श्रीनगरको प्राकृतिक सुन्दरता

0 283

–के.वि.मसाल
बसन्त ऋतुको सुरुवात सगै अर्थात चैत्र महिना लागेपछि तानसेनको श्रीनगरमा पर्यटकहरुको भिडभाड हुन थाल्दछ । प्रदेश नम्वर पाचँको पाल्पा तानसेनको श्रीनगर हरियाली स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताका कारण घुमफिर गर्न पर्यटकहरुको रोजाईमा पर्दछ । श्रीनगरमा विभिन्न ठाँउबाट दैनिक जसो धेरै पर्यटकहरु पिकनिक मात्र होइन हिमालको दृष्यावलोकन गर्न पनि पुग्दछन् । अन्य दिन भन्दा बिदाको दिन पिकनिक खाने र घुमफिर गर्नेको भिडनै लाग्छ । श्रीनगर प्रकृति प्रेमीका लागि रोजाइको स्थलमा पर्दछ । करिव १ हजार पाचँसय रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त वातावरण छ । श्रीनगरको जगल क्षेत्रमा चितुवा, खरायो, दुम्सी आदि जनावरहरु र कालिज, तित्रा, कोइली प्रजातिका पन्छीहरु रहेका छन् ।

श्रीनगर पुगेपछि पर्यटकहरु प्राकृतिक सौन्दर्यले एकैछिन त अचम्मीत हुन्छन् । कतिपय पर्यटकहरुले धर्तीको स्वर्ग रहेछ भन्छन् । मौसम सफा भएको बेला श्रीनगरबाट तानसेनलाई हेदा बादलमाथिको सुन्दर नगरी जस्तो देखिन्छ । अझ माडी फाँटलाई बादलले ढाक्दाको दृश्यले तानसेन बादलमाथि तैरिइरहेको सुन्दर नगरजस्तो देखिन्छ । उत्तरतिरका सेतै टल्किने हिमश्रृखला, सूर्योदय र सूर्यास्तपख देखिने मनोरम प्राकृतिक छटालार्ई आँखामा थुनिराखूँझैं गराउँछ । श्रीनगर प्राकृतिक रुपले मात्र सिगारिएको छैन, यो स्थल ऐतिहासिक पनि हो । मुकुन्दसेन प्रथमका सन्तान मुकुन्दसेन द्वितीयका छोरा महादत्तसेनले गोर्खा राज्य विस्तारको क्रममा सहयोग गरेबापत अर्घा, खाँची र गुल्मी राज्यहरु उपहार पाएका थिए । राज्यको सीमा फैलिएपछि राज्यलाई सुव्यवस्थित बनाउन महादत्तसेनले श्रीनगरलाई पाल्पा राज्यको राजधानी बनाएका थिए । राज्य सन्चालन गर्दाको बखत निर्माण भएका भवन र दरवारका भग्नाभेषहरु अहिले पनि पर्यटकहरुले देख्न सक्दछन् ।

श्रीनगरमा शान्त वातावरण, वरिपरी जंगल, सल्लाका रुख र लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिदै श्रीनगर पार्कमा पुगिन्छ । पार्कको पूर्व दिशातिर बौद्ध स्तूप पर्दछ । बौद्ध स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन् । यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ । प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेका थिए । श्रीनगर आफैमा प्राकृतिक भ्युटावर हो । तर पनि पर्यटकहरुलाई थप आकर्षण गर्न श्रीनगरमा निर्माण भएको ३२ मिटर अग्लो ९ तले भ्युटावर पर्यटकहरुका लागि प्रमुख आर्कषणको केन्द्र बनेको छ । श्रीनगरको सुन्दर बगैचा, एकान्त बाताबरणले पनि सबै पर्यटकहरको मन लोभ्याउछ । भ्यु टावरबाट तानसेन बजार, माडीफाट, तराईका समथर भुभाग र बिभिन्न हिमश्रृखंलाले पर्यटकहरलाई आनन्दित बनाउछ । मौसम सफा हुदा श्रीनगरबाट माछापुच्छ,े धौलागिरी, अन्नपूर्ण, मनास्लु, गौरीशंकर जस्ता सेतै टल्केका हिमश्रृखंलाहरु पर्यटकहरुले दृष्यावलोकन गर्न पाउछन् । श्रीनगरमा बालबालिका खेल्नका लागि चिल्ड्रेन पार्क पनि निर्माण भएको छ । अर्को तर्फ श्रीनगरमा हनुमान मुर्ति, बौद्ध स्तुप लगाएत अन्य संरचनामा रमाउदै सल्लाघारीको शिरसिरे हावा र प्राकृतिक सौन्र्दयतामा पर्यटकहरु रमाउछन् ।

