स्तम्भ लेखकको श्रमको शोषण

0 550

–के.बि.मसाल
नेपाली पत्रकारिताको व्यावसायिक अभ्यास सुरु भएदेखि नै स्तम्भकार श्रमजीवीहरु संलग्न रहँदै आएका छन् । स्तम्भ लेखनको पेसामा संलग्न भएर बाँच्ने स्तम्भकारको सख्या कति होला ? सञ्चारमाध्यमको सख्यात्मक वृद्धिसँगै स्तम्भ लेखकहरुको सख्या बढदै गएको छ । पत्रपत्रिका, अनलाइन म्यागेजिनले स्तम्भ लेखन राख्नुको कारण त्यसको औचित्य र प्रभाव रहनु हो । स्तम्भ लेखन पत्रिकामा नराख्ने हो भने सूचनाको व्यापारमात्रै भइरहन्छ । तर श्रमजीवी स्तम्भ लेखकहरुको श्रम प्रकाशकहरुबाट शोषण भएको छ ।

स्तम्भ लेखन कठिन काम हो । पाठकको ध्यान खिच्ने गरी स्तम्भ लेखन गर्ने काम गाह्रो हुन्छ । पाठकको मन जित्ने लेखन काम साँच्चै असजिलो र चुनौतीपूर्ण छ । राम्रो कसरी लेख्ने ? यो लेख्न चाहने स्तम्भ लेखकहरुका मनमा उब्जिरहने प्रश्न हो । राम्रो लेखनका लागि अध्ययन आवश्यक छ । अध्यनले लेखकको ज्ञान फराकिलो बनाउदै लैजाला तर उस्को समय खर्च हुन्छ । समय खर्चिएर स्तम्भ लेखेपछि लेखकहरुले उचित पारिश्रमिक पाउन पर्ने हो । तर अधिकाशं स्तम्भ लेखकहरुले आफ्नो श्रमको मुल्य पाउन सकेका छेनन् । कसैले पाएपनि समयमा पाउदैनन् । पारिश्रममिक लिनको लागि बारम्वार फोन गर्न पर्ने हुन्छ । कतिपय प्रकाशकहरु त लेखकको फोन आउन थालेपछि मोवाइलको स्विचनै बन्द गरेर बस्ने गर्दछन् । कसैले पारिश्रमिक दि हाले पनि त्यसको कुनै दररेट हुदैन । बर्ष दिन भरीको स्मम्भ लेखनको मुल्य प्रकाशकले आफै निर्धारण गर्दछ । यो पिडा नेपालमा अहिले सबै स्तम्भकारहरुले भोग्दै आएका छन् ।

स्तम्भ लेखन पत्रिकाको निश्चित पृष्ठ र ठाँउमा लेखिने लेख हो । स्तम्भ लेखन राजनीतिक, सामाजिक, साँस्कृतिक, साहित्यिक, दार्शनिक, आर्थिक, धार्मिक, वातावरणीय मात्र होइन यीबाहेक वन, स्वास्थ्य, खेलकुद, पर्यटन, भूगोल, इतिहास, संस्कृति, सञ्चार, विज्ञान, प्रविधि, शिक्षा पनि स्तम्भ लेखका विषय हुन । स्तम्भ लेखन त्यसै हुदैन, अध्यन चाहिन्छ । बिना अध्यनको लेखनले पाठकहरुलाई छुदैन । पछिल्लो समय स्तम्भ लेख बिना कुनैपनि पत्रिका प्रकाशन हुदैन । स्तम्भ लेखनले पत्रिका पठनिय मात्र नभएर कतिपय स्तम्भहरु पाठकको लागि संग्रही समेत बन्दछ ।
नेपालमा स्तम्भ लेखनको अभ्यास भएको ५० वर्ष बढी भइसकेको छ । व्यावसायिक रुपमा पत्रपत्रिका प्रकाशन हुन थालेपछि स्तम्भ लेखन सुरु भएको हो । स्तम्भ लेखनमा टिकिरहने लेखक कमै छन् ।

