बगनासकाली धार्मिक पर्यटनको गन्तब्य

0 1,011

यज्ञमूर्ति तिमिल्सिना
बगनासकाली गाउँपालिकाको पर्यटन क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ । यहाँ २ सय १६ बर्ष पुराना पुरातात्कि मठमन्दिरदेखि आधुनिक कलाकौशलबाट निर्मित मठमन्दिर दर्जनौं छन् । सबैको आ–आफ्ना विशिष्ट पहिचान र महत्व छ । जिर्णोद्धार र थप सजिसजावट सहित प्रचार प्रचारमा ध्यान दिन सके यहाँको धार्मिक पर्यटनले राम्रो गति लिन सक्ने देखिन्छ ।

ऋषिकेशेश्वर महादेव मन्दिर
वडा नं. ७ खानीगाउँ दैलातुङमा रहेको २ सय १४ वर्ष पुरानो (ऋषिकेशेश्वर) महादेव मन्दिर रहेको छ । यो मन्दिर यस क्षेत्रमै पुरानो मन्दिर हो । यो मन्दिरलाई यसअघि अन्नपूर्णेश्वर मन्दिर भनिएपनि मन्दिर भित्र रहेको शिलालेखमा ऋषिकेशेश्वर महादेव लेखिएको भेटिएको छ ।
वि.सं. १८६१ सालमा रामशाली पण्डितले उक्त मन्दिरको निर्माण गरेको इतिहास छ । यहाँ दैनिक पुजाआजा हुने र यस क्षेत्रकै बिशिष्ट पहिचानको रुपमा मन्दिर रहेको स्थानीय पदमराज बस्यालले बताउनुभयो ।

दर्लममहाकाली
बगनासकालीको एउटा प्रमुख धार्मिक गन्तब्य दर्लममहाकाली मन्दिर पनि हो । वडा नं. ५ मा दर्लममा यो मन्दिर रहेको छ ।
दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्र्विर्गय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरु गरेका थिए । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।

किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रुपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहुर्तको समयमा) शिलाको रुपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रुपमा दिक्ष दिइन् ।

दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा २ सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताए अनुसार दुबै जनालाई मैले शिलाको रुपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहुर्तमा यस ठाउँमा जानु भने अनुसार पदमणी गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए । जव ब्रह्म मुहुर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहुर्तको समय भएको थाहा भयो तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तर तर्फको पानीको कुवामा माटो झ¥यो र माता महाकालीको मूर्ति शिलाको रुपमा प्रार्दुभाव भयो र सबै गाउँलेहरु मिलेर पालै पालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारुपी माता महाकालीलाई उठाई पानी कुवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइ पुगे ।

बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दिक्ष अनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुबै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मुर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मुर्तिको पुजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदमंपानीकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदैसानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जस अनुसार नित्य पञ्चायन पूजा, रुद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।

बि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पुजारी पुरुषोत्तम गैरेको करकमलबाट शिलन्यासको काम गरिएको थियो । त्यसै गरी २०७३÷०७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ । मूल मन्दिरको पूर्वतर्फ २ तले नौ कोठे भवन निर्माण कार्य निर्माणाधिन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाक्रीस्थानको चौपारी निर मूल प्रवेश द्धार बिशेष रुपमा बनेको छ । मन्दिरको नाममा १८ रोपनी ६ आना, १ दाम ३ पैसा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ । उक्त जग्गा पदमंपानीका ८ भाई छोराहरुले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।

शिवरात्रीमा रुद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको सत्तप्रमोधको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ ।

राम्दी सुनगुफा
दर्लमडाँडाको राम्दीमा रहेको गुनगुफा पनि बगनासकालीको अर्को महत्वपुर्ण पर्यटकीय गन्तब्य हो । कालीगण्डकी किनार रामनदी धाम राम्दी क्षेत्रमा रहेको उक्त गुफाको धार्मिक महत्वबारे उचित प्रसारप्रसार गर्न सके यसलाई देशकै उत्कृष्ट धार्मिक स्थलको रुपमा बिकास गर्न सकिने सम्भावना देखिन्छ ।
प्रायः नेपाली धर्मावलम्बीहरु गुफा क्षेत्रमा दर्शन गर्न र आर्शिवाद लिन आउने गरेका छन् । त्यस्तै विदेशी पर्यटकहरु समेत यस क्षेत्रमा आएर फोटो खिच्ने र गुफा परिसरमा रहेका पहराहरुसँगै रमाउँने गरेको पाइन्छ । किंवदन्ती अनुसार बि.सं. १८६५ सालमा तानसेन नजिकैको गोर्खेकोट भन्ने गाउँमा मावलीमा बस्दै आएका केशव भट्टराईले (स्थायी घर छेर्लुङ्ग रहेका उनी बावु आमाको मृत्युपछि मावलीमा बस्दै आएका थिए) पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिएवापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउँमै भट्टराईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सघाई सुनवीर माझी नामक गोठालो राखिदिएछन् ।

