रामपुरमा बाजा बजाएर सरसफाई

0 287

संस्कृति संरक्षण पनि हुने सरसफाई पनि हुने
सुशीला रेग्मी । रामपुर
गाउँमा बाजा बज्न थालेपछि दशै लाग्यो भन्ने आभाष हुन्थ्यो । यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ । यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन । बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा, ढोलक बज्न थालेपछि दशै शुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो । बाद्यवादक सहित नौमती, पञ्चेबाजको तालमा गाउँभरी सरसफाई गरेर दशैलाई स्वागत गर्ने परम्परा अहिले कतै देख्न र सुन्न पाइदैन । पाल्पाको रामपुरमा भने पूरानो संस्कतिलाई यसवर्ष देखि जोगाउने अभियान शुरु भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ बाट दशैमा बाजा बजाएर सरसफाई गर्ने संस्कार थालनी भएको छ । पूरानो परम्परा गाउँमा हराउँदै जान थालेपछि अहिले युवा पुस्तालाई रितिरिवाज, संस्कार संस्कृति सिकाउन बाजा बजाएर सरसफाई अभियान थालनी गरिएको तालपोखरा टोल विकास समितिका अध्यक्ष थिरलाल ढकाल बताउनुहुन्छ । “पहिला म आफैले गाउँका सबै स्थानीयलाई सहभागी गराएर बाजा बजाएर सरसफाई कार्यक्रम गराउँदथे, ८÷९ दिनसम्म लगातार गाउँका खाल्डाखुल्डी पुर्ने, बाटो खन्ने, झाँडी सरसफाई गरिन्थ्यो” उहाँले भन्नुभयो,–“हिजोको संस्कार सुनाउँदा नयाँ पुस्तालाई कथा सुनाएजस्तो भयो, पूरानो रितिरिवाज हराउन नदिन बुढ्यौली टेकेपनि लागिपरेको
छु” ।

स्थानीय बाजागाजाको साथमा स्वागत गर्दा गाउँमा दशैको रौनक बढेको छ । विभिन्न कामकाजमा व्यस्त रहने व्यक्तिलाई पनि दशै लागिसक्यो भन्ने अनुभुती दिलाएको छ । समाजलाई सही दिशामा अगाडी बढाउन राम्रा खालका पूरानो संस्कृती पनि अवलम्वन गर्नु आवश्यक रहेको हुदा ती संस्कृतीले पर्वमा बिशेष महत्व झल्काउँने भएकाले संस्कृति संरक्षणमा वडाबाटै अभियान थालनी गरेको वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभयो । “राम्रा कुरा छन् भने त्यसलाई जीवन्त राख्नुपर्छ, हाम्रा गाउँघरमा चलिआएका परम्परागत संस्कृतिहरु अहिले लोप हुदै गएको अवस्था छ” उहाँले भन्नुभयो “नयाँ पुस्तामाझ आउँदा बिशेष महत्व बोकेका कला संस्कृति नै हराउँदै जाँदा मानिसको जीवनमा केही कुराको अपूर्णता रहेको अनुभुती हुन्छ” ।

तालपोखरा युवा समुहले बाजा बजाएर सरसफाई कार्यमा जुटेका स्थानीयलाई स्वागत गरेका हुन् । विभिन्न प्रतिभा भएका व्यक्तिहरुको बसोबास रहेको यस समाजका बालबालिका, युवा तथा ज्येष्ठ सदस्यहरु सामुहिक रुपमा बाजा बजाएर दशैलाई स्वागत कार्यमा जुटेको बताउनुहुन्छ, तालपोखरा युवा समुहका अध्यक्ष हरी थापा । यसरी सामाजिक कार्यमा निस्कदा आफूसंग भएका प्रतिभा बाहिर ल्याउने अवसर बनेको छ भने अर्कोतर्फ हराउँदै गएको संस्कृति जगेर्ना गर्ने माध्यम बनेको उहाँको भनाई छ ।

यस कार्यक्रममा बालबालिका, युवापुस्ता मात्रै नभई ज्येष्ठ नागरिकको उत्साहजनक सहभागीता छ । समुदायबाटै बाजा बजाएर दशैलाई स्वागत गर्ने कार्य नौलो मान्दै नयाँ पुस्ताले सरसफाई कार्यमा सक्रियतापूर्वक जुटेका छन् । यस्ता समाजमा चलनचल्तीमा रहेका संस्कृतिलाई अवलम्वन गर्दै निरन्तरता दिन यहाँको वडा कार्यालयले शुरु गरेको अभियानमा सहभागीले नयाँ पुस्तामा संस्कृति सिक्ने वातावरण बनेको बताएका छन् ।
वडामा रहेका ११ वटै टोल विकास समितिमार्फत सरसफाई अभियान शुरु गरी अहिले वडाका सबै टोल वस्तीमा सरसफाई कार्यक्रम चलिरहेको वडा सचिव बासुदेव ढकाल बताउनुहुन्छ ।

“नयाँ युगमा प्रवेश गरेपनि पूराना राम्रा चलनलाई निरन्तरता दिन बाजागाजा सहित सबैलाई सकारात्मक सन्देश प्रवाह गर्न वडामा दशैलाई स्वागतका साथ सरसफाई अभियान थालनी गरिएको छ, पर्व अनुसार चलनचल्तिमा रहेका मौलिक संस्कृतिलाई हामी हराउन दिनुहुदैन” उहाँले भन्नुभयो । बाजा तथा भजनकृतन गरेर स्वागत गरेपछि गाउँमा दशैको चटारो हुन्थ्यो । यहाँका स्थानीयले वडा कार्यालयको सहयोगमा मौलिक संस्कृतिलाई अनुशरण गरी पहिलेजसो नै बाजा बजाएर गाउँघर सरसफाई अभियान कार्यमा सहभागी हुदा बल्ल दशै आएको अनुभुती गर्नुहुन्छ, स्थानीय हुमा देवकोटा । यस अभियानको अन्य स्थानमा पनि सिको गरियो भने परम्परागत संस्कृति संरक्षण हुनेछन् । यस्ता कार्यमा स्थानीय सरकारले चासो दिएर काम गर्नुपर्नेछ ।

वडाका ११ वटै टोल विकास संस्थाको सक्रियतामा सरसफाई अभियान कार्यक्रम शुरु गरिएको छ । पछिल्लो समय पिङ राख्ने र खेल्ने परम्परा गाउँघरमा हराउँदै जाँदा वडा कार्यालयले सबै टोलमा कम्तिमा एकवटा पिङ राख्ने अभियान ल्याएको छ । सबै टोल विकास संस्थालाई वडा कार्यालय मार्फत पिङ राख्न एक÷एक वटा डोरी उपलब्ध गराउने वडाले जनाएको छ ।

Comments
Loading...