वडाबाटै भत्ता पाएपछि बगनासकालीबासी खुशी

0 215

भत्ता वितरणसँगै स्वास्थ्य शिविरपनि
पाल्पा । बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति बनाएपछि यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए ।

सबै वडाहरुको पहुचमा बैंक नरहेको र आउन जान समेत समस्या रहेको, बैंकमा पनि सौचालय लगायत जेष्ठ नागरिकमैत्री अन्य वातावरण नभएको भन्ने गुनासो बढेपछि पालिकाले जिल्लामै पहिलो पटक यसप्रकारको सहज बातावरण बनाएको हो । यस अन्तरगत २८ गतेबाट बगनासकालीका वडाहरुमा टोली पुगेर भत्ता वितरण गर्न थालिएको छ ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले सामाजिक सुरक्षा भत्ता लिनकै लागि बैंकमा आउन जान समस्या भएको पालिका बासी नागरिकहरुको गुनासो सम्बोधन गर्दै वडाबाट भत्ता वितरण गरिएको बताउनुभयो । वडामै बैंकका प्रतिनिधिहरू पुगेर बैकिङ प्रक्रियाबाटै भत्ता बितरण गरिनेछ । यसका लागि पालिकाले सबै समन्वय मिलाएको अध्यक्ष चिदीले बताउनुभयो । भत्ता बितरणसँगै सोही स्थानमै जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता लिने ब्यक्तिहरुको लागि लक्षित गरि स्वास्थ्य शिविर पनि संचालन गरिएको उहाँले बताउनुभयो । शिविरमा स्वास्थ्य शाखा सहित सम्वन्धित वडाको स्वास्थ्य चौकी मार्फत स्वास्थ्यकर्मी खटाइएको र आवश्यक औषधीहरुको प्रवन्ध गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले निर्वाचनको समयमा र अन्य समयमा पनि जनताको घरदैलोमा जाने क्रममा सामाजिक सुरक्षा लाभग्राहीहरुको गुनासो र सुझावको आधारमा वडाबाटै भत्तत्रा बितरण गर्न लागिएको बताउनुभयो ।

पालिकाले ९ वटै वडाका लागि भत्ता वितरण गरिने मिति र स्थान सहितको सूचना प्रकाशन गरि तालिका अनुसार वडा वडामा पुगेर भत्ता वितरण गर्दै आएको छ । भत्ता लिन आउने नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र, लाभग्राहीको चेक बुक, लाभग्राही परिचयपत्र तथा पूर्ण अशक्तहरुको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले बताउनुभयो ।
यसरी वडा वडामा पुगेर भत्ता वितरण गरिएपछि स्थानीय समुदायबाट पनि राम्रो प्रतिक्रिया आएको बगनासकाली गाउँपालिका–५ दर्लमडाँडाका वडाध्यक्ष ओमप्रकाश गैरेले बताउनुभयो । यसरी वडाबाटै भत्ता वितरण गर्दा घरबाट टाढा रहेको बैंकमा जाने आउने समस्या समाधान भएको उहाँले बताउनुभयो ।

Comments
Loading...