गोठालो भने रातको समयमा नजिकैको बगनास गाउँमा भजन गाउँन जादो रहेछ । यो कुरा थाहा पाएपछि केशवले गोठमा निरीक्षण गर्न गएछन् । उनले गाईगोठमा बाघहरुले गाईभैसीलाई पहरा दिएर राखेको देखेछन् । बिहान पख गोठालो फिलिलि गरि उडेर आएछ । त्यसपछि भट्टराईले गोठालोलाई गाली गर्दा म सिद्व हुँ भनी तलतिर गएर त्यही गुफाभित्र पसेछ र त्यही अलप भएछ । पछि गाउँलेहरुले सोही स्थानमा पुजा आजा गर्न थाले । त्यसैको आधारमा सुनसिद्व अर्थात् सुनगुफा नाम रहेको पाइन्छ ।

यसै धारणाका आधारमा यस क्षेत्रका किसानहरुमा दिउँसोको समयमा दुध दही राख्ने ठेका भाडा छोएमा बिपत्ति आइपर्छ भन्ने मान्यता छ । गुफामा झण्डै १ सय १३ वर्षअघिदेखि निरन्तर अखण्ड धुनी बोल्दै आएको छ । यही स्थानमा पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउँदै आएका छन् । यसरी दुध ल्याएर चढाउँदा गाईभैसी निरन्तर ब्याउँछ भन्ने जनबिश्वास रहिआएको छ ।

शिवासन धाम
पाल्पाको बगनासकाली गाउँपालिका ८ बराङदीको सिवासन धामले पनि धेरै धार्मिक पर्यटक को मन जितेको छ ।
ध्यान गरेर वसेको शिवको मुर्ति यहाँको मुख्य आर्कषण हो । नेपालको सवैभन्दा ठुुलो मुर्ति रहेको भनिने यो मन्दिर क्षेत्रका लागि झिल्लु प्रसाद वस्याल र उनका छोरा हाल वेलायतमा वस्ने भिम वस्याल र परिवारले गरेको योगदान गरेका थिए । धाममा बिश्वकै बिराट एवम् भव्य महामृत्युञ्जय शिवजीको मूर्ति, बिराट नर्वदेश्वर शिवलिड्ड, अखण्ड शान्ति दिप रहेको छ । हालसम्म मूर्ति तथा धामको पूर्वाधार विकासमा १ करोड ५० लाख लगानी भइसकेको र गुरुयोजना अनुसारको विकासका लागि १७ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको धामका अध्यक्ष माधव बस्यालले बताउनुभयो । अहिले प्रदेश सरकार सहित बिभिन्न निकायको सहयोगमा यहाँ बिराट मन्दिर बनाउने काम चलिरहेको छ ।

सिद्धबाबा धाम

वडा नं. ८ बराङदीकै घिउसीबासमा रहेको सिद्धबाबा धाम पनि एक महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तब्य हो ।
यहाँ १ सय ८ पिपलीका रुखहरु मन्दिरलाई घेरो हालेर लगाइएको छ । खासगरि पिपलीमा जल चढाउने र भगवानसित आर्शिवादका लागि यहाँ दशनार्थीहरु बढी जाने गर्दछन् । नजिकै ॐ संग्रह पनि रहेको छ । यहाँको बातावरण नै धार्मिक रहेको दशनार्थीहरुको भनाई छ । यहाँ पनि शिवरात्रीको समयमा दशनार्थीहरुको ठुलो भिड लाग्ने गर्दछ । साउनको महिनामा यहाँ पिपलीमा जल चढाउनेहरुको घुइचो नै लाग्दछ ।

बगनासदेबी
बगनासदेबी स्थान मन्दिर पनि बगनासकालीको अर्को महत्वपुर्ण धार्मिक गन्तब्य हो । वडा नं. ९ चापपानी बगनासमा रहेको यो मन्दिरलाई कोटकी देबी भन्ने प्रचलन रहेको छ । खागरि शुभकार्यहरुका लागि वा आफ्नो मनोकांक्षा पुरा होस् भनेर भाकल गर्ने र भाकल पुरा भएपछि पञ्चेबाजा सहित पञ्चवली लैजाने गरिन्छ । यो सँगै बगनासकालीमा अन्य दर्जनौं धार्मिक गन्तब्यहरू रहेका छन् । कतिपय महत्व रहँदारहँदै पनि ओझेलमा परेका छन् । नायरदेवी, सिखरे भगवती, मालारानी मन्दिर लगायत अन्य गन्तब्यहरू पनि रहेका छन् ।
बगनासकाली गाउँपालिकाको त्रैमासिक प्रकाशन बगनासकाली आवाजमा प्रकाशित

Comments
Loading...