शैक्षिक अधिकारको कसीमा पाल्पाका बोटे

0 443

यज्ञमूर्ति तिमल्सिना

पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा पर्छ बगनासकाली गाउँपालिका । यही गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र वडा नं. ६ स्थित यम्घाको दर्पुकमा बस्छन् सीमान्तकृत बोटे समुदाय । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका १७ घर छन् । त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसङ्ख्या १२० छ भने दर्पुकमा यो समुदायको जनसङ्ख्या ३ सय ५० छ । हुन त यी दुवै गाउँमा ब्राह्मण, मगर समुदायको पनि बसोबास छ तर बोटे समुदायको रहनसहन र सांस्कृतिक पहिचान भने बेग्लै छ । यहाँमात्रै हैन, पाल्पाको तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।

२०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या १० हजार छ । पाल्पामा भने यो जातिको जनसङ्ख्या ८ सय ३ छ । जसमा महिलाको सङ्ख्या ४ सय ३९ छ भने पुरुषको सङ्ख्या ३ सय ६४ छ । पाल्पाको कुल जनसङ्ख्या २ लाख ६१ हजार १ सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसङ्ख्या भने ०.३१ प्रतिशत हुन आउँछ । त्यस्तै ६७१ बोटेले मातृभाषा बोल्छन् । कुल जनसङ्ख्याका आधारमा मातृभाषा बोल्नेको प्रतिशत ०.२६ छ । पाल्पाबाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँलगायतका जिल्लामा समेत बोटे जातिको बसोबास रहेको पाइन्छ ।

यो जातिको मुख्य पेशा कालीगण्डकीमा डुङ्गा चलाउने, माछा मार्ने भए पनि १० वर्षअघि कालीगण्डकी नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा चलाउने पेशा बिस्थापित भएको स्थानीय बोटे अगुवा ८० वर्षीय गजवीर बोटेले बताए । अन्यत्रका बोटे जस्तो यहाँका बोटेले गण्डकी किनारमा सुन खोज्ने काम गर्दैनन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा भारत गएका छन् । छिमेकमा रहेका ब्राह्मण, मगर समुदायका व्यक्तिका घर र बोटेका घर त्यसै पनि फरक छन् ।

अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी/डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदूरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।

हुन पनि २० वर्षपहिले दैलातुङमा ३६ घर रहेका बोटे अहिले घट्दै गएर १७ घरमा सीमित भएका छन् । दर्पुकमा भने बोटेहरूको बसाइँ सराइ छैन । कमाउन सक्ने जति कोही भारत गए, कोही नेपालकै विभिन्न ठाउँमा पुगेका छन् । दैलातुङकी उमा बोटेले आर्थिक उन्नतिको अवसरका लागि बोटे समुदायका मानिस पनि यहाँबाट अन्त बसाइँ सर्ने क्रम बढेको बताइन् । कालीगण्डकी नदीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा सङ्कटमा परेपछि यहाँका बोटे समुदायका मानिस हातमुख जोर्नका लागि गाउँ छाड्दै गएको उनले बताइन् ।

सानै उमेरमा बिहे गर्ने चलन रहेको भन्दै १० पास गरेर पढाइ छाडेकी टीका बोटेले खेतीपाती र निमेकमा हिँडेर परिवार धान्नुपरेको दुखेसो गरिन् । ‘१० वर्षअघिसम्म बाबु/आमासँगै गण्डकी किनार र मेलापातमा बोटे बालबालिकाले समय बिताउने गरेकामा आजकल भने अलि अलि पढ्नुपर्छ भन्ने चेतना बढ्दै गएको छ’– उनले भनिन् ।

बोटे बालबालिकाको शैक्षिक अवस्था

दैलातुङ फाँटको बोटे गाउँमा अहिले १७ बोटे परिवारको बसोबास छ । यहाँ नजिकै कक्षा ८ सम्म पढाइ हुने दैलातुङ आधारभूत विद्यालय छ । विद्यालयमा सबै बोटे बालबालिका भर्ना भएका छन् । यो विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म गरी २३ जना विद्यार्थी बोटे छन् । केही वर्षअघिसम्म यहाँका बोटे अभिभावकमा छोरा/छोरी विद्यालय पठाउनुपर्छ भन्ने चेतनासमेत थिएन । बालबालिका पनि विद्यालय जान र पढ्न रुचि देखाउँदैनथे । बोटे बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले उनीहरूलाई दैनिक खाजा भत्ताको व्यवस्थासमेत गरेको छ । तर उक्त कार्यक्रम त्यति प्रभावकारी हुन सकेको छैन । उनीहरूमा सरसफाइ, नियमित गृहकार्य, न्यानो लुगा, आवश्यक शैक्षिक सामग्रीको भने सधैँ अभाव छ । विद्यालयका प्रधानाध्यापक केशवराज खरालले ५ वर्षअघिबाट सरकारले शिक्षा विकास तथा समन्वय एकाइमार्फत बोटे बालबालिकाका लागि दैनिक खाजाबापत १५ रुपियाँ उपलब्ध गराउँदै आएको बताए । दैनिक हाजिर भएकाले मात्रै भत्ता पाउने भएकाले बालबालिकाको विद्यालय आउने दर केहीरूपमा बढेको उनले बताए ।

