हाकिमको अपमान सहन नसकेपछि बगनासकालीका सब इन्जिनियरले दिए राजिनामा

0 11,381

पाल्पा । प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले आफूलाई गाली बेइजत र अपमान गरेकोले आफूमाथि मानसिक तनाव र सामाजिक प्रतिष्ठानमा समेत आँच आई कार्य सम्पादन गर्न समस्या भएको भन्दै बगनासकाली गाउँपालिकाका सव इन्जिनियर भक्त बहादुर गाहाले राजिनामा दिनुभएको छ ।

सब इन्जिनियर गाहाले माघ १ गते देखि लागू हुने गरि पुस ३० गते पालिका कार्यालयमा राजिनामा दिएको बताउनुभयो । अनावश्यक कामका लागि प्राविधिक कर्मचारीहरुलाई प्रमुख प्रशासकीय अधिकृत घर्तीले दवाव दिदै आएको र आफूले त्यसो नगरेपछि पालिकामा आफुलाई कार्यवातावरण नगराइएकोले राजिनामा दिन बाध्य भएको गाहाले बताउनुभयो । नियतवश २ दिनभित्र २ वटा वडा पोखराथोक र नायरका सबै योजनाहरुको प्राविधिक स्टेमेट आफुलाई ल्याउन भनिएको र धेरै योजना भएकोले २ दिनमै सम्भव नहुने आफुले जनाएको र काम गर्दा गर्दै घर्तीले आफ्नो कार्यकक्षमा बोलाई भोलिबाट कार्यालय नआउनु भनि दवाव दिनुभएको गाहाले बताउनुभयो ।

शनिवार जिल्लामा क्रियाशील पत्रकारहरुसँग कुरा गर्दै गाहाले भन्नुभयो ‘गत भदौ महिनामा म १ हप्ताका लागि कार्यालयबाटै खटिएर पोखरा गएको थिए, त्यो बीचको काम समेत सक्नुपर्ने र कार्यालयबाट पनि २ दिनमै सक्नुपर्ने गरि थप काम आएकोले आफूले पुरा काम गर्न नसकेको र काम गर्ने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि कार्य वातावरण सहज नबनाई उल्टै मनोवल गिराउने काम भयो ।’ गाहाले भन्नुभयो ।
बगनासकालीकै स्थानीय बासिन्दा समेत रहनुभएका गाहा अघिल्लो बर्ष पालिकाको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत समेत हुनुभएको थियो । तर अघिल्लो वर्ष मात्रै उत्कृष्ट भएका इन्जिनियर गाहाको राजिनामा पछि गाउँपालिकाका कर्मचारीहरुबीच छलफल चुलिएको छ । गाहा पालिकाका असल कर्मचारीको रुपमा चिनिनुभएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीले ३ महिनाअघि सब इन्जिनियर गाहालाई कुशलतापुर्वक काम गराउनका लागि सचेत गराइएको बताउनुभयो । घटना अहिलेको हैन तर अहिले अतिरञ्जित गरिएको बताउँदै सब इन्जिनियर गाहाले सोही ब्यहोराको राजिनामा पत्र पुस ३० गते आफुलाई बुझाएको तर राजिनामा पत्रमा हस्ताक्षर नभएको जानकारी गराउनुभयो । ‘मलाई पुस ३० गते उहाँले दिनुभएको राजिनामा पत्रमा हस्ताक्षर थिएन तर सामाजिक सञ्जालमा सार्वजनिक भएको पत्रमा हस्ताक्षर सहितको रहेछ ।’ उहाँले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कर्मचारीहरुले कार्य प्रभावकारी रुपमा गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतले सचेत गराउनुभएको र सो बिषयमा आफु समेत रही सब इन्जिनियर गाहालाई पुनः नियमित कार्यका लागि बातावरण बनाइएको भएपनि राजिनामा आउनु राम्रो विषय नभएको बताउनुभयो ।

Comments
Loading...