शनिबार विदा मनाउन तानसेनबासी मात्र होईन छिमेकी जिल्ला रुपन्देही, नवलपरासी,कपिलवस्तु,गुल्मी,पर्वत, स्याङजा, कास्की एवम् भारतको उत्तरप्रदेशबाट समेतबाट पर्यटकहरु श्रीनगर पुग्ने गर्दछन् । पछिल्लो समय श्रीनगर प्रदेश ५ कै मुख्य वनभोज स्थल बन्न पुगेको छ । नयाँ बर्षको दिन र प्रणय दिवसको दिन युवायुवतिहरुको श्रीनगरमा भिडनै लाग्ने गर्दछ । फागुन र चैत महिनामा श्रीनगरडाँडा लालिगँुरासले वन क्षेत्रलाई नै शोभामय अर्थात राताम्य बनाउने गर्दछ । श्रीनगरको जंगलमा पाइने काफल र ऐसेलुको स्वादले पर्यटकहरु रमाउछन् । पर्यटकमात्र होइन श्रीनगरमा विदाका दिन जोडीहरु माया साटासाट गर्न पनि श्रीनगरलाईनै रोज्दछन् । पारिवारिक बन्धनमा बाँधिएकाहरु विदा समुपयोग गर्न र बालबालिका भुलाउन श्रीनगर पुग्दछन् । युवापुस्तामाझ लोकप्रिय श्रीनगरले धेरै कलाकर्मीको ध्यान तानेको देखिन्छ । राष्ट्रिय स्तरका चलचित्र तथा म्युजिक भिडीयो छायाँकंन गर्न पनि श्रीनगर पहिलो रोजाईमा पर्दछ ।

श्रीनगर घुमफिर गरेपछि प्रकृतिसंग रमाउने पर्यटकहरु फर्कन गा¥हो मान्छन् । थोरै समय भएपनि श्रीनगरको सौन्दर्यसँग प्रीति गास्न खोज्दछन् । श्रीनगरमा बिशेष गरि तन्नेरी पुस्ताको आर्कषणको केन्द पनि मानिन्छ । बिदाका दिन सयौ जोडीहरु माया साटासाट गर्न र पारिबारिक रुपमा समय ब्यातित गर्नका निम्ती श्रीनगर पुग्ने गर्दछन । मनोरमा र एकान्तमय बाताबरणका कारण युवायुवतीको रोजाईमा श्रीनगर पर्ने गरेको छ । पछिल्लो समयमा श्रीनगरले धेरै कलाकर्मीको ध्यान खिच्न सफल भएको छ । श्रीनगरमा थुप्रै राष्ट्रिय स्तरका राष्ट्रिय चलचित्र तथा म्युजिक भिडीयो छायाँकंन भएका छन् । पाल्पामा छायँकंन हुने चलचित्र र म्युजिक भिडीयाका लागी निर्माणपक्षले श्रीनगरलाई प्रमुख गन्तब्य बनाउने गरेका छन् ।

