युरिया मल पाएपछि रामपुरका किसान खुशी

0 129

बन्दना पोखरेल । (रामपुर) पाल्पा
धान खेतीका लागि मल चाहिएको बेला जताततै मलको अभाव भएपछि किसानहरु निराश छन् तर रामपुर नगरपालिकाका कृषकलाई बुधवार तीन स्थानबाट मल वितरण गरिएको छ । मल पाउदा किसान खुशी भएका छन् ।

विजयपुर कृषि सहकारी संस्थाको व्यवस्थापन तथा खरिदमा रामपुर नगरपालिका संगको समन्वयमा किसानलाई मल वितरण गरिएको हो । दर्छा हरियाली कृषि सहकारीको कार्यालय रजघराबाट २० बोरा युरिया मल प्रतिव्यक्ति दुई किलो, विजयपुर कृषि सहकारी कार्यालयबाट ४० बोरा प्रतिव्यक्ति दुई किलो, बराह कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति डेढ किलो मल वितरण गरिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

नगरपालिकाका कृषि शाखा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, सहकारीका पदाधिकारी, प्रहरीको रोहबरमा मल वितरण गरिएको हो । साल्ट टेडिङ्ग कर्पोरेशन कम्पनीको पूर्वी पाल्पाकै एकमात्र आधिकारक बिक्रेता विजयपुर कृषि सहकारीले मल खरिद गरेर वितरण गरेको अध्यक्ष सूर्यप्रसाद रेग्मीले जानकारी दिए । किसानलाई प्रतिकिलो १८ रुपैयाँका दरले मल वितरण गरिएको हो । पसाउन लागेको धान बालीमा मल राख्न नपाएपछि कृषकलाई समस्या परेको छ । मलको अभाव भएपछि धान उत्पादन घट्ने कृषक चिन्तामा छन् । सहकारीले मल वितरण गर्ने सुचना पाएपछि बिहान ४ वजे देखि नै कृषक कार्यालयमा पुगेका थिए । कृषकको भीडले मल वितरणमा हम्मेहम्मे परेको थियो । स्थानीय युवाको सहयोग लिएर मल वितरण गरिएको हो । रामपुरमा यस वर्ष १८०० हेक्टर जमीनमा धान खेति लगाईएको छ ।

Comments
Loading...