बगनासकाली गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

0 674

पाल्पा । बगनासकाली गाउँपालिकाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारा चिलाङ्दी भञ्ज्याङ् मा बनाउन लागिएको प्रशासकीय भवनको एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदी दर्लामीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

सो अवसरमा पालिका अध्यक्ष बस्यालले भवन निर्माणपछि बगनासकाली गाउँपालिकाको प्रशासनिक कार्यका लागि थप सहज हुने बताउनुभयो । उपाध्यक्ष सरस्वती चिदी दर्लामीले भवन निर्माण कार्य समय अवधिमै सम्पन्न भई सुविधासम्पन्न भवनबाट सेवाप्रवाह हुने बताउनुभयो ।
नेपाल सरकारको नाममा रहेको सार्वजनिक गौचरण जग्गा भैरव मन्दिर सामुदायिक बन बगनासकाली १ चिर्तुङधाराले उपभोग गर्दै आएकोमा नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७७ चैत ३० गतेको निर्णय बमोजिम मालपोत कार्यालय पाल्पाबाट मिति २०७८ साउन ४ गते जग्गा प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो ।

पालिकाले उपभोग गर्न पाउने गरि १३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा रहेकोमा ३७२.१५६ स्क्वाएर मिटर क्षेत्रफलमा प्रशासनिक भवन निर्माण हुने उहाँले बताउनुभयो । उक्त जग्गा २५ वर्ष का लागि लिजमा लिइएको हो । भवनको डिपिआर हाइड्रोकोन नेपाल प्रालिले २०७८ कात्तिक १६ गते गरेको थियो । भवन निर्माणका लागि न्यु ड्रागन आर एण्ड एण्ड जेभीले भ्याट सहित ६ करोड ४७ लाख ८४ हजार ८९ रुपैयाँ १८ पैसामा २०८० भदौ ८ गतेसम्म सम्पन्न गर्ने गरि पालिकासँग सम्झौता गरेको छ ।

भवन निर्माणका लागि संघीय सरकार समानीकरण अनुदानबाट ६० प्रतिशत ४ करोड ३६ लाख ५ सय ६७ रुपैयाँ १२ पैसा र स्थानीय सरकार गाउँपालिकाबाट ४० प्रतिशत २ करोड ६६ लाख ९१ हजार ४४ रुपैयाँ ७४ पैसा रकम खर्च हुने प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो । भवन शिलान्यास कार्यक्रममा पालिका स्थित जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, कर्मचारी, पत्रकार, स्थानीय बासिन्दा तथा निर्माण कम्पनीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...