बाकामलाङको सार्वजनिक सुनुवाइ सम्पन्न

0 220

रमा भण्डारी । (रामपुर) पाल्पा
निस्दी गाउँपालिका १ नं. वडा कार्यालयले वडाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा भित्र भएका विकास निर्माणका योजना, गतिविधि, वडाको सेवा प्रवाहलाई पारदर्शी एवं जिम्मेबारी बहन गरेर अघि बढाउन सार्वजनिक सनुवाई गरेको हो ।

निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले गाउँपालिका बाट विनियोजित बजेट, सञ्चालन भएका कार्यक्रम, विद्युत, योजना स्टिमेट र मुल्याङकनका विषयमा प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागीले उठाएको प्रश्नको र जिज्ञाशा मेटाउँदै वडाले वडा भित्रका सबै दल र संघसंस्थाहरुलाई समावेश गरेर अघि बढेको बताए ।

उनले वडाले आवधिक योजना निर्माण गरेर सोही अनुसार अघि बढे पनि बजेट अभावमा कतिपय कार्यक्रम ओझेलमा परेको बताए । उनले सिमित स्रोतका विच वडा अघि बढेको बताउँदै वडामा आएका गुनासो पालिकामा पनि राख्ने बताए ।
कार्यक्रममा निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले पालिकाका लागि उठेका प्रश्नको जवाफ दिएका थिए । निस्दी गाउँपालिकाका इन्जिनियर गणेश गौतमले योजना स्टमेट, मुल्याङकन माथि उठेको प्रश्नको जवाफ दिएका थिए ।

निस्दी गाउँपालिका वडा नं. १ का वडा सचिव दिलिपकुमार भुजले आर्थिक वर्ष २०७७,०७८ मा वडामा सञ्चालन भएका योजनाको अवस्था, वडाको प्रशासनिक गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाल्पाका जिल्ला सदस्य टेक बहादुर थापाले समग्र पालिकाको विकासको लागि समानुपातिक विकासमा ध्यानदिनु आवश्यक रहेको बताए । राधाकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक भेष बहादुर अधिकारीले सार्वजनिक सुनुवाईमा उठेका प्रश्न र जवाफ संगै कार्यान्वयनमा ध्यान दिन सकेमा मात्र कार्यक्रमले सार्थकता पाउने बताए । कार्यक्रममा राधा भण्डारी,जनजागरण महिला समुहका जमुना राना ,ताराबहादुर थापा,राधाकृष्ण मावि का प्रधानध्यापक भेषबहादुर अधिकारी,समाजसेवि मुक्ति प्रसाद पाण्डे,रतन कुमार विक,कृृष्ण कार्की, गौरी राना, हरिमया रामजाली,टोप बहादुर राना र शेर बहादुर सारुले वडा र गाउँपालिकाबाट हुने सेवाप्रवाह पालिका र वडा बाट संचालित योजनाका विषयमा र पालिकाबाट विभिन्न गरीव असहाय र एकलमहिलालाइ आएको विभिन्न अनुदान हरु राहुवनकी राधा भण्डारीले आफ्नो नाम भए पनि न्यानो कपडा अर्कैले हस्ताक्षर गरेर लगेको आफुको नाम बाट अरुले फाइदा लिएको भन्दै प्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममको सहजीकरण सामुदायिक रेडियो रामपुरका पत्रकार रमा भण्डारी, रेडियो रामपुर प्रतिनिधी चेतन पुलामी र रेडियो पाल्पाका पत्रकार इमान सिं रानाले गरेका थिए । निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य जगत बहादुर सिंजालीको स्वागत र रेडियो रामपुर प्रतिनिधी चेतन पुलामीको सञ्चालनमा भएको हो ।

Comments
Loading...