यमराजको दुतमात्र होइन कुकुर

0 349

–के.वि. मसाल
हाम्रो समाजमा कुकुरलाई यमदुतकारुपमा प्रत्येक वर्ष तिहार पर्वमा पूजा गर्ने, सम्मान गर्ने, मिठो खान दिने र माला लगाई दिएर सांस्कृतिकरुपले पूजा गर्ने प्रचलन छ । यमपञ्चकको दोस्रो दिन यमराजको द्वारपालका रुपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको भन्ने पौराणिक कथन रहेकाले यस दिन कुकुरलाई पूजा गर्ने प्रचलन छ । तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवका रुपमा पूजा गर्ने गरिन्छ । कुकुर पूजा ग्रिस र इजिप्टमा हिजोआज पनि रहेको छ । यो बाहेक कुकुरलाई घरमा पालेर सुरक्षाका लागि पनि मानिसहरुले मानव सभ्यता सँगसँगै कुकुरलाई घरमा पाल्दै आएका छन ।

यमपञ्चकको दोश्रो दिन कुकुर तिहार । कुकुर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । ऋगवेद अनुसार समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।
सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र “हाछिको“ आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् । कुकुर तिहारमा यिनै कुकुरहरुको पूजा गरिने दिन हो । तिहार पर्व मानव मात्रको पर्व नभएर यो मानव र पशुपन्छीबीचको पारस्परिक सम्बन्ध मुखरित गर्ने महत्वपूर्ण चाडका रुपमा परिचित छ । तमसो मा ज्योतिर्गमयः को भाव उजागर गर्दै अन्धकारबाट उज्यालो जीवनमा पु¥याउने पर्व नै तिहार हो ।

तिहार सुरु भएको पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवद्र्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका लगाउने गरिन्छ । तिहारको दोस्रो दिन तथा चतुर्दशीको दिनलाई नरक चतुर्दशी भनिन्छ यस दिन हिन्दु महिलाहरुले नजिकैको कुवा, ततलाउ, धारा या पोखरीमा गएर नर्के नुहाउने र टपरीमा दीपप्रज्ज्वलन गर्दै पुजाआजा गर्ने प्रचलन छ । बिहानै महिला–पुरुष दुवैले सुस्वास्थ्य र दीर्घायुका लागि शरीरमा तेल लगाएर अपामार्गको पात, डाँठ, फूल, फल, गौमुत्र मिश्रित जलले स्नान गरी शरीर चोख्याउने प्रचलन पनि रहेको छ ।
यमपञ्चकको तेश्रो दिन आमावश्या औँसी को दिन दिपावली गरी धुमधामसाथका साथ धनधान्य र ऐश्वर्यकी देवी भगवती लक्ष्मी, कुवेर आदीको पूजा गरिन्छ । सोही दिन सवै भन्दा सोझो जनावरको प्रतिक गाईको पुजा आजा गर्ने गरिन्छ । हिन्दु परम्परामा गाईलाई गौमाता तथा लक्ष्मी भगवानको प्रतिकको रुपममा मान्ने र पुजा गर्ने प्रचलन छ । गाई तिहारको दिन वेलुकी लक्ष्मी पुजा गरेर महिला, युवती तथा बच्चाहरुले भैलो खेल्ने गर्दछन । तिहारको चौँथो दिन गोवद्र्धन तथा गोरुको पुजा गर्ने र गाउँघर तिर हलीको पनि पुजा आजा गर्ने प्रचलन छ । त्यसैले यस दिनलाई हलीतिहार अथवा गोरुतिहार भन्ने गरिन्छ । महालक्ष्मी, गणेशसहित ऐश्वर्यका देवताको पूजा गरी लक्ष्मीपूजा र झिलिमिली बत्तिको पर्वका रुपमा पनि दीपावली मनाइन्छ ।

