मित्यालका खम्बा सन्तबीर सुनारी, जसले गाउँको सेवा गरेर राष्ट्रपतिबाट तक्मा पाए

0 486

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ४ मित्यालका ४८ वर्षीय सन्तबीर सुनारीको सामाजिक प्रतिष्ठा बेग्लै छ । उनीसग धेरै धन पैसा भएर होइन । उनले आफ्नो जीवनको सबै जसो समय सामाजिक परिवर्तनकै लागि बिताएका छन् । यसकारण पनि सन्तबीरलाई धेरैले मित्यालको खम्बा भनेरै सम्बोधन गर्छन् ।

बावु नरदिर सुनारी र आमा खरिसरा सुनारीको कोखबाट जन्मेका सन्तबीर बाल्यकालदेखि नै सक्रिय थिए । उनले २०५२ देखि २०५८ सम्म मित्यालको निमित्त गाविस अध्यक्ष भएर काम गरे । त्यतिबेला जनयुद्धको समय थियो । तैपनि उनले सामाजिक जीवनलाई लगावकै साथ बिताए । जनप्रतिनिधिको भुमिकामा उनी सधै गम्भीर भएर दुर्गम गाउँका जनताको सेवा गरे ।

सुनारीको गाउँ मित्यालमा गाडी पुगेको थिएन । अहिले सर्रर बस चल्छ । यहाँका मान्छेहरुले मित्यालमा पनि गाडी आउला र भन्थे तर त्यो सार्थक भयो । गाउँमा बाटो र गाडी पुर्याउन पनि सुनारीको भुमिका महत्वपुर्ण छ । मित्यालबाटै अहिले ज्यामिरे, अर्चले, झिरुवास लगायतका क्षेत्रमा बाटो जोडिएको छ गाडी गुडिरहन्छन् ।

मित्याल भन्ने बित्तिकै हावाबाट बिजुली भन्ने बिषय आइहाल्छ । यहाँको बिजुलीले राष्ट्रिय चर्चा पायो । पछिल्लो समय धेरै संचारमाध्यमले यो समाचारलाई प्राथमिकता दिए । यसरी बायु उर्जा उत्पादन र त्यस प्रक्रियामा पनि सुनारीको पहल महत्वपुर्ण छ । त्यस्तै सौर्य उर्जा बिस्तारका लागि पनि उनको भूमिका छ ।

सामुदायिक कृषि बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् सुनारी । यो संस्थाले अहिले स्थानीय किसानहरुको आयआर्जन प्रवर्धनका लागि टेवा पु¥याएको छ । केम बहादुर खाम्चा स्मृति प्रतिष्ठानको उपाध्यक्षको रुपमा उनले काम गरेका छन् । प्रतिष्ठानको अहिले भवन निर्माणको काम जारी छ । त्यस्तै निस्दीकै नमुना बिद्यालयको रुपमा गौरी शंकर माविको अध्यक्ष हुन् सुनारी । भोटे गौरी सामुदायिक बनको अध्यक्षको रुपमा उनी रहेका छन् । क्याङरुङ खोला रुप्से भञ्ज्याङ खानेपानी उपभोक्ता समितिमा रहेर काम गरे । यति मात्रै नभएर सुनारी अरु दर्जनौं संंस्थामा आवद्ध छन् । उनी बसेको समिति मार्फत नमुना काम हुन्छ भन्नेमा स्थानीय बिश्वस्त छन् । यसकारण पनि उनलाई स्थानीयहरुको सधै साथ रहन्छ ।

