रेफर लेटर बनाउने प्रक्रियाले बिरामीलाई हैरानी

0 307

पाल्पा । रेफर लेटर बनाउनकै लागि बिरामीहरुले दुख पाउँदै आएका छन् । कोरोना महामारी फैलिदै गएपनि पाल्पा अस्पतालमा भने रेफर बनाउनका लागि दैनिक ४ सय जना सम्मको भिड लाग्ने गरेको छ ।

पहिलो चरणको कोरोना महामारी सुरु भएपछि थप कोरोना फैलिन सक्ने भन्दै २०७६ चैतबाट २०७७ पुसम्म रेफर लेटर सिस्टम हटाई बिरामी सिधै सम्वन्धित अस्पतालमा जान पाउने ब्यवस्था मिलाइएको थियो । यो समयमा बिरामीहरुलाई सहज भएको थियो । पुनः २०७७ माघदेखि रेफर सिस्टम अनिवार्य गरिएको हो ।

मान्छे बिरामी भएपछि सहज रुपमा उपचार पाउनुपर्ने हो तर यहाँ टिकट लिनकै लागि बिरामीले सास्ती भोग्दै आएका छन् । सरकारले कुनै पनि नेपाली पैसा नभएकै कारण उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने योजनाका साथ ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत बिमा गरेका बिरामीहरुले टिकट लिनकै लागि सास्ती बेहोर्नु परेको छ । बिमा कार्यक्रम अन्र्तगत एक परिवारमा ५ जनाको एकमुष्ट ३५ सय रुपैयाँ बुझाएपछि उक्त परिवारले वर्षभरिमा १ लाख रुपैया“ बरावरको उपचार निःशुल्क पाउने ब्यवस्था रहेको छ । त्यस्तै ५ जना भन्दा बढी ब्यक्ति भएको परिवारले ५ जना भन्दा माथि प्रति ब्यक्ति ७ सय रुपैयाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजारको उपचार सुविधा पाउने कार्यक्रम रहेको छ ।

बिमितले पहिलो पटक सरकारी अस्पताल उपचारका लागि जानुपर्ने र त्यहा“ उपचार सम्भव नभए सरकारी अस्पतालले नै अन्य अस्पतालमा रिफर गर्न पाउने ब्यवस्थाका कारण सरकारी अस्पतालमा बिरामीहरुको भिडभाड लाग्ने गरेको हो । बिमा कार्डको नम्बर सहित बिरामीको डिटेल कम्प्युटरमा इन्ट्री गर्नुपर्ने भएकोले १ जना बिरामीको नाम दर्ता गर्न कम्तीमा २ मिनेट समय लाग्छ । अस्पतालमा २ वटा स्थानबाट बिरामीको नाम दर्ता काम गरिएपनि पर्याप्त हुन सकेको छैन ।

अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति विना नै स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन हुँदा समस्या भएको हो । स्वास्थ्य विमा कार्यक्रम सरकारी अस्पतालबाट सञ्चालन गर्ने भनियो तर विमा सम्बन्धी काम गर्ने र आवश्यक औषधि, जनशक्ति र व्यवस्थापन नहुँदा समस्या थपिएको हो । तानसेन नगरपालिका १ का मिन बहादुर थापाले बिरामी भएपछि सहज रुपमा उपचार पाउनुपर्नेमा रेफर लेटर बनाउने थप टेन्सन थपिएकोले यसको तत्काल समाधान गर्नुपर्ने बताए । बगनासकाली–२ का रमेश कुमालले रेफर लेटर बनाउने प्रक्रियाले बिरामीले दुख पाएकोले तत्काल यो प्रक्रिया अन्त्य भई सिधै अस्पतालमा उपचार गराउन पाउने ब्यवस्था हुनुपर्ने बताए ।

पछिल्लो समय तानसेन नगरपालिका, माथागढी गाउ“पालिका सहित जिल्ला अन्य स्थानीय तहहरुले समेत विपन्न, दलित, स्वास्थ्य स्वयम्सेविकालाई समेत लक्षित गरेर स्वास्थ्य विमा गरिरहेका छन् । जिल्लामा ४८ हजार ७ सय ७५ परिवारका १ लाख ९१ हजार ७ सय ४५ जनाले बीमा गराएर सेवा लिइरहेका छन् । ज्येष्ठ नागरिक लागि निःशुल्क बीमा कार्यक्रममा पनि ९ हजार ९ सय १० जनाको बीमा गरिएको स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख त्रिलोचन गैरेले बताए । यी सबै ब्यक्तिहरु बिरामी पर्दा रेफर लेटर बनाउनकै लागि जिल्ला अस्पताल आउनु अनिवार्य छ । युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज समेत पाल्पामै रहेकोले ती अस्पतालमा उपचारका लागि जानका लागि रेफर लेटर बनाउनकै लागि बिरामीहरु जिल्ला अस्पताल आउनु अनिवार्य छ ।

जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले जिल्ला अस्पतालमा दैनिक ६ सय जना सम्म बिरामी आउने गरेको बताए । जसमध्ये ६० प्रतिशत बढी रेफर लेटर बनाउन आउने गरेको उनले बताए । जेष्ठ नागरिकहरुले जति बेला आएपनि रेफर बनाउन पाउने ब्यवस्था मिलाएको र थोरै जनशक्तिले धेरै काम गर्नुपर्दा समस्या भएको उनले बताए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आफु पाल्पा आउने बित्तिकै बिमा समस्या बारे धेरै पटक गुनासो सुन्दै आएको बताए । आफुले यसको समाधानका लागि पहल अगाडि बढाउ“दै आएको भएपनि नीतिगत समस्याका कारण कार्यान्वयन गर्न नसकिएको उनले बताए ।

 

फोटो फाइल

Comments
Loading...