कारण हो स्तम्भ लेखन व्यावसायिक रुपमा नुहुनु अर्थात लेखकले श्रमको पारिश्रमिक नपाउनु र पायपनि मिहिनेत अनुसार नपाउनु । स्तम्भ लेखेरै दुईछाक खान सक्ने लेखकको अवस्था छैन भन्दा पनि हुन्छ । अजभोली जती स्तम्भ लेखक छापा पत्रिकाहरुमा देखिएका छन् उनिहरु ऐच्छिक र स्वेच्छिक रुपमा स्तम्भ लेख लेखिरहेछन् । सोझो अर्थमा भननु पर्दा स्तम्भ लेखकले अन्य पेसा÷व्यवसाय अपनाउँदै स्तम्भ लेखनलाई निरन्तरता दिँदै आएका छन् । विदेशी स्तम्भ लेखकले महिनामा एउटा आलेख लेखेर घर परिवार चलाएका हुन्छन । त्यस्ता लेखकलाई अरु पत्रिकामा लेख्न दिइदैन् । अन्यमा लेख्न नदिँदासमेत लेखकलाई पत्रिकाले दिने पारिश्रमिक दिने गरिन्छ । नेपालमा अहिले सम्म त्यस्तो अभ्यास छैन । लेखकलाई कसरी बचाउने भनेर सम्बन्धित सञ्चार माध्यमका सम्पादक,प्रकाशकको ध्यान पुगेको छैन भन्दा पनि हुन्छ । तर तिनै सम्पादक÷प्रकाशकहरुले कुनै मञ्चबाट बोल्न पाए भने स्तम्भ लेखक श्रमबाट शोषित भएका छन् उनिहरुलाई उचित पारिश्रमिक दिन पर्दछ भन्न समेत भ्याउछन ।

स्तम्भ लेखकको पारिश्रमिक सम्पादक र प्रकाशकले जे जती दिन्छन त्यसमै चित्त बुझाएका छन् । लेखकले आफ्नो श्रमको यतिनै चाहिन्छ भनेर अडान पनि राख्ने ठाउ छैन । सुरुका दिनमा कतिपय लेखकहरु आफ्नो लेख पत्रिकामा छापियो भने त्यसैमा चित्त बुझाउने पनि छन् । मैले यो लेख लेखे बापत यति रकम पाउन पर्ने थियो तर प्रकाशन गृहले यति मात्र दियो अथवा दिदै दिएन भनेर गुनासा गर्ने र उजुर गर्ने ठाउ पनि स्तम्भ लेखकहरुको छैन भन्दा पनि हुन्छ । नेपाल पत्रकार महासंघको विधानको परिभाषा अनुसार पत्रकार भन्नाले स्तम्भ लेखक र स्वतन्त्र पत्रकार समेतलाई जनाउँछ । श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा नेपाल पत्रकार महासंघले सञ्चार गृहहरुमा निरन्तर खबरदारी, वार्ता, दबाबमूलक आन्दोलनका साथै कानुनी संघर्षलाई निरन्तरता दिँदै आएको छ । तर स्तम्भकारको बारेमा पबकार महासंघ सधै मौन छ । स्तम्भकारको समस्या र श्रमको बारेमा कहि कतै बोलेको हुदैन । अझ गहिरियर अध्यन गर्ने हो भने पत्रकार महासंघका केन्द्रिय अथवा जिल्ला शाखाका पदाधिकारीहरुबाट सन्चालन भएका मिडिया हाउस बाटनै स्तम्भकारहरु शोषित छन् ।

मिडिया हाउस अर्थात सञ्चार गृह सञ्चालन गर्न गा¥यो छ । त्यसमा पनि उपत्यका बाहिर जस्लाई सञ्चारको क्षेत्रमा मोफसल भन्ने गरिन्छ । मोफसलमा बिज्ञापनको भरमा चलेका पत्रपत्रिका टिकाउन पनि मुश्किल भएको छ । यी सबै कुरा स्तम्भ लेखकहरुले बुझछन् । तर नबुझेको कुरो भने छ्ुट्टै छ । कुनै पत्रिकाको सम्पादक÷प्रकाशकले पत्रिका प्रकाशन गर्दा कागजको पैसा तिर्न पुग्छ । आफ्नो घर र प्रेस नहुनेले घरभाडा र प्रेस खर्च लगायत अन्य खर्च गर्न पुग्छ । डेक्समा बसेर काम गर्ने पत्रकार र कर्मचारीहरुलाई तलव दिन पुग्छ । पत्रिका बाडने हकर अर्थात वितरकहरुलाई समेत तलव दिन पुग्छ । तर स्तम्भ लेखकहरुलाई श्रमको पारिश्रमिक दिन किन पुग्दैन ? यो स्तम्भ लेखकहरुको सामुहिक आवाज हो । यो आवाज सबै मिडिया हाउसले बुझन जरुरी छ ।