कुकुर पाल्ने परम्परा संस्कृतिकै रुपमा विकास भए पनि मानव सभ्यतासँगै कुकुर पाल्ने प्रयोजन भने केहि बदलिँदै आएको छ । संसारलाई हेर्ने हो भने अहिले कुकुरलाई अन्तरिक्षमा पठाउने, जासुसी कार्यमा लगाउने, र तालिमप्राप्त कुकुरलाई खेलकुदमा समेत सहभागी गर्ने काम धेरै देशमा हुँदै आएको छ । कुकुरमा सुँघने शक्ति अत्यधिक हुन्छ । अल्टासाउन्डसमेत पनि सुन्नसक्ने क्षमता कुकुरमा बढी हुनाले कुकुरबाट घरको सुरक्षा र अन्य काम लिन सकिएको हो । कुकुरको सुघने शक्तिमात्र होइन स्मरण शक्ति समेत तिक्ष्ण हुन्छ । एकपटक देखेको मानिस वा अन्य अन्य चिजलाई यसले सजिलै भुल्दैन । कुकुरको निन्द्रा पनि पातलो हुन्छ । यसकारणले पनि रातको समयमा घरपरिवारका सबै घटनाहरु पत्ता लगाई भुकेर मानिसलाई थाहा दिन्छ । कुकुर धेरै जातिका हुन्छन् । चारखुट्टे जनावर कुकुरको १८ देखि २२ वटासम्म नंग्राहरु हुन्छन् । कुकुरको प्रजाती अनुसार रंग र रौं पनि फरक हुन्छ । कुकुर तीन महिनामा ब्याउने र यसले ३ देखि ८ वटासम्म छाउरा एकै पटकमा जन्माउँछ ।
संसारमा आजभोलि कुकुरकै सहयोगमा ठूला अपराधहरु पत्ता लगाउने गरिएको छ । नेपालमा प्रथमपटक २०३६ सालमा मलेसियाले उपहार स्वरुप चारवटा कुकुर सरकारलाई सुरक्षा एवम् अपराध अनुसन्धान गर्नका लागि प्रदान गरेको थियो । हाल ती कुकुरहरुको संख्या ६० को हाराहारीमा पुगेको छ । ती कुकुरलाई केन्द्रीय प्रहरी तालिम स्कुल रानीबारी काठमाडौंमा प्रशिक्षण दिने काम भैरहन्छ । प्रहरीले ति तालिमप्राप्त कुकुरहरुलाई भिआईपीहरुको सुरक्षाको लागि प्रयोग मात्र नगरी लागु औषधि ओसार–पसारलगायत उद्दारका लागि, अपराध खोजी अनुसन्धान र हतियार तथा विष्फोटक पदार्थको अपराध अनुसन्धान गर्नमा प्रयोग गरि रहेका छन ।

आजभोलि कुकुर सुक्षा र ब्यक्तिगत सोखकारुपमा पनि पाल्न थालिएको छ । नेपालमा अहिलेसम्म ४५ जातिका कुकुरहरु विदेशबाट पाल्न ल्याइएका छन् । यसरी विदेशबाट ल्याइएका ठूला जातका कुकुरमा एल्सेसियन, ग्रेटडेन, जर्मन सेफर्ड, डोरम्यान, ल्याब्राडर, बक्सर, डयाल्मेसियन, बुलडग प्रजातीका छन् । यसैगरी, घरमा पालिने साना जातका कुकुरहरुमा जापानी स्पिटस्, ल्हासा आम्लो जस्ता कुकुरका प्रजातीको माग बढिरहेको छ । यसरी कुकुर काठमाडौं, पोखरा, बिराटनगरजस्ता ठूला सहरमा पालिएको छ । अहिले नेपालमा कुकुर झिकाउने केनल क्लव ब्यवसायि रुपमा अगाडी बढेको । घरमा पालिने उन्नत जातका कुकुरहरु केनल क्लवबाटनै भारतलगायत तेस्रो देशबाट आयात गरिन्छ भने कतिपयले आफैं विदेशबाट आउँदा पनि ल्याउने गरेका छन् । संसारमा कुकुरका जातिअनुसार मानिसले पकेटमा राख्न सकिने देखि लिएर ठूला साइजमा समेत कुकुर पाइएको छ । अहिलेसम्म गिनिज बुकमा नाम लेख्न सफल भएको कुकुर अमेरिकामा छ । अमेरिकाको मिचिगनास्थित डेनिज डुर्गालले पालेको गे्रडडेन जियस नामको त्यो कुकुर ७ फिट र ४ इन्च अग्लो छ । ३ वर्ष उमेरको त्यो कुकुर विश्वकै हालसम्म अग्लो कुकुर मानिन्छ । यसको लम्बाई २.२ मिटर छ ।

