१० बर्षदेखि अल्झिएको पाल्पाको बिजुली समस्या कसरी एकै दिनमा समाधान भयो ?

0 303

पाल्पा । गत असार २६ गते बिहान पनि पाल्पामा बिजुली थिएन । असार लागेदेखि नै पाल्पाको बिजुली धेरै समय गयो, थोरै समय मात्रै आयो । पहिरोले कतै रुख ढले, तार पोल च्यापियो त कही टावरै बगायो । बिद्युत प्राधिकरणका कर्मचारीहरुले पनि निस्कै सास्ती भोगे । जनताले किन बिजुली गयो भनेर सामाजिक सञ्जाल वा टेलिफोनबाट प्रश्न गरिरहे ।

सोही दिन नेकपा एमालेका अध्यक्ष तथा लुम्बिनी प्रदेशका सांसद नारायणप्रसाद आचार्य र पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे बीच टेलिफोन संवाद भयो । संवाद पछि दिउँसो प्रजिअकै कार्यकक्षमा सांसद आचार्य सहित पाल्पा बितरण केन्द्रका प्रमुख सुशिल पौडेल सहित सुरक्षा निकायका प्रमुख र केही सरोकारवालाहरु बीच पाल्पाको बिद्युत समस्या समाधानको बैकल्पिक उपायबारे प्रसस्त छलफल भयो ।

सोही दिन आधिखोला जलबिद्युत केन्द्रबाट बिजुली ल्याउन सकिने सम्भावना देखियो । त्यसका लागि प्राविधिक तथा अन्य सहयोगका लागि सम्वन्धित ब्यक्ति र स्थानमा सम्पर्क भएसँगै सोही दिन प्रमुख जिल्ला अधिकारी पाण्डे र सांसद आचार्य सहित बिद्युत प्राधिकरणका प्रमुख पौडेल प्राबिधिक कर्मचारी र सुरक्षा निकायका प्रमुखहरु सहितले
आधिखोला जलबिद्युत आयोजनाको स्थलगत निरीक्षण समेत गरे । सबै सरोकारवालाहरुसित संवाद भयो, प्राविधिक तयारी पनि गरियो र साउन २९ गते नै लाइनको टेस्ट समेत गरियो । बिहीवार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले आधिखोलाबाट बैकल्पिक रुपमा पाल्पा सहित गुल्मी अर्घाखाँचीका लागि बिजुली ल्याउन भएको प्रयासबारे जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले आफु पाल्पा आएलगत्तै सरोकारवालाहरुसितको भेटघाटका क्रममा सबै जसोले पाल्पाको बिजुली समस्याबारे आफुलाई जानकारी गराउने गरेको बताए । यसमा जिल्ला स्थित राजनीतिक दल, सांसदहरु, कर्मचारीहरु, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी सबैको उत्तिकै सहयोग रहेको उनले बताए ।

यो समाचार तयार पार्दासम्म पनि पाल्पा छिमेकी जिल्लाहरुमा गल्याङकै बिजुली बलेको छ । बुधवार दिउँसो बजेबाट गल्याङको बिुजली जोडिएको हो । बिद्युत प्राधिकरणका प्रमुख सुशील पौडेलले गल्याङबाट बिजुली सप्लाई हुँदा बैकल्पिक र भरपर्दो स्रोतको सुनिश्चितता भएको, मर्मत कार्य र बुस कटिङ कार्य सहज हुने, बिद्युत बिक्रीबाट हुने राजश्व बढ्ने, उद्योग ब्यापार सेवामा सकारात्मक प्रभाव पर्ने, खानेपानीको लागि गुणस्तरीय बिद्युत उपलब्धता हुने बताए ।

यसरी बिजुली जोडिएसँगै पाल्पा गुल्मी र अर्घाखाचीमा अब लामो समय बिद्दुत अवरुद्द नहुने समेत उनले बताए । बुटवलबाट तानसेनसम्म ल्याइयेको बिद्युत पटक पटक बिग्रने र बनाउन समय लाग्दा लामो समय बिद्युत आपुर्तिमा अवरोध हुदै आएको थियो । बैकल्पिक लाइनको रुपमा गल्याङ्बाट बिद्युत आपुर्ति गर्न थालेपछि लामो समय बिद्युत अवरोधको समस्या हटेको हो ।

१० बर्ष अगाडि गल्याङबाट ल्याइएको लाइन बीचमा बिभिन्न कारण देखाएर काटिएको थियो । गल्याङ प्रशारण लाइन जोडिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्यले यो निकै सराहनीय कार्य भएको बताए । जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक सभापति मिरा मरासिनीले अव लामो समय बिजुली समस्या नहुने कुराले स्थानीय पनि खुशी भएको बताइन् । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पटक पटक लामो समय बिजुली जादा पाल्पाका सञ्चारमाध्यमहरु पनि समस्यामा पर्दै आएकोमा अव केही सहज हुने बताए ।

Comments
Loading...