बित्तिय कारोवारसँगै स्वास्थ्य क्षेत्रमा पनि बगनासकाली बहुउद्देश्यीय सहकारीको अग्रसरता

0 333

पाल्पा । ग्रामीण स्वाबलम्बन विकास केन्द्रको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि. बगनासकाली गाउँपालिका–८ बराङ्दीको संयोजन र माल्टेसर इन्टरनेशनलको आर्थिक सहयोगमा कोभिड १९ सहयोग सामाग्रीहरुको बरबुझारथ तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले बराङ्दीको घिमिरेडाँडामा संचालन गर्न लागेको आइसोलेसन सेन्टर सहित चापपानी स्वास्थ्य चौकी,नायरनम्तलेस स्वास्थ्य चौकी, खानीछाप स्वास्थ्य चौकीलाई गरि ८ लाख रुपैयाँ बढीको बिभिन्न स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको हो ।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा बगनासकाली–८ का वडा अध्यक्ष गणेशप्रसाद बस्यालले यसप्रकारको सहयोगले स्वास्थ्य चौकी सहित आइसोलेसन सेन्टरका लागि राम्रो सहयोग पुग्ने बताउनुभयो । ग्रामीण स्वाबलम्बन विकास केन्द्रका प्रतिनिधि हर्ख बहादुर सुनुवारले उपलब्ध सामाग्रीहरु बारे जानकारी गराउँदै सहकारी संस्था र केन्द्र बीचको सहकार्य निरन्तर रहने बताउनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष भुपति पाण्डेले बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले मुलतः उत्पादनमा ध्यान दिएकोले यो सहकारी नमुना रहेको बताउनुभयो । उहाँले बचत र ऋणमा मात्रै सिमित रहने सहकारीको तुलनामा यो सहकारीले आफ्ना सेयर सदस्य लगायत स्थानीयलाई उत्पादन र बजारीकरण जोड्नु निकै महत्वपुर्ण पक्ष रहेको बताउनुभयो ।

जिल्ला बचत संघका अध्यक्ष जगदिश भट्टराइले बहुउद्देश्यीय सहकारी मार्फत उत्पादन र बजारीकरण सहित यसप्रकारको आइसोलेसन निर्माण र सहयोग सामाग्रीहरुको संकलन र बितरण कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रतिनिधि मधुसुधन भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले कोभिड महामारी पुर्ण रुपमा समाधान भई नसकेकोले तयारी र सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले सहयोगी संस्थाहरुको सहयोगमै सहयोग सामाग्री हस्तान्तरण, आइसोलेसन निर्माण सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका र सहकारी संस्थाका पदाधिकारी सदस्यहरुलाई तालिम पनि हुन लागेको बताउनुभयो । उहाँले सहकारीले आफ्नै भवनमा सञ्चालन गर्न लागेको आइसोलेसनका लागि स्थानीय स्वास्थ्य चौकी सहित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसँग सहकार्य हुने समेत बताउनुभयो ।

संस्थाका बरिष्ठ उपाध्यक्ष मोतिलाल बस्यालको स्वागत, सचिव कमलराज तिमिल्सेनाको संचालन र अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

यो सहकारीले केही बर्ष यता बराङ्दी, चापपानी, खानीगाउँ लगायत बगानसकालीका बिभिन्न वडाहरुमा ब्यवसायिक भैसी पालनलाई टेवा पु¥याउँदै आएको छ । उत्पादित दुधलाई संकलन गरि बजारीकरणमा समेत सहकारीले काम गर्दै आएको छ । यहाँ उत्पादित दुध अहिले तानसेनका बिभिन्न डेरीहरुमा बिक्री हुँदै आएको छ । अकबरे खुर्सानी पकेट क्षेत्र सहित अन्य आयआर्जनका कार्यक्रमहरु समेत सहकारी मार्फत हुँदै आएका छन् ।

२०५४ सालमा बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यो सहकारी संस्था विभिन्न समयमा अन्य साना सहकारीहरुसँंग मर्ज हुँदै २०७६ सालमा बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा स्थापित भएको हो । १ हजार ३ सय भन्दा धेरै शेयर सदस्यहरुको १ करोड शेयर भएको यो सहकारीको अहिले ८ करोड निक्षेप रहेको छ ।

Comments
Loading...