रामपुरमा कोरोना खोपमा अनियमितता भएको भन्दै छानविन गर्न एमालेको माग
पाल्पा । रामपुर नगरपालिका संचालन भएको खोप सेवामा लापबाही भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारले ६२ देखि ६४ बर्षका नागरिकका लागि निशुल्क उपलब्ध गराएको खोप लक्षितवर्ग बाहेकका नागरिकले समेत लापबाही तरिकाले लगाएको भन्दै सम्बन्धित निकायले यसको छानविन गरि यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको छ ।
नेकपा एमाले रामपुर नगरकमिटि संयोजक विष्णुप्र्रसाद रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तीमा रामपुर नगर नगरपालिकाले जेठ २५ र २६ गते वडागत रुपमा र छुटेका तोकिएको उमेरका नागरिकलाई २७ गते रामपुर अस्पतालमा खोप लगाउने सार्वजनिक सुचना जारी गरेपनि पुनः २८ गते बिना सुचना जनप्रतिनिधी, स्वास्थ्यकर्मी र राजनितिक पहुँचको आधारमा आफ्ना मानिसलाई बोलाएर खोप लगाएको गुनासो बढेकोले सत्य तथ्य रुपमा खोप वितरणको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
खोप वितरणमा व्यापक अनियमिता भएको प्रति गम्भिर ध्यानाकर्षण भएकोले खोप लगाउने व्यक्तिको उमेर, ठेगाना सहितको विवरण सार्वजनिक गर्न र खोप अनियमिता सन्दर्भमा सम्बन्धित निकायले छानविन गरि अविलम्ब कारबाही गर्न विज्ञप्ती मार्फत एमाले नगरकमिटिले माग गरेको छ ।
यता रामपुर नगरपालिका स्वाश्थ्यशाखाले खोप फिर्ता गर्नुभन्दा छुटेका नागरिकलाई लगाएको जनाएको छ । स्वाश्थ्यशाखा प्रमुख गिरिराज घिमिरेले सबै नाम लिष्ट एकिन फाइल गर्नै भएकोले देखाउन नमिल्ने बताए । नगरपालिकामा उपलब्ध ५ सय ५२ डोज खोपमध्ये वडा नम्बर १ ,२,३ र ४ नम्बर वडामा जेठ २५ गते ,वडानम्बर ५,६,७,८,९ र १० नम्बर तथा वडामा २६ गते र खोप लगाउन छुटेका ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई २७ गते रामपुर अस्पतालमा खोप लगाइएको स्वाश्थ्य शाखाका नर्सिङ अधिकृत पुनम धितालले बताए ।
नगरपालिका स्वाश्थ्य शाखाले अहिलेसम्म ६ सय ३७ जनाले खोप लगाएको सार्वजनिक गरेको छ । जेठ २८ गते खोप लगाउनेहरुले भने आफूहरुलाई स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीले बोलाएरै खोप लगाएको बताएका छन् ।
सरकारले निशुल्क उपलब्ध गराएको खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ उमेर समूहका नागरिक तथा उपत्यका बाहिर ६२ देखि ६४ बर्षका नागरिकलाई खोप लगाउने मापदण्ड बनाएको थियो । यता रामपुर नगरपालिकामा भने लक्षितवर्ग भन्दा बाहिरका नागरिकले पनि खोप लगाएको जनगुनासो बढेको छ ।