६ बर्षीय बालकको उपचार सहयोगार्थ पाल्पाली सेवा समाज कतारले १ लाख ११ हजार पठायो

0 666

पाल्पा । रामपुर नगरपालिका५ राङभाङका व्लड क्यान्सर पिडित ६ वर्षिय बालक अंकित राना मगरको उपचार सहयोगार्थ पाल्पाली सेवा समाज दोहा कतारबाट प्राप्त १ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

पाल्पाली सेवा समाज दोहा कतारका अध्यक्ष तथा समाजसेवी महल केसीको नेतृत्वमा कतारमा रहेका पाल्पाली तथा अन्य नेपालीहरुले अभियानका लागि सहयोग गरेका थिए । उक्त रकम रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा, उपमेयर विष्णुदेवी घिमिरे आचार्य र पाल्पाली सेवा समाज दोहा कतारका निवर्तमान अध्यक्ष तथा युवा समाजसेवी ईश्वर काफ्लेले संयुक्त रुपमा अंकितकी फुपु दिदी दुर्गादेवी रानालाई हस्तान्तरण गरे ।

अध्यक्ष केसीको नेतृत्वमा कतारमा बिभिन्न सामाजिक अभियानहरु चलिरहेका छन् । अप्ठेरोमा परेका पाल्पाली र नेपालीहरुको सहयोगार्थ समाजले बिभिन्न रचनात्मक कामहरु गर्दै आएको छ । रामपुर स्थायी घर भएका केसीले पाल्पाली बालकलाई बचाउने अभियानमा आफूहरुले यसप्रकारको सहयोग गरेको र यो अभियानमा जोडिने सबैप्रति धन्यवाद ब्यक्त गरे ।

यसैबीच अंकित राना मगर बचाऊ अभियान’ अन्तर्गत संकलन भएको रकम पनि विहिबार परिवारलाई प्रदान हस्तान्तरण गरिएको छ । नेपाल मगर संघ तथा एकिकृत मगर उत्थान समाज रामपुरले सञ्चालन गरेको अभियान अन्तर्गत संकलन भएको रकम दोस्रो पटक हस्तान्तरण गरिएको हो ।

पाल्पाली सेवा समाज कतार, नेपाल मगर संघ तथा एकीकृत मगर उत्थान समाज रामपुर सहित विभिन्न संघ संस्था र व्यक्तिहरुबाट प्राप्त गरी २ लाख ४७ हजार २ सय १६ रुपैयाँ एकसाथ हस्तान्तरण गरिएको थियो । सो अवसरमा रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले विरामी रानाको सहयोगी सबैप्रति धन्यवाद दिदै बिरामी बालकको सिघ्र स्वास्थ्यलाभको कामना गरे ।

रामपुर नगरपालिकाका उपमेयर विष्णुदेवि घिमिरे आचार्यले सबैको सहयोगी भावनाका कारण यो अभियान सफल हुने बिश्वास ब्यक्त गरिन् । पाल्पाली सेवा समाज कतारका निवर्तमान अध्यक्ष तथा युवा समाजसेवी ईश्वर काफ्लेले पाल्पालीहरुको हरेक दुखसुखमा पाल्पाली सेवा समाज सधैब सँगै रहेको बताए ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु माया ढकाल, एकिकृत मगर उत्थान समाजका अक्षकोष संयोजक देव बहादुर थापा मश्राङ्गी र नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं समाजसेवी खगेश्वर पाठक, एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष राम बहादुर हिस्की थापा मगरले लगायतले अंकितको उपचार सहयोगार्थ सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।

अंकित रानाकी फुपु दिदी तथा एकिकृत मगर उत्थान समाजका उपाध्यक्ष दुर्गादेवी रानाले अंकितको वर्तमान स्वस्थ्य अवस्थाको बारेमा जानकारी गराएकी थिइन् । अंकित राना बचाउ अभियानका संयोजक राम बहादुर रानाले अहिले सम्म उपचारको लागि ६ लाख ५६ हजार ६ सय १ संकलन भएको बताए । एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर रानाले गरेका थिए । ब्लड क्यान्सर पिडित रानाको गत चैत्र २९ गते देखि विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

Comments
Loading...