बराङ्दीमा कलाकार सम्मान सहित बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

0 357

पाल्पा । बराङ्दी युवा समाजको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम एवम् कलाकार सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहीवार बेद माध्यमिक बिद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा लोक तथा दोहोरी गायिका सुमित्रा कोइराला र सिता घिमिरे सहित अन्य कलाकारहरुलाई सम्मान गरिएको थियो । गायिका कोइरालाका झुम्के बुलाकी, घन्किदे मादलु, सुनन मायाले, जा मलेवा जा लगायतका धेरै गीतहरु चर्चामा छन् । त्यस्तै गायिका घिमिरे नेपाल टेलिभिजनमा हालै प्रसारण भएको दोहोरी च्याम्पियन कार्यक्रममा उत्कृष्ट ८ मा पर्न सफल हुनुभएको थियो ।

कलाकारहरुलाई सम्मान गर्दै प्रदेश सरकारका उर्जा मन्त्री बीर बहादुर रानाले नेपाली लोकसंस्कृतिको संरक्षण र सम्बर्धन महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले कलाकारिता क्षेत्रको माध्यममा समाजमा बिभिन्न रचनात्मक सन्देशहरु फैलाउन सकिने पनि बताउनुभयो ।बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले लोक संस्कृतिको संरक्षण र सम्बर्धनका लागि पालिकाले पनि बिभिन्न कार्यक्रम बनाएको बताउनुभयो । समाजका संरक्षक जीवराज घिमिरे लगायतका अतिथिहरुले बराङदीमा जन्मिएर गीत संगीत मार्फत देश बिदेशमा नाम चलाएका कलाकारहरुलाई यसरी जमघट गराउन पाउँदा खुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गायिकाहरु सुमित्रा कोइराला, सिता घिमिरे, गायक कमल भट्टराई, सुमन गैरे, पुरन गाहा, गणेश बस्याल, रुपेश कार्की, दिपेश परियार, गायिकाहरु नैना परियार, संगीता दर्नाल लगायतले साँस्कृतिक प्रस्तुती राखेका थिए । सो अवसरमा कार्यक्रमका लागि सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा स्थानीय पञ्चेबाजाले अतिथिहरुलाई स्वागत गरिनुका साथै पञ्चेबाजा प्रस्तुत समेत गरिएको थियो । समाजका अध्यक्ष दयाराज न्यौपानेको अध्यक्षता र सहसचिव सुशिल बस्यालको संचालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...