली गाउँपालिका भित्र १ सय जना बढी करारका कर्मचारीहरु रहेका छन् ।

कार्यपालिका बैठकले यस पालिका भित्रका सम्पूर्ण मोटर बाटोलाई बर्षामा पहिरोको कारण अवरुद्ध बाटो सम्बन्धित वडाद्वारा तुरुन्तै सुचारु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । पानी पर्दा पहिरो गई एम्बुलेन्स पनि आवत जावत गर्न समस्या हुने भएकोले पहिरोबाट बाटो अवरुद्ध हुनसाथ तत्काल बाटो खुलाइने गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

बैठकले यस पालिकाको विकास निर्माण र जनताले समयमै पालिका र वडाको कार्यक्रमको जानकारी प्राप्त गर्नको लागि हरेक साविक वडामा टोल विकास समिति भाद्र १० गते सम्म गठन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

Comments
Loading...