लिचिको उचित मुल्य नपाएको पाल्पाली किसानको गुनासो

0 303

सुशीला रेग्मी । पाल्पा
लिचिले बजार मुल्य नपाएको कृषकले गुनासो गरेका छन् । बिगत तीन वर्ष देखि एउटै मुल्यमा लिचि बेच्न कृषक बाध्य छन् । रम्भा गाउँपालिका वडा नं १ हुँगी बस्ने स्वतन्त्रदेव पन्तले तीन वर्ष सम्म लगातार एउटै मुल्यमा लिचि बेच्नुपर्दा कृषक मारमा परेको बताए । उनको घरमा हाल दुई सय बढी लिचिका बोट छन् ।

मकै र गहुँ बाली राम्रै उत्पादन हुने जग्गामा आजभन्दा तीन दशक अघि देखि पन्तले व्यवसायिक रुपले लिचि खेती सुरु गरेको बताए । लिचिको उत्पादन र बजार मुल्य राम्रै हुदा उनले वार्षिक रु तीन देखि चार लाख सम्म कमाई गर्थे ।
“तीनवर्ष सम्म लगातार एउटै मुल्यमा लिचि बेच्नुपर्ने बाध्यता छ, सबै सामानको महंगी बजारमा आकाशियो तर लिचिको मुल्य भने बढ्न सकेन” उनले भने । बुटवलमा आफ्नै ढुवानी खर्चेर तीनवर्ष यता प्रतिकिलो रु ५० देखि ६५ को हाराहारीमा लिचि बजार पु¥याउने गरेको उनी बताउँछन् ।

पाल्पा जिल्लाकै रम्भाको हुँगी लिचिको नमुना पकेट क्षेत्र हो । यसवर्ष अघिल्ला वर्षको तुलनामा उत्पादन पनि कम छ । बोटमा पात गुजुल्टि पर्ने समस्याले फल कम लागेको छ । साविक हुँगी क्षेत्रका करिव आठ सय घरमा लिचि रहेको छ । एक दुई बोट भएपनि सबैजसोका घर घरमा लिचि रहेको छ । यहाँ उत्पादन भएको लिचि बुटवल, पोखरामा खपत हुने गर्दछ । व्यवसायिक खेतीमा लागेका कृषकले कम्तिमा रु तीस हजार देखि चार लाख सम्मको लिचि बिक्रि गर्ने गर्दछन् । यो वर्ष गतवर्षको तुलनामा पाक्न ढिलाई भएकाले अहिले सम्म हुँगी क्षेत्रबाट ६० क्वीण्टल जति लिचि बाहिर निकासी भएको छ । सरदरमा वर्षेनी ६० देखि ७० टन जति लिचि बजारमा खपत हुने गरेको छ ।

रम्भा गाउँपालिकाले कोरोनाको कहरले गाउँमा उत्पादित लिचि, तरकारी लगायतका कृषि उपज बजार सम्म सहज रुपमा खपत गराउन कृषि एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताए ।
रामपुर नगरपालिका क्षेत्रका कृषक पनि लिची समयमा नै बजारमा बिक्रि गर्न नपाउँदा समस्यामा परेका छन् । लिची बोटमा पाकेर भुईमा झर्न थालिसक्यो तर बजारमा बिक्रि गर्न नपाउँदा कृषक पिरोलिएका छन् । रामपुर नगरपालिका वडा नं १० गेझाका ऋषिराम तिमिल्सिनाका घरमा पाँच वटा ठुला उत्पादनशिल लिचिका बोट छन् । बोटमा लिचि पाकेर कोही झर्ने, कोही चराचुरुङ्गीले सताउन थालिसक्यो तर बजारमा बिक्रि गर्न सहज नभएको उनी गुनासो गर्छन् ।

“बजारमा बिक्रि सक्ने अवस्था नै छैन, यदाकता बिक्रि भइहाले पनि मुल्य नै छैन, व्यापारीले पनि बजार बन्द भएकाले कम मात्रामा लिचि खरिद गरेका छन्, प्रतिकिलो ४५ मा पनि लिचि बिक्रि गर्न बाध्य छौँ” तिमिल्सिनाले भने । नियमित रुपमा गाउँमा नै पुगेर बोट नै खरिद गर्ने व्यापारीहरु पनि यो वर्ष बन्दाबन्दीले जान नपाउँदा उत्पादित लिची बिक्रि गर्न समस्या परेको हो । केही व्यापारी खरिद गर्न गाउँमा पुगेपनि थोरै थोरै मात्रामा मात्र खरिद गरेर लैजाने गरेकाले उत्पादन भएका लिची बजार पु¥याउन सकस छ ।

पाल्पा जिल्लामा बिशेषगरी लिचिको पकेट क्षेत्र भनेर रम्भा गाउँपालिकाको हुँगी रहेको छ भने यसका अलवा जिल्लाका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका केही क्षेत्र, कालीगण्डकी नदीका आसपासका क्षेत्र लिची उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

जिल्लामा दुई सय ९२ हेक्टर क्षेत्रफलमध्ये उत्पादनशिल एक सय ५१ हेक्टर क्षेत्रफलमा लिची खेती गरिन्छ । मलजल र सिंचाईको मात्रा मिलेमा एक बोटमा पाँच सय किलो सम्म उत्पादन लिन सकिन्छ । केही वर्ष अघि साविक जिल्ला कृषि विकास कार्यालय पाल्पाले अनुदानमा लिचीको विरुवा वितरण गरेपछि व्यवसायिक रुपमा लिची खेती गर्ने कृषकको जिल्लामा आकर्षण बढ्दो छ । जिल्लास्थित विभिन्न स्थानीय तहले पनि खाली रहेका जमिनबाट आयस्रोत लिने गरी अनुदानमा लिचीका विरुवा उपलब्ध गराएपछि विरुवा खरिद गर्न कृषकलाई सजिलो भएको छ ।

गतवर्ष र यसर्ष भने विरुवा रोपण अभियान कार्यक्रम अन्र्तगत लिचि खेतीको माग कृषकबाट नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । गतवर्ष र यसवर्ष फलफूल बाली अन्र्तगत सुन्तला, कागती र आँप खेतीका लागि विरुवाको माग कृषकबाट आएको प्रमुख अर्यालको भनाई छ ।

ज्ञानकेन्द्रले लिचिका लागि कार्यालयबाट बिशेष कार्यक्रम नभएपनि निरन्तर खेती गर्दै आइरहेका कृषकलाई रोग, किराको व्यवस्थापन सम्बन्धी प्राबिधिक सल्लाह दिने काम गरिरहेको छ । कृषकले पुराना बगैचाको व्यवस्थापन नगर्नु, उन्नत प्रबिधिका कृषि क्रियाकलापको अभाव, लिचीमा लाग्ने सुलसुले किराको बिगबिगी, रासायनिक तथा प्राङ्गारीक मलखाद व्यवस्थापनमा कमी भएकाले उत्पादन घट्ने गर्दछ । आधुनिक तरिकाले खेती गरेका कृषकले भने लिचिबाट राम्रै आम्दानी गर्न सफल भएका छन् ।

Comments
Loading...