माथागढी गाउँपालिकाले पदबहालीकै समयमा गर्यो लोकप्रिय निर्णय

0 1,086

पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधिहरुले पदबहाली गर्ने क्रममा जिल्लामै नौलो निर्णय गरेका छन् । अध्यक्षको पदबहाली गरेलगत्तै माथागढी गाउँपालिकाको अध्यक्ष यमबहादुर चिदीले अभिभावक बिहिन बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँ सरकारले लिने निर्णयमा हस्ताक्षर गर्नुभयो । अभिभावक बिहीन बालबालिकाको पढाई लेखाई, पोशाक तथा शिक्षा सम्बन्धी सम्पूर्ण खर्च पालिकाले बेहोर्ने निर्णयमा चिदीले पदबहाली पछि हस्ताक्षर गर्नुभएको हो ।

माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व स्थानीय सरकार मातहत रहेकाले अभिभावकबिहीन बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि उनीहरूको शिक्षा लिने अधिकारलाई निरन्तरता दिन सम्पूर्ण शिक्षा सम्बन्धी खर्चको जिम्मेवारी लिने निर्णय लिइएको अध्यक्ष चिदीले बताउनुभयो । अध्यक्ष चिदीले जनताको चाहना र आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार काम गर्ने घोषणा गर्नुभयो । उहाँले विगतका जनप्रतिनिधिले अघि सारेका अधुरा योजनालाई पूरा गर्ने र निर्वाचनका बेला आफूहरूले अघि सारेका योजनालाई अघि बढाएर नमूना पालिका बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नव निर्वाचित अध्यक्ष यमबहादुर चिदी, उपाध्यक्षमा निर्वाचित विष्णुमाया लुङ्चेमगर, वडा अध्यक्षमा निर्वाचित वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको सपथपछि पद बहाली गर्नुभएको हो । जनप्रतिनिधिको सपथग्रहण तथा निवर्तमान जनप्रतिनिधिको बिदाई कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष थापाले नवनिर्वाचित जनप्रतिनिधिलाई आपसी सहकार्य र समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरू निर्वाचित भएका बेला बस्ने कुर्चीसमेत नभएको स्मणण गर्दै अहिलेको अवस्था धेरै फरक रहेको र पालिको समग्र विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष विष्णुमाया लुङ्चेमगर, निवर्तमान उपाध्यक्ष निर्मला भट्टराई, निर्वाचन अधिकृत मीना अर्याल, पूर्व वडा अध्यक्ष जनक रिजेल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको अध्यक्षता, स्वास्थ्य संयोजक केशल जिसीको स्वागत तथा शिक्षा संयोजक अशेषकुमार भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

यसैबीच माथागढीको सबै वडामा जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ । माथागढीको वडा नं. १ मा वडा अध्यक्ष राजकुमार पन्थी, वडा नं. २ का अध्यक्ष बोमबहादुर ठाडा, वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, वडा नं. ४ का वडाअध्यक्ष शंकर दर्लामी, वडा नं. ५ का वडा गशेणमान गाहा, अध्यक्ष वडा नं. ६ का अध्यक्ष युवबहादुर ठाडा, वडा नं. ७ का अध्यक्ष जंगबहादुर दर्लामी र वडा नं. ८ का अध्यक्ष दिलबहादुर ढेंगामगरले पदबहाली गर्नुभएको हो ।
इरानीमहलको सहयोगमा

Comments
Loading...