स्तम्भ लेखहरु ज्ञान र सूचनाका महत्वपूर्ण स्रोतहरु हुन् । स्तम्भ लेख पढेर पाठकहरुले समाजमा रहेको कुनै जल्दोबल्दो विषय वा समसामयिक सन्दर्भका बारेमा जानकारी हासिल गर्दछन । स्तम्भ लेखनले पठन संस्कृतिको विकास समेत गरेको छ । जुन कारणले पत्रिकाको लागि स्तम्भ लेख आवस्यक पर्दछ । विज्ञान र प्रविधिको कारणले आजको मानिस अति व्यस्त भै रहन्छ । तर उसभित्रको जिज्ञासा र ज्ञानको भोक भने कौतुहलतामा रहेको हुन्छ । त्यसैले उसको व्यस्ततामा पनि समय निकालेर विविध जिज्ञासा र ज्ञानका भोकहरु पत्र पत्रिकाको स्तम्भ लेखबाट मेटन चाहन्छ । कुनै एउटा मानिसको रुचि सबै विषय वा विधाका बारेमा हुन्छ भन्ने हुँदैन । कसैलाई खेदकुदमा रुचि होला, कसैलाई राजनीतिमा, कसैलाई सञ्चार वा प्रविधिका बारेमा, त्यस्तै कसैलाई अर्थ, वन, पर्यटन वा साहित्यका बारेमा रुचि होला अनि कसैलाई चाँहि संस्कृति, दर्शन वा समाजका अन्य विविध क्षेत्रका बारेमा । स्तम्भ लेखनमा कुनै विधा वा विषयका बारेमा विशेष जानकारी र विश्लेषण समेटिने लेख भएका कारण पाठकले त्यसलाई अध्ययन गर्दछ ।

स्तम्भ लेखन एउटा नियमित, समसायिक र जिम्मेवारपूर्ण लेखन भएका कारण पत्रिकाको प्रकाशक र सम्पादकलाई त्यसको आवश्यकता महसुस हुनु पर्दछ । मिडिया हाउसले आफनो पत्रिकाका पाठकहरु कस्ता हुन् ? उनीहरुको पाठकीय रुचि के कस्तो छ ? उनीहरु के कस्ता विधा र विषयका लेखरचनाहरुलाई पत्रिकामा स्थान दिनु आवश्यक होला ? भन्नेजस्ता कुराहरुमा कमै प्रकाशकहरुले ध्यान दिएको पाइन्छ । अधिकांश पत्रिकाका प्रकाशक वा सम्पादकहरु स्तम्भ लेखनको महत्वका बारेमा उदासीन देखिन्छन् । आफ्नो ठाँउमा उपलब्ध हुनसक्ने विभिन्न विषय वा विधागत लेखकहरुसँगको नियमित सम्पर्क र विमर्शको अभावमा अधिकाश सम्पादकहरुले राम्रा स्तम्भ लेखकहरु फेला पार्न सकेका छैनन् । अर्को तर्फ कुनै सम्पादकले आफ्नो पत्रिकामा स्तम्भ लेखनप्रति सचेत हुँदाहुँदै पनि कुनै विषयविज्ञ र सान्दर्भिक विषयलाई रोचक रुपमा प्रस्तुत गर्नसक्ने विश्लेषण दक्षता भएका स्तम्भ लेखकहरुको अभाव पनि हुने गरेको छ ।