तानसेनको श्रीनगर घुमफिर गर्न जाने पर्यटकहरुले तानसेन पुगेपछि श्रीनगर जानभाडाका सवारी साधन पाइन्छ । जिप, भ्यानमा तानसेन तम्घास सडकखण्डको बतासेडाडा कैलाशनगर हुदै श्रीनगर पुग्न सकिन्छ । बसपार्कबाट श्रीनगर जाने अन्य भित्री सडक पनि छन । पैदलयात्रा गर्न रुचाउनेहरुका लागि तानसेन बसपार्कबाट सितलपाटी,गणेशस्थान हुदै करिव एक घण्टाको उकालो चढेपछि श्रीनगर पुग्न सकिन्छ । तानसेन पर्यटकहरु पुगेपछी भोक प्यास, निन्द्रा र आफुले आफुलाई नै विर्सन पुग्दछन् । रातको समयमा तानसेनबाट पर्यटकले डाँडाभरी आकाशका तारा सर्लक्कै झरे झै को दृश्य देख्न सक्दछन । तानसेन कोलाहलपूर्ण स्थितिबाट केही समय आराम गर्नको लागि अति उत्तम ठाउँ हो ।
श्रीनगरको घुमफिर पछि तानसेन दरवार अवलोकन गर्ने सबै पर्यटकहरुको इच्छा हुन्छ । वि.सं.१९६३ सालमा तत्कालीन जनरल प्रताप शमशेरद्वारा दैनिक प्रशाशनिक कार्य सञ्चालनका लागि दरबार निर्माण गरेका हुन् । राणा शासनको अन्त्य पछि २०१५ साल देखि ऐतिहासिक दरवारलाई तत्कालिन सरकारले सरकारी कार्यालयको रुपमा परिणत गरेपछि करिब एक दर्जन विभिन्न कार्यालयहरु रहदै आएका थिए । माओवादी जनयुद्धमा ध्वस्त भएको तानसेनको दरवार पुन निर्माण भएपछि दरवार परिसर भित्र रहेका सबै कार्यालय हटाई ऐतिहासिक संग्रालयको रुपमा परिणत गरिएको छ । तासेन दरबार बहुउद्देश्यीय सङग्राहलय भएकोले ऐतिहासिक तथा पुरातात्विक महत्व झल्किने सम्पदाहरु सङग्राहलयमा छन्

दरवार पसिरमा जोडिएको भगवती मन्दिर उजीरसिंह थापाले निर्माण गरेका हुन् । उजीरसिहं थापाले तत्कालीन पाल्पाको जीतगढीमा अडग्रेजहरुलाई परास्त गर्न सफल भएपछि भगवतीको मन्दिर निर्माण गरेका हुन् । भगवती मन्दिरमा विजय उत्सवकै प्रतीक स्वरुप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विशाल रथयात्रा उत्सव मनाइन्छ । ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल उजीरसिहं थापाले गरेका थिए । खडक शमसेरद्धारा हावाखान र सैनिकहरुको जमघट गराउन वि.स. १९५० मा निर्माण गरिएको शितलपाटी र एशियाकै ठूलो मानिने काठबाट निर्मीत शितलपाटीको मुलढोका, अमरसिंह थापाले निर्मांण गरेका अमरनारायण मन्दिर पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र अवलोकनका स्थलहरु बन्दछन् ।