क्ुकुरका सौखिनहरुले बजारमा विभिन्न जातका कुकुरहरु पाउन थालेपछि कुकुरको मूल्य पनि आकासिएको छ । चिनको सान्सी प्रान्तकी एक महिलाले तिब्बती प्रजातीको याङजेनदी नम्बर दुई नामको कुकुरलाई उनले ४ करोड ५१ लखमा किनेर विश्वकै हालसम्मको महंगो कुकुरलाई मूल्य कायम राख्न सफल भएकी छिन । कुकुर पाल्ने मात्र होइन कुकुर पाल्नेहरुमा कुकुरप्रति माया पनि बढ्न थालेको छ । अमेरिकामा एक जोडिले आफूले पालेको कुकुरको मुत्युको पीडा सहन नसकी २ करोड रकम खर्च गरेर कुकुरको क्लोन गराएका छन् । क्लोन गराउनु भनेको नयाँ कुकुर जन्माएर सबै गुण एवम् हाउभाउ मृत्यु भएको कुकुर बनाउनु हो । यस्तो चिकित्सा प्रविधिलाई क्लोन प्रविधि भनिन्छ । यसरी तयार पारिको कुकुरको नाम लालसेन इनकोर राखिएको छ । यो कुकुर संसारकै व्यवसायिक क्लोन प्रविधिको कुकुर मानिन्छ ।
नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाईने कुकुरको जातिमा ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो । कुकुर अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको छ । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक रहेको छ । तर माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन । नेपालबाहिर एउटै छाउरा–छाउरीको कम्तीमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर सम्म रहेको छ ।

शौख र सुरक्षा दुबै उद्देश्यले पालिने कुकुरको व्यापार पनि अब सानो अंकमा सीमित रहेन । कुकुर र यसले खाने दानाका लागि विदेशी बजारमा निर्भर रहनुपरे पनि शौखका कारण बजार निकै बढेको छ । कुकुरलाई परिवारका सदस्य जस्तै ठानेर पाल्ने पश्चिमा संस्कृतिले हुनेखाने वर्गमा निकै खर्च बढन थालेको छ । एक वर्षको अवधिमा काठमाडौंमा मात्रै २५ करोड रुपैयाँ बराबरको कुकुर तथा कुकुरसँग सम्बन्धित सामानको व्यापार हुने गरेको छ । यो तथ्यांक हरेक वर्ष तिब्र गतिमा उकालो लाग्दै छ ।

आजभोली त कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ । कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ बिकसीत देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ । अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ । राजधानीमा खुलेका केनल क्लव संख्याले पनि कुकुरको व्यापार बढाएको छ । अहिले काठमाडौंमा रहेका ४० भन्दा धेरै केनल क्लवमार्फत कुकुरको व्यापार हुँदै आएको छ । यी केनल क्लवमार्फत करिब ५० जातका स्वदेशी तथा विदेशी कुकुरको व्यापार हुने गरेको छ । अहिले एउटा केनल क्लवले मात्रै वार्षिक एकसयवटा भन्दा धेरै कुकुरको व्यापार गर्न थालेका छन । अहिले सम्म कुकुरको किनबेच राजधानी केन्द्रित छ । नेपालमा व्यापार हुने मध्ये सबैभन्दा महँगो कुकुर एक लाख ५० हजार रुपैयाँसम्मको रहेको छ । उनका अनुसार बुल डग जातको यो कुकुर नेपालमा व्यापार हुनेमध्येको अहिले सम्मकै महँगो हो ।

नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठन निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् । मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछौ । यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यहि ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितिकी तन्त्रका रुपमा हरेक प्राणिहरुको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ ।

हामी प्रकृतिको पुजारी हौ । त्यसैले हामी हिन्दु धर्म प्रति आस्थागर्ने सबैले प्रकृति र जनावरलाई पुज्ने गर्दछौ । घर पालुवा कुकुर मात्र होइन धेरै कुराहरु मानिसहरुले भन्दा जनावरहरुले चाडै थाहाँ पाउछन । जनावरको यो थाहाहुने शैलिलाई बिज्ञानले भने मान्यता दिएको छैन । तर पनि धेरै देशका मानिसहरुले जनावरको चाललाई भुकम्प आउने समयलाई मान्ने गरेको पाइन्छ । पशुपक्षीले भूकम्पको पूर्वसंकेत गर्छन भन्ने विश्वास शताब्दीऔं पुरानो हो । यद्यपि कस्तो महसुस गर्छन्न भन्नेचाहिँ अझै पत्ता लागेको छैन । विशेषज्ञहरुका अनुसार पशुपक्षीमा मानिसमा भन्दा धेरै गुणा बढी श्रवण क्षमता हुन्छ । उदाहरणका लागि गाउँ घरमा पाइने गोठे लाटोकोसेरोमा मानिसको भन्दा १० गुणा बढी श्रवण क्षमता हुन्छ । मानिसका कानले सुन्नै नसक्ने आवाज पनि तिनले चर्कोसँग सुन्न सक्दछन । त्यस्ता जनावर र चराले धेरै टाढाका सूक्ष्म आवाज पनि अग्रिम सुन्ने हुनाले पूर्वसंकेत पाउँछन् ।

Comments
Loading...