बगनासकालीमा घर्तीको स्वागत, घिमिरेको बिदाई

0 1,949

पाल्पा । बगनासकाली गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिष्णु घर्ती आएका छन् । यसअघिका प्रशासकीय अधिकृत सुरेश घिमिरेको सरुवा भएपछि घर्ती आएका हुन् ।

घिमिरे प्रधानमन्त्री कार्यालयमा सरुवा भएका हुन् । यसअघि गुल्मीको इस्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका बिष्णु घर्तीलाई बगनासकाली गाउँपालिकामा एक कार्यक्रमका बीच स्वागत गरिएको छ भने घिमिरेलाई बिदाई गरिएको छ ।

विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले प्रमुख प्रशासकीय अधिकृतको रुपमा घिमिरेले राम्रो भुमिका गरेको बताए । उपाध्यक्ष सरस्वती चिदी दर्लामी, शिक्षा शाखा प्रमुख गुनाराम खनालले बगनासकालीमा जस्तै नयाँ कार्यक्षेत्रका थप सफलताको शुभकामना व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गाउँपालिकामा आउँदा जनप्रतिनिधि र कर्मचारीको समन्वयले आफूलाई थप परिपक्व बनाएको भन्दै सवैको समान सहयोग मिलेको कारण कार्यसम्पादनका क्रममा कुनै गुनासो गर्नुपर्ने अवस्था नआएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत घिमिरे र खानेपानी टेक्नीसियन अमित लोहागुनलाई मायाको चिनो सहित विदाइ गरिएको थियो । गाउँपालिका प्रवक्ता, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, न्यायिक समिति सदस्य, गाउँपालिकाका कर्मचारीको उपस्थितिमा भएको विदाइ कार्यक्रमको सञ्चालन एम.आइ.एस. अपरेटर भोजराज भट्टराइले गरेका थिए ।

यसैबीच बिहिबार नयाँ प्रमुख प्रशासकीय अधिकतृ विष्णु घर्तीलाई गाउँपालिकामा स्वागत गरिएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट आएका घर्तीलाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदीले पाल्पाली टोपी, खादा, अविर र फूलसहित स्वागत गरे । सो अवसरमा बोल्दै अध्यक्ष बस्यालले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सवै जनप्रतिनिधिले कार्यसम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाए । प्रमुख प्रशासकीय अधिकृत घर्तीले आफूले आफ्नो अनुभव र क्षमतालाई सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले कार्यसम्पादन समुहमा सहज हुने भन्दै कर्मचारी र जनप्रतिनिधिहरूबीच निरन्तर सहयोग अनुभव आदानप्रदान हुनुपर्नेमा बताए ।

इस्मामा छोटो समय बसेका घर्तीले छोटो समयमै राम्रो र प्रभावकारी कार्यसम्पादन गरेको इस्माबाट बिदाई भएपछि सामाजिक सञ्जाल मार्फत जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरोकारवालाहरुले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन् । घर्ती केही बर्षअघि जिल्ला प्रशासन कार्यालय पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रही रचनात्मक काम गरेका थिए । कर्मचारीको तर्फबाट कार्यसम्पादनमा सहजता ल्याउने शिक्षा शाखा प्रमुख गुनाराम खनालले प्रतिवद्धता जनाए । कार्यक्रमको सञ्चालन आलेप शाखा अधिकृत यादव न्यौपानेले गरेका थिए ।
–भोजराज भट्टराईको सहयोगमा

Comments
Loading...