पत्रकारिताको एउटा अति प्राचीन, लोकप्रिय, विश्वसनीय र महत्वपूर्ण आयाम हो छापा पत्रकारिता । त्यसको पनि एउटा महत्वपूर्ण अभ्यास हो स्तम्भ लेखन । गुणस्तरीय र प्रभावकारी पत्रकारिताका लागि स्तम्भ लेखनको भूमिका आफैमा उल्लेखनीय देखिन्छ । समकालीन समाज, जीवन र समयप्रति जिज्ञासु पाठकहरुको विभिन्न विषयगत वा विधागत सामयिक भोकलाई शान्त पार्ने भएकाले स्तम्भ लेखनको औचित्य बिशेष हुन्छ । यसका लागि पत्रिकाका प्रकाशक र सम्पादक मात्र नभएर स्वयम् स्तम्भकारहरुको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ । स्तम्भ लेखनलाई धारिलो बनाउन नियमित अभ्यास आवश्यक छ । तर पनि दिनहुँजसो लेख्ने हरेक व्यक्ति राम्रो लेखक बन्छ भनेर किटान गर्न सकिन्न ।
सूचना विभागको अभिलेख अनुसार नेपालमा पत्रपत्रिकाको संख्या अहिले ७ हजार ८६९ रहेको छ भने नियमित प्रकाशन ७५० रहेको छ । रेडियो दर्ता १ हजार १०० छ भने नियमित प्रशारण ७५० छ । टेलिभिजनको इजाजत २०२ ले लिएका छन् भने १५० प्रसारण छन । त्यसैगरी अहिले सम्म सूचना विभागमा अनलाइन पत्रिका २ हजार २४५ सूचिकृत भएको छ । सबैभन्दा धेरै संख्या साप्ताहिक पत्रपत्रिकाको छ । साप्ताहिक पत्रपत्रिकाको दर्ता संख्या २ हजार ८ सय ४ पुगेको छ । त्यस्तै, मासिक पत्रिकाको संख्या २ हजार २ सय १४, दैनिक पत्रिकाको संख्या ६ सय ७६, त्रैमासिकको संख्या ६ सय ९ र पाक्षिकको संख्या ४ सय ६३ पुगेको छ । हालसम्म दर्ता भएका पत्रपत्रिकामध्ये करीव ६८ प्रतिशत नेपाली, १८ प्रतिशत नेपाली÷अंग्रेजी र ७ प्रतिशत अंग्रेजी छन् ।

नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण भएर अहिले १० हजार ५०० रहेको छ भने महासघको सदस्यता नलिएर अथवा पाउन नसकेका तर पत्रकारिता गरिरहेकाको को सख्या पनि धेरै छ । यसरी पत्रिका र पत्रकारहरुको सख्या हेर्दा पेशा त भएको छ । तर ती सबै पत्रकारहरुलाई पनि पत्रिकामा काम गरेर जीवन निर्वाह गर्न भने कठिन भएको छ । सत्य तथ्य घटनाहरुमा अधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । यसलाई राज्यको चौथो अंगको रुपमा राखिएको छ । संविधानले आमसञ्चारलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी र व्यावसायिक बनाई समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न आमसञ्चार माध्यमको स्थापना र संचालनका लागि कानुनी व्यवस्था गर्न संघीय संसदले ऐन बनाएको छ ।

२०५१ सालमा श्रमजीवी पत्रकारसम्बन्धी कानुन बन्यो । २०६४ मा ऐन संशोधन भएर न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन पनि भयो । यसपछि मिडिया हाउसमा लगानीकर्ता र श्रमजीवी दुबै पक्षमा चासो बढन गयो । कतिपय मिडिया हाउसले श्रमजीवी पत्रकारहरुलाई स्थायी नियुक्तिसमेत दिएका छन् । कानुनले तोकेअनुसार कतिपय मिडिया हाउसले बिदा, सञ्चय कोषजस्ता सुविधा पनि दिन सुरु गरेको केहि सञ्चार गृहले थालेका छन् । यो पत्रकारिताको क्षेत्रमा राम्रो पक्ष हो । तर पनि श्रमजीवी पत्रकार ऐन २०५१ र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकाय उदासिन भएका कारण आम श्रमजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलत गर्न परेको छ ।

