श्रीनगर र रानीमहल नगरपालिकाले नै हेर्ने, होला त उचित व्यवस्थापन ?

0 215

पाल्पा । तानसेन नगरपालिकाले तानसेनका मुख्य पर्यटकीय स्थल श्रीनगर र रानीमहलमा आफ्नै कर्मचारीहरू व्यवस्थापन गरि आफै व्यवस्थापन गर्ने गरि व्यवस्थाकीय कार्य अगाडि बढाएको छ ।

यसअघि अन्य संघसंस्था मार्फत व्यवस्थापन तथा राजश्व संकलन हुँदै आएका यी क्षेत्रहरुमा अहिले नगरपालिकाले आफै कर्मचारी खटाई राजश्व संकलन तथा व्यवस्थापनको कार्य अगाडि बढाएको तानसेन नगरपालिकाका प्रवक्ता यादसिं कार्कीले बताउनुभयो ।

श्रीनगर क्षेत्रमा नयाँ आर्थिक वर्षको सुरूवातसँगै तानसेन नगरपालिकाले श्रीनगर पर्यापर्यटन क्षेत्रको आफै व्यवस्थापकीय कार्य अगाडि बढाएको हो । श्रीनगर क्षेत्रमा वृक्षरोपण तथा सरसफाई गरि कार्यक्रमको सुरुवात गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

बृक्षरोपण कार्यक्रमपछि तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाले अन्य क्षेत्रलाई व्यवस्थापनको जिम्मेवारी दिँदा केही समस्या उत्पन्न भएकोले अवदेखि नगरपालिका आफैले श्रीनगरको व्यवस्थापन गर्ने बताउनुभयो । मेयर श्रेष्ठले श्रीनगर क्षेत्रको थप व्यवस्थापनका लागि डिपिआर अनुसार अन्य क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । मेयर श्रेष्ठले श्रीनगर सहित तानसेन नगरपालिका भित्रका मुख्य पर्यटकीय स्थलहरुलाई समयसापेक्ष विकास र प्रचार प्रसारमा नगरपालिका लागिपर्ने बताउनुभयो ।

श्रीनगरको दैनिक राजस्व संकलन, सरसफाई तथा व्यवस्थापकीय कार्य गर्न तत्काल सरसफाई शाखा प्रमुख शंकर भण्डारीको संयोजकत्वमा ६ जना कर्मचारी परिचालन गरिएको छ । कर्मचारी टोलीले साउन १ गतेबाटै कार्य सुरु गरेका छन् । सरसफाई शाखा प्रमुख भण्डारीले आगामी दिनमा श्रीनगरलाई थप सुन्दर बनाउँदै उचित पर्यटकीय गन्तव्य बनाउने गरि काम गरिने बताउनुभयो । सोही कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले श्रीनगर क्षेत्र पाल्पाको गरिमाको रुपमा रहेकोले यसको उचित व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिंजालीले श्रीनगर तानसेनको मात्रै नभएर पाल्पाकै गौरवको रुपमा रहेकोले यसलाई अझ राम्रो बनाउँदै यस क्षेत्रकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो । उता रानीमहलमा पनि दैनिक राजश्व संकलन र सरसफाई तथा अन्य व्यवस्थापनका लागि तानसेन नगरपालिकाले आफ्नै कर्मचारी परिचालन गरेको छ । यसअघि अन्य क्षेत्रलाई जिम्मेवारी दिँदाको समयमा भन्दा तानसेन नगरपालिका आफैले ब्यवस्थापन गर्दा राजश्व संकलन धेरै देखिएकोले नगरपालिकाले नै कर्मचारी व्यवस्थापन गरि राजश्व संकलनको काम गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

श्रीनगरको सरसफाई तथा उचित व्यवस्थापन होला त ?
यसअघि श्रीनगर क्षेत्रमा राजश्व उठाउने गरिएपनि श्रीनगरको क्षेत्रको सरसफाई तथा उचित व्यवस्थापन हुन सकेको थिएन । राजश्व संकलनमा मात्रै केन्द्रीत श्रीनगर क्षेत्रको उचित व्यवस्थापनमा कसैको ध्यान गएको देखिदैनथ्यो । यहाँ बियरका बोटल तथा पानीका बोटल देखि अन्य फोहोरहरू यत्रतत्र फालिएको अवस्थामा रहेका कारण श्रीनगर पुग्ने पर्यटकहरुले सास्ती भोग्दै आएका थिए तर अव नगरपालिकाले यसको पुरै स्वामित्व लिई संचालन गर्न थालेपछि केही परिवर्तन होला त ? यसका लागि केही समय पर्खनैपर्छ ।

Comments
Loading...