बगनासकालीमा घरमै स्वाब संकलन, अक्सिजन किन्नेदेखि कोरोना अस्पताल बनाउने निर्णय

0 352

पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाको सोमबार कार्यपालिका बैठक बिभिन्न निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी दर्लामीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी नियन्त्रणको लागि मंगलबारबाट गाउँपालिका भित्रका सबै शैक्षिकसंस्थाहरु बैशाख २० गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

वैठकले भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए । उनीहरुको आफु बसेकै घरघरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था बगनासकाली गाउपालिकाले गर्ने निर्णय भएको उनले बताए ।

त्यसैगरी बगनासकाली गाउँपालिकाले तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने पनि निर्णय भएको छ । सोमबार गाउँपालिकामा बसेको कार्यपालिका बैठकले अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पु¥याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यसैगरी घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने र आर्थिक विपन्नहरुलाई कोरोना अस्पतालमा लागेको खर्च समेत बगनासकाली गाउँपालिकाले नै वेहोर्ने पनि निर्णय भएको छ । साथै गाउँपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र सास्कृतिक कृयाकलाप नगर्न समेत अनुरोध गरिएको छ ।

बगनासकाली गाउँपालिकालाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट सहयोगको अपिल समेत गर्ने निर्णय भएको प्रवक्ता अधिकारीले बताए ।साथै कोरोना संक्रमणमा जुधिरहेका गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहित बगनासकालीका नागरिकहरुको स्वास्थ्य लाभको कामना गरिएको समेत उनले बताए ।

Comments
Loading...