शिक्षक बिद्यार्थीमा फैलिदै कोरोना, तानसेनमा बेप्रवाह

0 1,024

पाल्पा । संघीय सरकारले बिद्यार्थी, शिक्षक र अभिभावकमा कोरोना संक्रमण फैलिन थालेको भन्दै हुँदै आएका र हुन लागेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेपनि तानसेन नगरपालिकाले भने सरकारको निर्णयको अवज्ञा गरेको छ ।

सोमवार तानसेनमा कक्षा १० का टेष्ट परीक्षा संचालन भएका छन् । दिउँसोको परीक्षा समेत स्थगन गर्ने बारे कुनै निर्णय नभएको बताइएको छ । तानसेनमै पनि एक नीजि बिद्यालयका सहायक प्रिन्सिपल, अर्को सामुदायिक बिद्यालयका सहायक प्रधानाध्यापक सहित केही बिद्यार्थी अन्य शिक्षकहरुमा समेत कोरोना पुष्टि भईसकेको छ । तानसेनका शिक्षक र बिद्यार्थी गरि १० जना भन्दा बढी सक्रिय संक्रमित रहेको तथ्यांक छ । तर पनि शिक्षा शाखा र सम्बन्धित बिद्यालयहरुले कोरोना संक्रमित शिक्षक बिद्यार्थीलाई लुकाई फि उठाउन सहयोगी बन्ने गरि बेप्रवाह परीक्षा चलाएको भन्दै अभिभावकहरुले आलोचना गरेका छन् ।

तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले संघीय सरकारको निर्णय भएपनि नगरपालिकाले अहिलेसम्म कुनै निर्णय गरिनसकेको बताए । अहिले आफु बाहिर रहेको र दिउँसो मात्रै बैठक बसेर निर्णय गरिने उनले बताए । संस्थागत बिद्यालयहरुले बिद्यार्थीहरुले केही महिनादेखि फि उठाउन बाँकी रहेको र त्यही फि उठाउनका लागि तत्काल परीक्षा गर्ने निर्णयमा नगर शिक्षा शाखा प्रभावित भएको भन्दै तीव्र आलोचना समेत हुँदै आएको छ । जिम्मेवार निकायबाट भएको लापरबाहीका कारण कुनै दुर्घटना भए त्यसको जिम्मेवार स्वयम् शिक्षा शाखा हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले सरकारको निर्णय स्थानीय मान्ने बताए । परीक्षाको बिषयमा परीक्षा समिति र शिक्षा शाखालाई निर्णय गर्ने अधिकार रहेको उनले उल्लेख गरे । स्थानीय बिद्यालयहरु शिक्षा शाखाले के जानकारी गराउछ र कार्यान्वयन गर्ने भन्नेमा रहेका छन् । तर शाखा नै बेप्रवाह भएपछि तानसेनका बिद्यालयहरु परीक्षा चलाउने वा नचलाउनेमा अन्यौल भएका छन् ।

Comments
Loading...