बगनासकालीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0 222

पाल्पा । बगनासकाली गाउँपालिकाले प्रदान गर्दै आएको सेवा तथा बिभिन्न विकास योजनाका बिषयमा रही सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकले छनौट र असल छिमेकी नेपाल नामक संस्थाको सहजीकरण तथा बगनासकाली गाउँपालिकाको संयोजनामा सञ्चालित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकाबाट आर्थिक वर्ष २०७८, ०७९ को अवधिमा सम्पादन गरेका योजना र प्रगतिको बिषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिका आर्थिक पारदर्शिता,सुशासन सहितको सेवाका लागि प्रतिबद्ध भई लागिपरेको बताउनुभयो । उहाँले गाउँपालिकाले बिभिन्न लोककल्याणकारी कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनुहुँदै योजनाहरुको उचित अनुगमन सहित प्राविधिक मुल्यांकनमा पालिकाले बिशेष जोड दिने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपुर्व सूचना तथा सञ्चार क्षेत्रको उपायेग गरि समुदायको सहभागितामा जोड दिनुपर्ने, उपभोक्ता समिति मार्फत विकासको काम गर्दा गर्नुपर्ने १० प्रतिशत श्रमदानले समस्या भएको, योजनामा काटिदै आएको कन्टिन्जेन्सी रकमको उपयोग, पालिकाको बेरुजु अवस्था लगायतको बिषयमा जिज्ञाशा राखेका थिए । सहभागीहरुको जिज्ञाशाको जवाफ प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती, लेखा अधिकृत कोशल पौडेल लगायतले दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यसप्रकारको कार्यक्रमले जनसमुदायका जिज्ञाशाहरुको समाधानका लागि सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य इश्वर राना, गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

Comments
Loading...