मंगलबार पाल्पा भगवती जात्राः जिल्लाभर बिदा, जात्रा भब्य नहुने

0 994

पाल्पा । बीरताको प्रतिकको रुपमा रहेको पाल्पा रणउजीरेश्वरी भगवतीको रथयात्रा मंगलबार हुँदैछ । यो  २ सय ३ औं संस्करण हो ।

पाल्पाभर बिदा
जात्राको अवसरमा लुम्विनी प्रदेश सरकारले भगवती जात्राको दिन जिल्लाभित्र सार्वजनिक बिदा तोकेको छ । भगवती जात्राको एतिहासिक र विशेष महत्व रहेको भन्दै लुम्वनी प्रदेश सरकारले पाल्पामा जात्राको दिन सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख गरेको छ ।

रथयात्रा भब्य नहुने
यस बर्ष पनि पोहोर जस्तै सामान्य रुपमा मात्रै रथ निकालिने भएको छ । कोभिड महामारी फैलिरहेको अवस्थामा जिल्ला स्तरीय डिसिएमसीको बैठक अनुसार नै रथयात्रा हुने भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जनाउनुभएको छ ।

उहाँले लेख्नुभएको छ ।
कोविड १९ महामारीको विषम परिस्थितिको कारण यस वर्षको २०३ औं श्री ७ भगवती सिन्दुर यात्रा एवं अङ्ग्रेजहरुलाई युद्धमा परास्त गरी राष्ट्रियता बचाएको अवसरमा मनाउदै आएको विजयोत्सव डिसिएमसी पाल्पाले जारी गरेको सूचना तथा यस गुठी व्यवस्थापन समितिको वैठकको निर्णयानुसार मन्दिरमा उपस्थित हुनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले स्वास्थ्य मापदण्ड (मास्कको प्रयोग तथा सामाजिक दूरी कायम गर्नु हुन) अनिवार्य रुपमा पालना गरेर मन्दिर परिसरमा प्रवेश गरिदिनु हुन अनुरोध गर्दै भाद्र १४ गते जाग्राम साँझ ८ बजेसम्म र भाद्र १५ गते बिहान ११ः३० बजेसम्म मात्र भक्तजनहरुलाई माता श्री भगवतीको दर्शन गर्ने व्यवस्था गरिएको जानकारी गराउदछौ ।

यस वर्षको जाग्राम तथा जात्रा अत्यन्तै सिमित रुपमा माताको नित्य पूजा र तान्त्रिक विधि बमोजिम गरिनु पर्ने पूजा मात्र गरिने सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक विनम्रताका साथ अनुरोध गर्दै यसबाट भक्तजनहरुमा पर्न गएको असुविधाको लागि गुठी व्यवस्थापन समिति परिवार क्षमा प्रार्थी छौ ।
आगामी वर्ष समयानुकूल हुँदै गएपछि हामी सबैको सहभागितामा हाम्रो परम्परा अनुसार हाम्रो भगवती जात्रा बडो भव्य तथा हर्षोल्लासका साथ मनाउने नै छौ । हामी आशा एवं विश्वास गरेका छौ हामी हाम्रो एकापसमको जीवन र स्वास्थ्य प्रति सचेत तथा पूर्ण जिम्मेवार छौ ।
माता श्री ७ रणउजीरेश्वरी भगवतीले हामी सबैको सदा रक्षा गरून् कल्याण गरून् ।
जय भगवती माता ।

भगवती जात्राको इतिहास यस्तो छ
नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय ३ अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ ।

लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ । फोटो फाइल

Comments
Loading...