स्तम्भकार मात्र होइन आम श्रमजीवी पत्रकारहरु पनि श्रमको पारिश्रमिकबाट शोषित छन् । अहिले पनि अधिकांश श्रमजीवी पत्रकारहरुले नियुक्तिपत्र पाएका छैनन् । ऐनबमोजिम नियुक्ति पत्र नदिई काममा लगाउनु नहुने, खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने, नियुक्तिको जानकारी प्रेस रजिष्ट्रारलाई दिनुपर्ने र त्यस्तो जानकारी प्रेस रजिष्ट्रारले राख्नुपर्ने व्यवस्था कानुनमा मात्रै सीमित हुन पुगेको छ । नियुक्तिपत्र दिइएकामध्ये पनि अधिकांश करारमा नियुक्त छन् । एकपटक करारमा नियुक्ति दिएपछि करार नवीकरण नगराई निरन्तर काम गराइरहेको अवस्था पनि छ । सूचना विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र लिनका लागि नियुक्तिपत्रको व्यवस्था अनिवार्य भएपछि श्रमजीवी पत्रकारलाई दिइएको नियुक्तिपत्रको प्रयोजन त्यही प्रमाणपत्र लिनमा मात्र सीमित भएको छ ।

श्रमजीवी पत्रकारहरुले आफ्नो दक्षता र योग्यताका आधारमा कानुनबमोजिमको नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकको दावी प्रस्तुत गर्न नसकेका कारणले पनि यस्तो अवस्था भएको हो । सञ्चार गृहहरु निरन्तर सञ्चालन भइरहेको अवस्थामा पनि तोकिएको न्यूनतम पारिश्रमिकसमेत अधिकांश श्रमजीवीले समयमै पाएका छैनन् । श्रमजीवी पत्रकारले सञ्चार गृहमा काम गरेवापत मासिक पारिश्रमिक पाउने कानुनी प्रावधान नै भए पनि कार्यान्वयनको अभावमा यसले आम पत्रकारहरुको जीवनमा कुनै अर्थ राख्न सकेको छैन भने वार्षिक तलब वृद्धि त बहुसंख्यक पत्रकारहरुले कल्पना मात्र गर्नसक्ने अवस्था छ । यसैको परिणामस्वरुप शैक्षिक योग्यता, व्यावसायिक दक्षता र अनुभव भए पनि अधिकांश श्रमजीवी पत्रकारहरुले जीवनयापनसम्म नहुने गरी अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेका पाइन्छन् । श्रमजीवी पत्रकारहरुको काम गर्ने समय र हाजिरी तथा विदासम्बन्धी व्यवस्था एक दुई बाहेकका सञ्चार गृहमा लागु भएको छैन । यसले गर्दा पत्रकारिता पेसा अवलम्वन गरे पनि जीवनयापनका लागि वैकल्पिक पेसामा संलग्न हुनुपर्ने बाध्यता छ ।

श्रमजीवी पत्रकारहरुको पेशागत असुरक्षाको कुरा त कानुन कार्यान्वयन नै नभएको अवस्थाले प्रष्ट पारेकै छ । यस बाहेक उनीहरुको भौतिक र सामाजिक सुरक्षाको अवस्था पनि नाजुक छ । दुर्घटनामा परेर मृत्यु भएमा वा अरु कुनै कारणले उनीहरु मानसिक वा शारीरिक रुपमा अशक्त हुन पुगेमा आफू र आफ्नो परिवारको जीवनयापनका लागि कुनै व्यवस्था छैन । स्वास्थ्यका कारणले यस पेसामा सक्रिय हुन नसक्ने भएपछि त्यस्ता पत्रकारको जीवनवृत्तिको कुनै व्यवस्था गरिएको पाइँदैन । अधिकांश श्रमजीवी पत्रकारहरुको हालसम्म दुर्घटना वीमा र जीवन वीमा समेत गरिएको छैन । सञ्चार गृहको कामको सिलसिलामा कुनै श्रमजीवी पत्रकारलाई चोटपटक लागेमा वा निजको मृत्यु भएमा वा निजको व्यक्तिगत सम्पत्ति नष्ट भएमा उपचार खर्च वा क्षतिपूर्तिको रकम सम्बन्धित सञ्चार गृहबाट पाउने कानूनी व्यवस्था मात्र लागु हुनसक्ने हो भने पनि केही राहत महसूस हुनसक्ने अवस्था छ । श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाको लागि कल्याणकारी कोष खडा गर्नुपर्ने कर्तव्यबाट व्यवस्थापन उदासीन रहेजस्तै नियम बनाएर श्रमजीवी पत्रकारहरुको उपदान, सञ्चय कोष, औषधि उपचार खर्च तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्ने कर्तव्य सरकारले पुरा गरेको छैन ।

Comments
Loading...