उनले नेतृतव गरेको सहकारी मार्फ कृषकहरुको आयस्रोत बढाउने, बजारीकरण र तरकारी कसरी लगाउने, सहकारीको अवधारणा अनुसार बाल बचत र दैनिक गर्नुपर्छ भन्ने चेतना समुदायमा ल्याएको छ । मित्याल जस्तो एउटा गाउ“मा जन्मे हुर्केका सुनारीले गाउँकै सेवा गरेको भन्दै राष्ट्रिय पुरस्कार पाउनु पाल्पालीका लागि पनि गौरवको बिषय हो । उनले कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति बिद्यादेबी भण्डारीबाट २०७५ सालमा सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका थिए । उनको नेतृत्व रहेको भोटेगौरी सामुदायिक बनले केही वर्षअघि बन तथा भुसंरक्षण मन्त्रालयबाट ६० हजार रुपैया“को पर्वतीय पुरस्कार समेत पाएको थियो ।

उनको नेतृत्व रहेको भोटेगौरी सामुदायिक बनमा ५ हेक्टर बन क्षेत्रमा दालचिनी र अम्रिसो समेत लगाइएको छ । त्यस बनको आम्दानीबाट गौरीशंकर माविका शिक्षकलाई तलव खुवाउन सहयोग गरको छ ।

उनले मित्याल क्षेत्रमा कफी चिया लप्सी, अमला चिउरी र अन्य जडीबुटीको खेतीको प्रवल सम्भावना देखेका छन् । मगरी गाउँ मित्यालको सामान्य प्रचार मात्रै गर्न सके पनि यहाँ हजारौ पर्यटक भित्र्याउन सकिने सम्भावना उनले देखेका छन् । त्यसकारण पनि गाउँमा होम स्टे संचालन गर्न सके पर्यटन प्रवर्धनसँगै स्थानीय समुदायको आयस्रोत समेत बढ्ने उनको बिश्वास छ । गाउँलेले अहिले पनि सहज स्वास्थ्य सुविधा पाउन नसकेको प्रति उनी दुखी छन् । यसकारण पनि गाउँ गाउँमा बर्थिङ सेन्टर संचालन हुनुपर्ने उनको धारणा छ । त्यस्तै त्यस क्षेत्रमा एम्वुलेन्सको आवश्यकता रहेको उनी बताउँछन् । त्यस्तै कृषि र बाली बिज्ञानको पढाई स्थानीय गौरीशंकर माविमै संचालन गर्न सके धेरै बिद्यार्थीहरु लाभान्वित हुने र पढ्नकै लागि गाउँ छोडेर हिड्नु नपर्ने भएकोले पनि त्यसतर्फ आफुले सोच बनाएको उनले बताए ।

नेकपाका नेता समेत रहेका उनको यो सामाजिक जीवनमा उनकी श्रीमति धनमाया सुनारीले राम्रो साथ दिएकी छन् । जसका कारण पनि उनलाई थप उर्जा मिलेको छ । बिहान देखि साँझ सम्म फुर्तिलो भएर उनी सामाजिक कार्यका लागि लागिपरेका छन् । सुनारीले सामाजिक मात्रै नभएर ब्यवसायिक जीवन पनि राम्रो गरि बिताएका छन् । उनको स्थानीय होटल पनि छ यहाँ आएका पाहुनाहरुको स्वागत गर्न पनि उनी खप्पिस छन् । गाउँमै कुटानी पिसानी मिल पनि चलाएका छन् । जसबाट स्थानीयले सजिलो गरि सेवा पाएका छन् । सुनारी २ छोरा ३ छोरी छन् । छोराछोरीले समेत सामाजिक कामका लागि सधैं उत्साह प्रदान गर्दै आएको उनले बताए ।

सधैं हसिला फुर्तिला सन्तबीर आफु मात्रै हाँसेका छैनन् । उनको पहलले गाउँ नै हासेको छ । गाउँबासीले परिवर्तनको महसुस गर्न पाएका छन् । सन्तबीरबाट धेरैले सिक्नुपर्छ । जसले दुर्गम गाउँमा सधै परिवर्तनको लागि निरन्तर खटेका छन् । उनै सन्तबीरलाई हाम्रो तर्फबाट पनि शुभकामना ।

Comments
Loading...