इतिहासको कालखण्डमा प्रधानमन्त्रीको रोलक्रमबाट खेदिएका राणाहरुले पाल्पामा गरेका विकास निर्माण अहिले पाल्पाको पहिचान मात्र नभएर आन्तरिक एवं वाह्य पर्यटकहरुको गन्तब्य बनेको छ । चाहे नेपालको ताजमहल भनेर चिनेपनि, रानीमहल भनेपनि, सच्चा प्रेमको प्रतिक ठानेपनि राणाहरुले पाल्पा गौडाको लागि तैनाथ गरि पठाएका सेनापती खडक शमसेरले आफ्नो दिवंगत भएकी रानी तेजकुमारीको संझनामा निर्माण गरिएको दरवार हो, कालीगण्डकी किनारमा रहेको रानीमहल । वि.स. १९५० सालमा शिलन्यास भएर १९५४ साल निर्माण सम्पन्न भएको रानीदरवार नागवेलीको स्वरुप बग्दै आएको कालीनदी उत्तर फर्किएको मोडमा चट्टान माथी बनाइएको छ । पश्चिमीकला र कौशलको उत्कृष्ट नमूनाबाट तयार पारिएको रानीमहलमा खडक शमसेरले महत्वपूर्ण साजसज्जा र फर्निचरबाट कोठा सजाएका थिए ।
पाल्पा र स्याङजा जिल्लाको सिमामा रहेको कालीगण्डकी किनारको रानीमहल अहिले पाल्पा घुमफिरमा जाने पर्यटकहरु धेरै जना पुग्ने गर्दछन् । तानसेनबाट १७ किलोमिटर दूरीमा रहेको रानीमहल नेपालमा ताजमहलका रुपमा चिनिन्छ । तानसेनबाट भुसलडाडा, बराङदी हुदै पैदल ३ घण्टा र मोटरवाट १ घण्टामा पुग्न सकिने रानीदरवार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवा युवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस भन्ने उद्देश्यले रानीदरवारलाई साक्षी राख्न पुग्ने गर्दछन । रानीदरवारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विस्वासले प्रेममा भुलेका जोडीहरुले भित्तामा नाम लेख्ने गर्दछन ।

पाल्पा पुगेपछि भैरवस्थान पुगेन भने घुमघामनै अधुरो हुन्छ । भैरवस्थान मन्दिर तानसेन देखि ९ किलोमिटर पश्चिम रिब्दीकोट गाउँपालिकामा पर्दछ । पहाडको टुप्पोमा ठूलो त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि तीर्थाटनका पर्यटकहरु पुग्ने गरेता पनि विशेषगरी मंगलबार र शनिबारका दिन धेरै तीर्थाटनका लागि पर्यटक पुग्दछन् । विभिन्न चाडपर्वहरुमा बोका, हाँस, कुखुरा र पाडाहरुको बली कालभैरवलाई दिने प्रचलन छ । भैरवस्थानबाट अधिकांश हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिन्छ । कालभैरव मन्दिरमा ‘रोट’ प्रसादले भिन्न किसिमको पुजा र दर्शनको अनुभव गराउँछ । जुन रोट चामलको पिठो र घिउबाट माना, पाथी अथवा दर्शनार्थीहरुको मागअनुसार तयार गरिन्छ ।
तानसेनको ऐतिहासिक पृष्ठभुमि अत्यन्त रोचक छ । मुसलमानहरुले भारतमा आक्रमण गर्दा धेरै राज्यका हिन्दु वंशहरु उत्तरी क्षेत्र तर्फभागेर आए । पन्ध्रौ शताब्दीमा तिनीहरु हिमाली प्रदेश तर्फप्रवेश गरे र तिनीहरुले आफनै छुट्टै राज्य स्थापना गरे । त्यस समयमा रुद्र सेनले पाल्पामा सेन वंशीय राज्य विस्तार भयो । रुद्रसेनले जंगललाई फडानी गरी तानसेनको बस्ती बसाएका हुन् । जसको राजधानी तानसेन बन्न पुग्यो । पौराणिक किम्बदन्ती अनुसार तानसेन भन्ने शब्द सेन वंशका राजाको नामबाट ताम्रसेन को रुपमा रहेको मान्यता पनि छ । तर अर्को मान्यता अनुसार मगर शब्द तान्सिङबाट तानसेन बन्न गयो । जसको अर्थ उत्तरी बस्ती भन्ने बुझाउँछ । मगर भाषामा सल्लाको एक प्रजातिलाई ’टानसिङ’ भनिन्छ । ’टानसिङ’ सल्ला प्रजातिको काठलाई कपडा बुन्ने तान बनाउन प्रयोग गरिन्थ्यो । मगरहरुले पहिलेदेखि नै आफैंले बुनेका कपडा लगाउँथे, जसलाई ’घरबुना’ कपडा भन्ने गरिन्थ्यो । तान बनाउन प्रयोगमा आउने यस प्रजातिको सल्ला प्रशस्त पाइने हुनाले यस ठाउँको नाउँ ’टानसिङ’ रहेको हो । मगर भाषाबाट ’टानसिङ’ भनी नामकरण भएको यस ठाउँको नाउँ बोल्ने क्रममा अपभ्रम्स हुदै ’टानसिङ’बाट ’तानसिङ’ हुँदै ’तानसेन’ रहन गएको हो ।