गाउँकै विद्यालयमा जसोतसो कक्षा ८ सम्म पढेका बोटे बालबालिका माध्यमिक शिक्षा लिनका लागि झण्डै २ घण्टाको उकालो पैदलबाट खानीगाउँ मावि रामबगैँचा पुग्नुपर्छ । त्यसैले कक्षा ८ पास भइसकेपछि निकै कमले मात्रै माध्यमिक शिक्षा लिने गरेका छन् । एकातिर घरायसी काम, अर्कोतिर आर्थिक अभाव र विद्यालय आउन/जानकै समस्याले ज्यादै कमले मात्रै माध्यमिक शिक्षा लिने गरेका छन् । अहिलेसम्म यो गाउँबाट ५ जनाले मात्रै एसएलसी उत्तीर्ण गरेका छन् । जसमध्ये ४ जना पुजा, उमा, आशीष र दीपक बोटे एकै घरका हुन् । त्यस्तै अर्की ममताले पनि एसएलसी उत्तीर्ण गरी कक्षा १२ मा पढिरहेकी छन् । यो गाउँबाट अहिले कक्षा ८ देखि १० सम्म पढ्ने १ जनामात्रै छन् । झमन बोटे खानीगाउँ माविमा कक्षा ९ मा पढ्छन् तर उनी पनि आक्कलझुक्कल मात्रै विद्यालय जान्छन् । निजामती सेवा, शिक्षक सेवालगायतका सरकारी निकायमा यहाँबाट १ जना पनि आबद्ध छैनन् ।

वडा नं. ६ को दर्पुकमा रहेको भगवती आधारभूत विद्यालयमा कक्षा इसिडी देखि कक्षा ८ सम्म गरी जम्मा १ सय ५ जना विद्यार्थी छन् । जसमध्ये ७५ जना बालबालिका बोटे समुदायकै छन् । यो विद्यालयबाट २०७० देखि २०७५ सालसम्मको अवधिमा १४ जना छात्र र १६ जना छात्राले कक्षा ८ उत्तीर्ण गरेका छन् । तर, यो ५ वर्षको अवधिमा यहाँबाट माध्यमिक तहसम्मको शिक्षा लिने बोटे बालबालिकाको सङ्ख्या भने ११ जनामात्रै छ । अन्य १९ जना बालबालिका माध्यमिक तहको शिक्षा लिन विद्यालय नै गएनन् । गाउँमा १ जनाले मात्रै कक्षा १२ उत्तीर्ण गरेकी छन् । गाउँबाट पहिलो कक्षा १२ उत्तीर्ण रूपा बोटेले अहिले स्थानीय भगवती आधारभूत विद्यालयमा मासिक ४ हजार ५ सय रुपियाँ पाउने गरी निजी स्रोतमा अध्यापन गराउँदै आएकी छन् ।

भगवती आधारभूत विद्यालयबाट कक्षा ८ उतीर्ण भई यहाँका बोटे बालबालिका माध्यमिक शिक्षाका लागि बगनासकाली ४ राम्दीमा रहेको राम माविमा आउने गर्छन् । दर्पुकबाट यो विद्यालयमा १ घन्टाको पैदलबाट सजिलै आउन सकिन्छ । यसरी हेर्दा दैलातुङको तुलनामा दर्पुकका बालबालिकालाई माध्यमिक शिक्षा लिन विद्यालयसम्म पुग्न धेरै सहज छ । दर्पुकका बोटे समुदायका यो विद्यालयमा अहिले कक्षा ९ मा १ जना छात्र मिलन बोटे र २ जना छात्रा निरुता र रजनी बोटे अध्ययन गर्दै आएका छन् । त्यस्तै कक्षा १० मा १ जना छात्र प्रवीन बोटे र ३ छात्रा रीता, सुमित्रा र सरिता बोटेले अध्ययन गर्दै आएका छन् । कक्षा ११ मा १ छात्र रामकृष्ण र २ छात्रा मञ्जु र मनीषा छन् । कक्षा १२ मा बोटे समुदायका १ जना पनि बालबालिका नरहेको विद्यालयका प्रधानाध्यापक डोलराज बस्यालले बताए । ५ वर्षअघिसम्म दर्पुकमा बोटे समुदायबाट एसएलसी पास गर्ने १ जना पनि थिएनन् ।