सेनवंशी शासकहरुले जग बसालेको तानसेन बजार, तानसेनमा राणाकालीन शासनमा आएको नयाँ परिर्वतन तानसेनको इतिहास छ । तानसेनको अमरनारायण मन्दिर, कालभैरवको मन्दिर र रानीमहल निर्माणमा प्रयोग गरिएका कलात्मक काठका बुट्टाहरु, ईट र रानीमहलको कोठाकोठा र वार्दलीमा छापिएका तेलिया ईटहरुलाई हेर्दा तानसेन घुमफिर गर्ने पर्यटकहरुलाई काठमाडाँैं उपत्यकातिरकै मन्दिर, दरबारको सम्झना गराउँछ । यतिमात्र नभई तानसेन बजार भित्रको टोलको नामहरु असनटोल, मखनटोल, वसन्तपुर जस्ता तानसेन बजारका नामहरुले पर्यटकहरुलाई कताकता काठमाडाँैंनै हो कि भन्ने अनुभुती हुन्छ । प्रकृतिको सुन्दर उपहार तानसेन अवलोकन गर्न कम्तीमा पनि तीन दिनको बसाइ आवश्यक छ । यहाँका हेर्न भने एक हप्ता पनि लाग्न सक्दछ । तानसेनको घुमफिरमा टुडिखेल सबै पर्यटकहरु पुग्दछन् । टुडिखेलकाट माडी फाट, मदनपोखरा र आसपासका सुन्दर ग्रामीणबस्तीहरु देख्न सकिन्छ । भने उत्तरतिर श्रीनगर डाडाको सल्लाघारी र तानसेन बजारको नारणस्थान,मेलधारालाई नजिकैबाट देख्न सकिन्छ । अंग्रेज संगको युद्धमा नेपाललाई विजयी बनाएका तत्कालीन कर्णेल उजिर सिंह थापाले पुर्णकदको शालिक नि टुडिखेलमा राखिएको छ । वि.सं. १८७१ देखी १८७२ सम्म वुटवल जितगढी नुवाकोट क्षेत्रमा भएको युद्धमा नेपालले अग्रेजलाई पराजित गरेका कर्णेल उजिर सिंह थापाको शालिकमा सेल्फि खिच्ने पर्यटकहरु पनि धेरै हुन्छन् ।

तानसेनको प्रख्यात करुवा हो । कलात्मक विधिको प्रयोग गरी हातलेनै कुँदेका करुवा बलियो चमकदार देखिने भएकोले पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दछ । तानसेन घुमफिर गर्न जादा चिनोस्वरुप पर्यटकहरु करुवा किनेर फर्कन्छन् । तानसेन नगरपालिका प्राङगणमा रहेको ठूलो करुवा संग सेल्फि लिने पर्यटकहरुको पनि कमि हुदैन । तानसेनमा उत्पादन हुने पाल्पाली करुवा र ढाकाको नेपालभित्र मात्रै होईन बिदेशमा पनि उत्तिकै माग हुने गर्दछ ।तानसेन बजारको बसाइमा होटल, लज र होमस्टेको आतिथ्य सत्कार र पर्यटकहरुले कहिल्यै भुल्न सक्दैनन् । तानसेनमा पाइने पाल्पाली खाना मात्र होइन झिनियाँ रोटी, बटुक, चुकौनी र हासँको छोइलाको स्वादले पर्यटकहरु रमाउछन् । तानसेन बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ ।

Comments
Loading...