बोटे बालबालिकाको शैक्षिक अधिकारका लागि स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको पहल

गाउँको स्कुलमा कक्षा ८ सम्म पढ्ने अधिकांश बोटे बालबालिकामा पनि शिक्षाप्रति खास रुचि देखिँदैन । कतिपय बोटे विद्यार्थी विद्यालयमा अन्तिम घण्टीसम्म बस्दैनन् । विद्यालय आएका बोटे बालबालिकाको पनि सरसफाइ पक्ष निकै कमजोर देखिन्छ । गाउँमै माध्यमिक तहको विद्यालय नहुँदा घण्टौँ हिँडेर विद्यालय जानुपर्ने भएकाले पनि यहाँका बोटे बालबालिकाले माध्यमिक तहको शिक्षा लिन रुचि नदेखाएका हुन् । यसबाहेक अभिभावकहरूमा पनि ‘कक्षा ८ पास भएपछि पुगिहाल्यो नि’ भनेर सन्तुष्टि मान्ने चलन कायमै छ ।

यो समस्या समाधानका लागि स्थानीय वडा कार्यालय र गाउँपालिका सरकारले समेत चासो दिएका छैनन् । बोटे बालबालिका केन्द्रित कुनै पनि कार्यक्रम उनीहरूले बनाएका छैनन् । कहिलेकाहीँ यो समुदायका विद्यार्थीका लागि कुनै कुनै गैरसरकारी संस्था र सहयोगी व्यक्तिहरूले शैक्षिक सामग्री वितरण गर्ने गरे पनि त्यसमा नियमितता भने छैन । बोटे बालबालिकाको शैक्षिक निरन्तरताका लागि कुनै पनि गैरसरकारी संस्थाले काम गरेका देखिएको छैन ।

स्थानीय सरकारको पहल शून्य

यो समुदायको शैक्षिक सुधारका लागि स्थानीय सरकार बगनासकाली गाउँपालिकाले ठोस कार्यक्रम बनाउन सकेको छैन । बोटे बस्तीसम्म मोटर बाटो, पिउने पानी व्यवस्थापन र बोटे समुदायकै लागि लक्षित गरेर दर्पुकमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइए पनि शिक्षाको सवालमा ठोस कार्यक्रम बन्न नसकेको बगनासकाली गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बोटे समुदायका बालबालिकाको शैक्षिक निरन्तरताको विषयमा पटक–पटक छलफल भए पनि खास कार्यक्रम भने बनाउन नसकिएको स्वीकार गरे । बगनासकाली गाउँपालिकालाई यसै आर्थिक वर्षमा बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत बालमैत्री पालिका घोषणा गर्ने तयारी गरिएको र उक्त कार्यक्रममार्फत बोटे बालबालिकालाई समेत सम्बोधन गर्दै अगाडि बढ्ने जानकारी दिए ।

अध्यक्ष बस्यालले बोटे समुदायका बालबालिकालाई विद्यालय ल्याउन/लैजान सहज होस् भन्ने उद्देश्यले भगवती आधारभूत विद्यालयमा गाउँपालिकाको सहयोगमा १ जना निजी स्रोतमा बोटे समुदायकै शिक्षिका राखिएको बताए । २ वटै गाउँमा रहेका विद्यालयमा बोटे समुदायबाटै शिक्षक व्यवस्थापन गर्न सक्ने हो भने उक्त समुदायका बालबालिकालाई विद्यालय ल्याउन/लैजान सहज हुने भएकाले दैलातुङमा पनि त्यस्तै व्यवस्था गर्न लागिएको उनको भनाइ छ । गाउँकै स्कुलमा जसोतसो कक्षा ८ उत्तीर्ण भएपछि धेरैजसो बोटे बालक रोजगारीको सिलसिलामा आफ्ना अभिभावकसँगै भारततर्फ जाने गरेका छन् । बाँकीमध्ये केही र अधिकांश बालिका घरायसी काममा लाग्ने गरेका छन् ।

सन्दर्भ सामग्री

– नेपालको जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग

– नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७

– बोटे अगुवाहरूसित गरिएको कुराकानी

– मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८

– विद्यालयका प्रधानाध्यापकसहित सरोकारवालासित गरिएको कुराकानी

साभार इन्सेक अनलाइन

Comments
Loading...